आत्मप्रदर्शनको संस्कृति



-मुक्तिबन्धु
बजार र विज्ञापन । विज्ञापन र बजार । आज नङ र मासु जत्तिकै मिलेका देखिन्छन् । विज्ञापनले बजारको अलङ्कारसहितको व्याख्या गर्छ । बजारले विज्ञापनका लागि सामग्रीहरु जुटाइदिन्छ । यसरी आजको पूँजीवादले बजार र विज्ञापनको मायावी संसार खडा गरिदिएको छ । हरेक भाव र अस्तित्वको वस्तूकरण अनि तिनै वस्तुको झकिझकाउ विज्ञापन आजको पूँजीवादी विशेषता हो ।

आज मानिसहरु बजारमा आफ्नो शैक्षिक योग्यताको विज्ञापन गर्छन् । विभिन्न कला कौशलको विज्ञापन गर्छन् । सुन्दरताको विज्ञापन गर्छन् । हरेक पूरणकामनाले विज्ञापन गर्छ । आवश्यकताले पनि विज्ञापन गर्छ । मानौं विज्ञापन नै नयाँ नयाँ जानकारीको रङ्गीचङ्गी विशाल बजार हो ।

आज जोगीहरु पनि विज्ञापन गर्न नसक्दा पछि पर्छन् । विज्ञापन गर्न सक्दा अगाडि पुग्छन् । वेद–पुराणका तपस्वीहरु आज हुँदा हुन् त ती पनि पैसाको कुम्लो बोकेर विज्ञापन एजेन्सीमा पुग्दा हुन् । अहिले इशामसीहका डलरसत्व चेलाहरुलाई जस्तै स्वयम् इशामसीहलाई पनि विज्ञापनले मोहनी लगाउँदो हो । जसको बढी विज्ञापन उसको बढी विक्री हुने युगमा वरदान प्रदान क्षमताका दृष्टिले विज्ञापनभन्दा ठुलो ईश्वर को ? बजारभन्दा ठुलो ईश्वर को ?

बजार र विज्ञापन । विज्ञापन र बजार । आज यी दुई बाबा रामदेवको योग र उद्योगजस्तै आपसमा पूरक बनेर चलेका छन् । नेपाल सरकारमा पनि अहिले त्यसको तामझामको प्रवेश छ । सरकारले आफ्नो घोषित जिम्मेवारीभित्रकै एउटा परिकल्पना पारित गर्र्दा पनि नेपालका तमाम समस्या एकजना प्रधानमन्त्रीले यूँ चुड्की बजाएका भरमा समाधान गरेजसरी पत्रिकाका मुखपृष्ठहरुमा र बिजुलीका पोलपोलमा फोटो झुण्डाएर गरेको प्रचार देख्दा यद्यपि हामी जनतालाई लाज लागेको छ । यो त केवल परिकल्पना पारित न हो । कार्यरुपमा परिणत हुन सिङ्गै बाँकी छ । नक्सा पास गर्दैमा घर बनाएँ भनेर हल्ला गर्न मिल्दैन । घर बनेपछि जनताले भन्न पाउन् न कसले कुन आर्जनले कसरी बनायो घर ? सरकारी बेतन भत्ता खाएर कुनै सरकारी परियोजना पारित गर्नु भनेको कुनै नयाँ सिनेमा रिलिज गर्नुू त होइन नि ।

सक्कली सुनको पहिचान कसीले गर्छ, विज्ञापनले गर्दैन । विज्ञापन त शुद्ध तोरीको तेल र शुद्ध गाईको घिउ भनेर गरिने प्रचारजस्तै हो । जसको शुद्धतामा कसैको विश्वासै छैन । सबैभन्दा ठूलो विज्ञापन काम र त्यसको अपेक्षित परिणाम हो । सत्यापनविनाको विज्ञापन सुसंस्कृत व्यक्तित्वलाई सुहाउँदैन ।

मन्त्री प्रधानमन्त्रीहरु सिनेमाका अभिनेता पनि होइनन् । अनि यो बडप्पनको फोटो प्रदर्शन किन ? हाम्रा बुढापाकाहरु भन्थे “इन्द्रोपि लघुतां याति स्वयम् प्रख्यापित र्गुणैः अर्थात् आपैmले आप्mनो बढ्याइँ गर्दा इन्द्रको पनि तौल घट्छ ।”

यो त संस्कार संस्कृतिको कुरा पनि हो । यस्तै हो भने भोलि सत्तासीनहरुले अफ्ना डकार र अपानवायुको विज्ञापन गरेछन् भने पनि जनताले आश्चर्य नमान्दा हुन्छ । जनताले सास लिनुपर्ने यस देशको वायुमण्डलले सत्तासीनहरुबाट प्राप्त गरिआएको सबैभन्दा ठुलो योगदान तिनीहरुको डकार र अपानवायु नै त हो । बरु यस्ता विज्ञापनले सत्यको उद्घाटन गर्न सक्छन् । साविती बयान असल संस्कार संस्कृतिको द्योतक पनि हो ।

सक्कली सुनको पहिचान कसीले गर्छ, विज्ञापनले गर्दैन । विज्ञापन त शुद्ध तोरीको तेल र शुद्ध गाईको घिउ भनेर गरिने प्रचारजस्तै हो । जसको शुद्धतामा कसैको विश्वासै छैन । सबैभन्दा ठूलो विज्ञापन काम र त्यसको अपेक्षित परिणाम हो । सत्यापनविनाको विज्ञापन सुसंस्कृत व्यक्तित्वलाई सुहाउँदैन ।

वरिष्ठ पत्रकार पुष्करलालजीले भर्खरै यसै पत्रिकामार्फत एउटा प्रश्न उठाउनु भएको छ– ‘नेपाल किन बनेन ?’ यो बहसमा जानुपर्ने प्रश्न हो किन बनेन त नेपाल ? हामी जनतालाई लाग्छ यस्तै प्रचारमुखी नेताहरुका कारण पनि बनेन नेपाल । कुनै काम नगर्ने प्रवृत्तिले एउटा काम गर्दा पनि संसारै हल्लाएँ भने जस्तो लाग्छ । यो हाम्रो दन्त्यकथाको एउटा नायकले “काटेँ मुसाको कान, जोगाएँ ससुरालीको धान” भनेर गर्जेजस्तै पनि हो ।

सच्चा जनसेवीहरु प्रचारमुखी बन्न रुचाउँदैनन् । त्यो पनि सरकारमा रहेकाहरुले सरकारी काम गर्दा यत्रो विज्ञापनमय प्रचार किन ? यो कसैले सित्तै गरिदिएको प्रचार पनि त हैन । यसका लागि लाखौंलाख सरकारी रकमको दुरुपयोग भएको छ । गरीव मुलुकमा पाइला पाइलामा सरकारी कोषको दुरुपयोग नैतिक काम सावित हुन सक्छ ? प्रचारको भोक उखरमाउलै लागेकैे भए एउटा प्रेस सम्ममेलन आयोजना गरेर पनि प्रचार गर्न सकिन्थ्यो । धेरैले यो कुरा उठाएका पनि छन् । फोटो प्रचारको त्यत्रो भोक किन ? राम्रो काम गर्ने नेताको फोटो जनताले आफै आफ्नो हृदयमा सजाएर राख्छन् । खम्बा खम्बामा झुण्डाउनै पर्दैन ।

अव नेताहरुले सपत्नीक उपस्थित भएर असीम श्रद्धाभक्तिका साथ विदेशी धर्मतुम्बीहरुबाट आशीर्वाद थापेका फोटोहरु पनि देख्न पाइएलान् । लाखौं खर्च गरेर गरीव जनतालाई दुःख थप्ने काम त सत्तासीनहरुले शानसित गरिदेखाएका छन् । अव आशीर्वाद र वरदानका असरहरु पनि सचित्र देखिएलान् । हामी पुनः पुष्करजीकै प्रश्नमा आइपुग्छौं । दृष्टान्तका लागि यो प्रसङ्ग पनि अघि सारेर हेरौं, गरीव जनताको जीवनमा उज्यालो परिवर्तन ल्याउन लागिपर्नुपर्ने सत्तासीन राजनेताहरु धर्मनिरपेक्षताको सम्विधानलाई कुल्चेर विदेशी धार्मिक मठाधीशहरुलाई स्वागत गर्न, चाकरी पु¥याउन र आशीर्र्वाद थाप्नमा यसरी अमूल्य समयको अपव्यय गर्नमा तल्लीन रहन्छन् भने नेपाल कसरी बन्छ ? यसरी नेपाल बन्दैन ।

अव हामी पुनः एकपटक आत्मविज्ञापन र आत्मप्रशंसाका सम्बन्धमा विचार गरौं । बुढापाकाहरु भन्छन्– आफुले आफ्नो प्रशंसा गर्नुृ हास्यास्पद पनि हुन सक्छ । सच्चा प्रशंसा त विरोधीहरुले गरेको प्रशंसा हो । सुसंस्कृत मानिसलाई आफैले आफ्नो प्रशंसा गर्नु पर्दा बडो कष्ट महसुस हुन्छ । हाम्रा प्रधानमन्त्री मन्त्री महोदयहरुलाई भयङ्कर कष्ट महसुस भएको पनि हुनसक्छ ।

आत्मविज्ञापन भनेको प्रकारान्तरले आत्मप्रशंसा नै हो । आत्मप्रशंसा सम्बन्धमा महाभारतमा एउटा सटीक प्रसङ्ग छ । प्रसङ्ग यस्तोछ– “कौरव पाण्डववीच घनघोर युद्ध चलिरहेको थियो । सन्जोगवस युद्ध मैदानमा एक दिन कर्ण र युधिष्ठिर आमने सामने भए । यी दुईबीच भीषण युद्ध शुरु भयो । एकाध घण्टा त युधिष्ठिरले कर्णलाई धाने । क्रमशः युधिष्ठिर टिक्न नसक्ने हुँदै गए । ज्यानको माया त छँदै थियो । युधिष्ठिर कर्णको अगाडिबाट आफ्नो शिविरतिर भागे । बल्लतल्ल ज्यान जोगाए ।

साँझ, कृष्ण अर्जुन लगायत सवै योद्धाहरु शिविरमा विश्राम गर्न आए । युधिष्ठिर दिउँसोको कष्ट र ईष्र्याले भुटभुटिइरहेका थिए । अर्जुन अगाडिपर्ने वित्तिकै उनले भन,े “म आज झण्डै मारिएको । त्यस्तो विपत्को वेलामा पनि तिमी अइपुगेनौ । कर्णका अगाडि बेइज्जत भएर भागेँ म । तिम्रो पराक्रमलाई धिक्कार छ ! तिम्रो गाण्डीव धनुषलाई पनि धिक्कार छ !!” युधिष्ठिरले यति भनेका मात्र थिए अर्जुनले म्यानबाट खट्याक्क तरबार निकाले । नजिकै उभिएका कृष्णले अर्जुनको हात पक्रँदै सोधे, “तिमी के गर्दैछौ अर्जुन ?” अर्जुनले भने, “कृष्ण तपाइँलाई पनि थाहा छ मेरो प्रतिज्ञा , दाइ यधिष्ठिरलाई पनि थाहा छ । जगत् संसारलाई थाहा छ । गाण्डीवलाई कसैले धिक्कार्छ भने त्यसलाई म मारेरै छाड्छु भन्ने मेरो प्रतिज्ञाले मलाई तरबार निकाल्न बाध्य बनायो । म यसै तरबारले यहीँ अहिल्यै युधिष्ठिरको हत्या गर्छु ।

यसो गर्नु मेरो वाध्यता हो ।” अर्जुनलाई सुनेपछि कृष्णले भने, “अर्जुन, अव एक छिन तिमी यहीँ बसेर मेरा कुरा सुन, अनि जे मन लाग्छ त्यही गरौला ।” अर्जुन कृष्णलाई विशेष आदर र माया गर्थे । उनी थचक्क बसे । कृष्णले भने, “मानिसलार्ई प्राण लिएर मात्र मारिँदैन । शास्त्रले अरु विकल्पहरु पनि दिएको छ । आफुले आदर गर्नुपर्ने व्यक्तित्वलाई जमेर अपमान गर्नु पनि मार्नु नै हो । मुख छोडेर जथाभावी गाली गर्नु पनि मार्नु नै हो । अहिले तिमीले युधिष्ठिरमाथि तरबार चलायौ भने बित्यास पर्छ । यसका भीषण परिणामहरु हुन सक्छन् । सर्प पनि मर्ने लट्ठी पनि नभाँिचिने उपाय भनेको अहिले दाज्यु युधिष्ठिरलाई अपमानका शप्दहरुले प्रहार गर्नु हो । तिमी त्यसै गर ।”

कृष्णको आदेशजस्तो सल्लाह मानेर अर्जुनले सवैका अगाडि युधिष्ठिरलाई मनको सवै तितो पोखिने गरी कटुतम रुपमा आलोचना गरे । आल।ेचना सकिएपछि अर्जुनले गम्भीर सुस्केरा हाले र कृष्णतिर फर्केर भने, “मैले आज गर्नै नहुने काम गरेँ । आदरणीय दाजुको अनावरणकारी अपमान गरेँ । अव मैले बाँच्नु उचित छैन । म अव यहीँ सवैका अगाडि आगो बाल्छु र त्यसमा प्रवेश गरेर मर्छु ।”

अर्जुन मर्न तयार भएको देखेर कृष्णले भने, “तिमीले फेरि अर्को अबुझ कुरा ग¥यौ । मर्नलाई आगोमै होमिनु पर्छ भन्ने छैन । प्राण छोड्नै पर्छ भन्ने छैन । तिमी मर, ठीक छ । तर तिमी जसरी मर्न खोज्दैछौ त्यसरी होइन । यस अवस्थामा तिमीले त्यसरी मर्न मिल्दैन ।”

कृष्णलाई सुनेर अर्जुन ट्वाल्ल परे । ट्वाल्ल अर्जुनलाई हेरेर हल्का मुस्कुराउँदै कृष्णले भने, “जनसमाजका अगाडि आफैले आफ्नो प्रशंसा गर्नु पनि एक किसिमले मर्नु बराबर हो । तिमी यहीँ उभिएर यी सबैका अगाडि जमेर आत्मप्रशंसा गर । तिमी मरेतुल्य हुन्छौ ।” कृष्णको सल्लाहलाई त्यहाँ उपस्थित सवैले सशक्त समर्थन गरे । अनि अर्जुन मर्नुको बदला आत्मप्रशंसा गर्न वाध्य भए । यो महाभारतको युद्धकालीन प्रसङ्ग हो ।

आत्मप्रशंसा लर्तरो कुरा होइन । त्यस्तै आत्मविज्ञापन पनि लर्तरो कुरा होइन । हुन त पूँजीवादमा विज्ञापनका आप्mनै छुट्टै विशेषताहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस्