राजनीतिको मारमा खेलकुद



फिरोज राजोपाध्याय
फुटबल यस्तो खेल हो जुन खेल्न र हेर्न उमेरले छेक्दैन। फुटबल धेरै मनपराउने खेलमा अग्रपंक्तिमै पर्छ यसमा दुईमत छैन। क्रिकेट, बास्केटबल र अन्य खेल पनि विश्वमा लोकप्रिय छन्। तर, फुटबल मनपराउने व्यक्ति विश्वभरि नै पाइन्छ। जबकि क्रिकेट जति पनि लोकप्रिय भने पनि सीमित देशमै यसको प्रभाव रहेको छ। फुटबल खेल्ने देश औंलामा गनेर पनि सकिँदैन यसको लामो सूची नै हुन्छ। धेरै इतिहास खोतल्नु पनि पर्दैन। पछिल्ला ५ वर्षमा दुई विश्वकपले नै फुटबल ज्यादै रुचाएको खेल भनेर प्रमाणित गरेको छ।

२०१४ को विश्वकप ब्राजिलमा भएको थियो। जहाँ विभिन्न देशबाट गरी ३ करोड दर्शक ब्राजिल पुगेको तथ्यांकले देखाएको थियो। यसले कति आम्दानी भयो त्यसको लेखाजोखा पनि छैन। फिफाले सार्वजनिक गरिएको तथ्यांकमा फिफालाई अर्बौं रुपियाँ फाइदा भएको जनाएको छ। त्यस्तै हालै रुसमा भएको विश्वकपबाट पनि त्यस्तै आम्दानी भएको र दर्शक पनि करोडौं पुगेको जनाएको छ। यसबाट अनुमान लगाउन सकिन्छ देश बन्न फुटबलले पनि भूमिका खेलेको छ भनेर।

यसै गरी फुटबलको विकास भएको देशलाई विश्वमा परिचय गराइराख्न पर्दैन। सबैले सहजै चिन्ने गर्छन्। यसको उदाहरण क्रोएसिया हो। हालै रुसमा सम्पन्न विश्वकपमा फाइनल पुगेपछि क्रोएसिया विश्वभरि चिनियो। यस्तै ब्राजिल, अर्जेन्टिना भनेपछि फुटबल लिजेन्ड पेले र म्याराडोनाको नाम मन मस्तिष्कमा आइहाल्छ। यसैले पनि फुटबलको विकासले देशलाई चिनाउन र चर्चित गराउनका साथै देश बन्न सहयोग मिल्छ।

नेपालले पनि फुटबल खेलेको ५ दशक भइसकेको छ। कति विश्वकप छनोट खेल्यो कति एसियनस्तरको खेल खेल्यो र कति त दक्षिण एसियास्तरको प्रतियोगितामा पनि सहभागिता जनायो नेपालले। यति दशक बितेपछि त फुटबलमा नेपाल पोख्त हुनुपर्ने त्यस्तो भएको छैन। फिफा वरीयताको कुरा गर्ने हो भने नेपाल अझै पनि पछि नै छ। जबकि भारत नेपालभन्दा पछि थियो पहिले, अहिले नेपाललाई भारतले उछिनिसकेको छ। अक्टोबर महिनाको फिफा वरीयतामा नेपाल १ सय ६१औं र भारत ९७औं स्थानमा रहेका छन्। यसलाई हेर्ने हो भने नेपाल भारतभन्दा निकै पछाडि छ।

पञ्चायत व्यवस्थामा नेपाली फुटबललाई स्वर्णिम काल भनिएको छ। किनभने त्यति बेला नेपाली फुटबल विश्व फुटबलको फिफा वरीयतामा झन्डै १२१औं स्थानतिर थियो। दक्षिण एसियामा नेपाल नै बलियो थियो त्यति बेला। रूपकराज शर्मा, अशोक केसी, गणेश थापा, लोकबहादुर शाही, मणि शाह, राजुकाजी शाक्य जस्ता उत्कृष्ट खेलाडीले खेल्ने गर्दा नेपालले छिमेकी राष्ट्रमा आयोजित प्रतियोगितामा उपाधि पनि जितेको थियो। भारत त पछि छँदै थियो अन्य दक्षिण एसियाली टोली पनि नेपालभन्दा पछाडि नै रहेका थिए।

तर, अहिले ३० वर्षपछिको मूल्यांकन गर्ने हो भने नेपालको हालको वरीयता १ सय ६१औं स्थानमा छ। त्योभन्दा अगाडि त भारत नै रहेको छ। क्रिकेट मनपराउने देश भारतले फुटबलमा गरेको प्रगति झन्डै नेपाली फुटबलको पतन भएको आभाष गराउँछ। भारतले इन्डियन सुपर लिग (आईएसएल) सञ्चालनमा ल्याएर फुटबलमा विकास गरेको छ। यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुर्याइरहेको छ। आईएसएलका खेलमा दर्शकको चाप पनि बढिरहेको छ। यसले पनि त्यहँँ फुटबलको विकास र प्रान्तको विकास सँगसँगै भइरहेको छ। यो भन्नु नै देशको विकास हुनुको प्रमाण हो।

नेपालमा प्रजातन्त्र (२०४६ सालमा) आएपछि नेपालको फुटबल विकसित हुनुपर्ने, तर भएन। यसको ५ वर्षपछि त माओवादीको विद्रोह र अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक खिचातानीले फुटबलले विकास हुन पाएन। यस्तो अवस्थामा तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले फुटबलमा कुनै योगदान दिन पनि सकेनन्। तर, उनी एन्फामा करिब दुई दशक टिकेर फुटबलको विकास गर्नभन्दा पनि व्यक्ति विकासमै तल्लीन भए। फुटबललाई बलियो बनाएर विश्वकपमा छनोट गर्ने उनको कुनै योजना नै भएन। अन्ततः उनी भ्रष्टाचारको अभियोगमा फुटबलबाटै टाढा हुनुपर्यो। फुटबलका एक सक्षम व्यक्ति नै भ्रष्टाचारमा लिप्त हुन्छन् भने उनीबाट नेपालको फुटबल अन्तर्राष्ट्रियस्तरमा छाप छोड्छ भनेर सोच्नु पनि गलत नै हुन्छ। थापा निलम्बित भएकै समयमा नेपालका चर्चित तीन खेलाडी सन्दीप राई, रितेश थापा र सागर थापाले पनि म्याच फिक्सिङ गरेको आरोपकै कारण नेपाली फुटबलमा कालो दाग लागेको थियो। यसबाट पनि फुटबलका नेपाली समर्थकका लागि दुर्भाग्य बन्यो र फुटबलको आशलाग्दो भविष्य अन्धकार बन्यो।

फिफा वरीयतामा नेपालको छलाङ लगाउने आशा कमै देखिएको छ। अझै पनि नेपाली फुटबल फस्टाउन सकेको छैन। हालै खेलिएका खेलमा पनि नेपालको उत्कृष्ट मानिएका खेलाडीका बावजुद कमजोर नतिजा आत्मसात गर्न बाध्य छ। इन्डोनेसियाको राजधानी जाकार्तामा सम्पन्न एसियन गेम्सको पुरुष फुटबलमा पनि नेपालले सहभागिता जनायो। नेपाल छनोट खेलमा पाकिस्तानसँग पराजित भयो। अरूसँग पराजित हुनुलाई स्वाभाविक मान्न सकिन्छ। तर, पाकिस्तानसँग हार्नु नेपालको फुटबल अहिले कता छ भन्ने संकेत हो।

त्यसमा मात्रै होइन नेपालले पाकिस्तानसँग साफ च्याम्पियनसिपमा पनि हार बेहोरेको थियो। यसै गरी युवा टोली पनि पाकिस्तानसँग नराम्ररी हारेको थियो। एक महिनाअगाडि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पाकिस्तानसँग ४–० ले हारेको थियो। यु–१५ साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले यति अन्तरमा हार्नु आश्चर्यको विषय पटक्कै होइन। किनभने नेपाली सिनियर टोलीले पाकिस्तानसँग हार स्वीकार गर्छ भने युवा टोलीको के कुरा?

पाकिस्तान करिब २ वर्षको फिफाको निलम्बन पूरा गरेर फुटबलमा फर्केको टोली हो।

यस्तो नतिजा निकालेपछि नेपालले फिफा वरीयतामा सुधार गर्न सक्दैन। फिफा वरीयतामा लगातार अघि बढ्नका लागि अन्तर्राष्ट्रिय खेलमा राम्रो नतिजा निकाल्न आवश्यक हुन्छ। उपाधि पनि भित्याउन आवश्यक छ वरीयतामा खुड्किलो चढ्न। पछिल्लो समयमा नेपालले बंगबन्धु कप, एएफसी सोलिडारिटी कप, साग फुटबलमा उपाधि जितेको छ। यसपछि भने नेपाल हाल शून्यको अवस्थामै छ। भाग्यवश ‘ए’ डिभिजन लिग सुचारु भएर नेपाली खेलाडीलाई व्यस्त बनायो, नत्र नेपाली खेलाडीको विजोग अझै कति हुने हो भन्न सकिँदैनथ्यो।
फिफा वरीयतामा अगाडि बढ्नका लागि नेपाली फुटबलले लगातार खेल्नु पनि आवश्यक छ। तर, अहिलेको हिसाबमा यस्तो सम्भावना कमै देखिएको छ।

फुटबल विशेषज्ञ सञ्जीव मिश्रले पनि नेपालले मैत्री तथा अन्य प्रतियोगितामा राम्रो प्रदर्शन गर्नुपर्ने बताउनुभयो। मिश्रका अनुसार फिफा वरीयता खेलिरहेमा टोलीको स्थान तलमाथि भइरहन्छ। ‘फिफा वरीयता भनेको नखेलेपछि तल झरिरहन्छ। यसैले पनि वरीयताले खासै फरक पार्दैन। किनभने कतिपय खेलमा तल्लो वरीयताले पनि शीर्ष वरीयताको टोलीलाई हराएको हुन्छ।’ –उहाँले भन्नुभयो

फुटबलको विकासले स्वाभाविकरूपमा देश बन्छ। फुटबल खेल्न र ठूल्ठूला प्रतियोगिता आयोजना गर्नका लागि भौतिक पूर्वाधार पनि चाहियो। करिब २०÷३० हजार दर्शक अट्ने रंगशाला बनाउनुपर्ने हुन्छ। हुन त नेपालभरि रंगशाला छ तर अव्यवस्थित अवस्थामा। काठमाडौंको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेर देशलाई राम्रो आम्दानी गराइरहेको थियो। तर, अहिले भूकम्पको मारमा परेपछि २०७२ सालदेखि हालसम्म पनि दशरथ रंगशाला अलपत्रमा परेको छ। छानो लगाएर निर्माणधीनमा छ उक्त रंगशाला। तर, कहिले सकिएला अहिलेसम्म कसैले भन्न सकिरहेका छैनन्। राष्ट्रिय खेलकुद परिषद्ले मार्चसम्म बनाउन सकिने भने पनि अहिलेको कछुवा तरिकाले बनिरहेको रंगशालाले भनिएको समयमा पूर्णता पाउन मुस्किल नै हुनेछ।

देशकै एकमात्र अन्तर्र्राष्ट्रिय रंगशाला उपलब्ध नभएपछि नेपालमा अन्तर्राष्ट्रिय खेलहरू हल्चोकस्थित सशस्त्रको मैदानमा र सातदोबाटोको एन्फा मैदानमा सञ्चालन भइरहेका छन्। यी दुवै रंगशाला मिनी रंगशाला भन्नुभन्दा पनि फुटसल प्रतियोगिता आयोजना गर्ने खालका छन्। यस्तो रंगशालामा अन्तर्र्राष्ट्रिय खेल आयोजना गरेर कति नै आम्दानी गर्न सकिएला ? न यसले देश बन्नमा टेवा नै पुग्नेछ। टिकट काट्ने दर्शकभन्दा पास, आफ्नो मान्छे नै बढी दर्शक देखिन्छन् त्यहाँ। यस्ता रंगशालामा खेलाएर नेपालले न फिफा वरीयतामा स्थान सुधार गर्न सक्छ न नेपाललाई आर्थिक टेवा नै दिन सक्छ।

विदेशमा यस्तो हुँदैन। फुटबल खेल्ने सुविधा सम्पन्न रंगशाला भएकै हुन्छ। भारतमा पनि हरेक राज्यमा ठूल्ठूला रंगशाला छन्। यति सिको नेपालको सरकारले गर्न सकिरहेको छैन। जोसुकै सरकार आए पनि खेलकुदलाई हेर्न सकिरहेको छैन। खेलमन्त्री हुँदा ठूल्ठूला कुरा गर्ने पछि त्यसमा बेवास्ता गरिरहेका छन्। अहिले त ७ प्रदेश र दिगो सरकार छ नेपालमा। यस्तो बेला पनि फुटबल बेवारिस बनेको छ। न रंगशाला बनिरहेको छ न खेलाडीलाई फाइदा भइरहेको छ। न राम्रो नतिजा निस्किरहेको छ। पञ्चायत व्यवस्थामा जल्दाबल्दा फुटबल अहिले गणतन्त्रमा कति कमजोर भइसकेको रहेछ जो–कोहीले सजिलै बुझ्न सक्छन्। भन्नै पर्दा खेलमा सरकारको ध्यान पुगेको छैन। अनि कसरी नेपाल बन्छ र?

फुटबललाई कमजोरी अवस्थामा पुर्याउनेमा सरकारको पनि भूमिका छ भन्न सकिन्छ। सरकारले कहिले पनि खेलकुदलाई महत्वपूर्ण विषयमा सूचित गरेको छैन। पहिले पञ्चायत कालमा फुटबलमा तत्कालीन राजादेखि जनतासम्मले चासो लिने गर्दथे। त्यसैले पनि खेलाडीले ज्यान लगाएर मन लगाएर खेल्छन्। दर्शक पनि भरिभराउ हुने भएकाले खेलाडीलाई राम्रो प्रोत्साहन पनि मिलेको हुन्छ। त्यति बेला न प्राविधिक विषयको बढी ज्ञान थियो न खेलाडीलाई भनेजस्तो सुविधा नै थियो। तापनि नेपालले विश्वमा सानदार खेल देखाएकै थियो। विश्वकप छनोटअन्तर्गत निराजन रायमाझीले ह्याट्रिक पनि गरेका थिए।

अहिले सुविधा सम्पन्न भएको, प्राविधिक ज्ञान धेरै भएको, अभ्यास खेल पनि विदेशी भूमिमा गर्ने सुविधा छ खेलाडीलाई। यति हुँदाहुँदै नेपालले जोसँग खेले पनि हार्ने नै गर्छ। मन लगाएर नखेल्नु नै नेपालले फुटबलमा विकास गर्न नसकेको पक्कै हो। पूर्वगोलकिपर उपेन्द्रमान सिंहले अहिलेको फुटबल जिरो लेभलदेखि शुरू गर्नुपर्ने भएको बताउनुहुन्छ। सिंहले भन्नुभयो– ‘विदेशबाट मैले फुटबलको विकासका बारे धेरै नै ज्ञान पाएको छु। मुख्यतया फुटबललाई राम्रो गर्न विद्यालयस्तरीयदेखि नै प्रतियोगिता शुरू गर्नुपर्छ। यसका लागि सबैबाट आवश्यक सहयोग पनि चाहिन्छ। अहिलेको नतिजा पहिलेको खिचातानीको असर हो। यसलाई परिमार्जन गरेमा केही वर्षपछि नेपाल पनि भारतभन्दा अगाडि बढ्नेछ। र, फिफा वरीयतामा समेत नेपालले छलाङ मार्न सक्छ।’

विदेशको संरचनाबाट सिक्नुपर्छ

गत वर्ष यस पंक्तिकारले तुर्कमेनिस्तानको राजधानी अस्गाबाटमा रिपोर्टिङ गर्न मौका पाएको थियो। शहरभन्दा बाहिर उजाड मरुभूमिमा पूरै ओलम्पिक कम्प्लेक्स निर्माण गरिएको थियो। त्यहाँ हरेक खेलका लागि रंगशाला बनाइएका छन्। रेस्टुरेन्ट, होटल, गेस्ट हाउस ओलम्पिक्स कम्प्लेक्स नजिक बनेका छन्। यसैले त्यो क्षेत्र वरिपरि खेलमय वातावरण बनेको छ। गत २०१७ अगस्टमा सम्पन्न पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्स पूरै सफल भएको थियो। यसले विभिन्न राष्ट्रका दर्शक, प्रतिनिधि र खेलाडीको उपस्थितले देशलाई ठूलै आम्दानी गराएको थियो। यस्तो विकासको पूर्वाधार र भौतिक संरचना नेपालमा पनि बन्नुपर्ने आवश्यक भइसकेको छ।

सातदोबाटोमा पौडी, टेनिस, बक्सिङ, स्क्वास जस्ता खेलका लागि रंगशाला बनिरहेका छन्। तर, त्यहाँ खेलमय वातावरण देखिँदैन। ट्राफिक जाम, अस्तव्यस्त बाटो, अस्तव्यस्त घरले खेलमय वातावरण हुनै सक्दैन। यसका लागि फराकिलो जग्गा सरकारले खोज्नु आवश्यक छ। सरकार किन मौन छ ? यो बुझ्न सकिएको छैन। विभिन्न राष्ट्रमा खेलपदाधिकारीहरू गइरहेकै हुन्छन्। यसको बावजुद नेपालमा गतिलो रंगशाला एउटा अहिलेसम्म नबन्नु दुर्भाग्य नै भन्नुपर्छ। फुटबलका लागि त सुविधा सम्पन्न रंगशाला बन्नै पर्छ यो अहिलेको आवाज हो।

सन् १९७० मा नेपालले विश्व फुटबल महासंघ (फिफा) को सदस्य प्राप्त गरेको थियो। यसपछि निरन्तर नेपालले फुटबल खेलिरहेको छ। यसको बावजुद अति आधुनिक युगमा नेपालको फुटबल गिरेको छ। यतिसम्म कि द्वन्द्वको मार परेको अफगानिस्तानसमेत नेपाललाई उछिनेर माथि पुगिसकेको छ। अफगानिस्तान अहिले दक्षिण एसिया छाडेर मध्य एसिया गल्फ राष्ट्रको समूहमा पुगेको छ। अफगानिस्तानको छोटो समयमा भएकोे प्रगतिले पनि नेपालको सरकार र फुटबल पदाधिकारी तथा सम्बन्धित निकायलाई निद्राबाट उठाउन सकिएको छैन।

फिफा वरीयता कसरी निर्धारण हुन्छ ?

फिफा वरीयताको शुरूआत १९९२ डिसेम्बरदेखि भएको हो। अहिलेसम्म ८ फुटबल टोली (ब्राजिल, अर्जेन्टिना, बेल्जियम, जर्मनी, फ्रान्स, इटाली, स्पेन र नेदरल्यान्डस्) शीर्ष स्थानमा रहेका छन्। जसमध्ये ५ पटकका विश्व विजेता ब्राजिल शीर्ष स्थानमा धेरैपटक रहेको छ। २ सय ११ सदस्य रहेको फिफा वरीयताको निर्धारण गर्ने आधार भनेको फिफाद्वारा मान्यता दिएका अन्तर्राष्ट्रिय खेल हुन्। यसलाई आधार मान्ने हो भने नेपालले फिफा वरीयतामा फड्को मार्न कडा मेहनत गर्नुपर्ने हुन्छ। किनभने अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रदर्शन राम्रो भएकै छैन। नेपालले बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्छ।

कोच क्वालिफाई हुनुपर्छ
नेपाली फुटबलको उत्थान गर्नका लागि क्वालिफाई कोच ल्याउनुपर्छ। विगतमा धेरै विदेशी कोच ल्याइए। कसैले पनि नेपालको प्रदर्शनमा सुधार गर्न सकेनन्। कोही कोच त प्रतियोगितामा भाग लिन जाँदा उतैबाट गायब भए। एन्फाले यस्ता सस्ता कोच ल्याएर नेपालको फुटबल विकास गर्छु भनेर सोच्नु नै गलत हो। एन्फामा अहिले नयाँ संरचना भइसकेको छ। विगतमा झंै खिचातानी अहिले देखिएको छैन। यसैले एन्फाबाट फिफाको सहयोगमा नेपाललाई अन्तर्राष्ट्रिय खेल धेरै खेलाउन पहल गर्नुपर्छ।

त्यस्तै यहाँको सरकार, फिफा, एएफसी र दातृ निकायको सहयोगमा नेपालमा सुविधा सम्पन्न रंगशाला बनाउन पनि एन्फाले अहिलेदेखि नै कदम चाल्नुपर्छ। देश–विदेश घुम्ने, अहिले जुन प्रक्रिया चलिरहेको छ यसैमा निरन्तर लागिरहने गरेमा भने नयाँ नेतृत्वको एन्फा पनि पहिलेकै झंै हुनेछ। अहिले त एन्फाले जतिसक्दो एउटा पूर्वाधारको योजना ल्याउनुपर्छ। यस्तो भएको देखिँदैन। एन्फाको सोच साफ च्याम्पियनसिप र साग फुटबलसम्म भइरहेमा भने नेपाली फुटबल कहिल्यै फस्टाउन सक्दैन। दीर्घकालीन योजना ल्याउनुपर्छ यसले पक्कै पनि नेपाली फुटबलको विकास हुन्छ र देशले पनि प्रगति गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्