समृद्धि सम्भव छ



जयनारायण आचार्य
विश्वव्यापीकरण र यसको प्रभावस्वरूप विश्वले आफ्नो आकार, भूमिका र गतिविधिलाई सरल, पारदर्शी र पहुँच योग्य बनाइसकेको छ। सुधारका निरन्तरक्रम र आधुनिक प्रविधिको व्यापक उपयोगले मानिसको जीवन सरल, सहज र उन्नत बनाएको छ। तापनि हामी निम्न आय भएको, गरिबी र पछ्यौटेपनको शिकार भएका छांै। सगरमाथाको देशमा यी पछौटेपनका कारण हामी नै हौ। अर्थात्, नेपालको राजनीतिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक प्रणाली, कार्य र मनोदशा जिम्मेवार छ।

अझ नागरिकको बिदेसिने क्रमसँगै बढेको विश्व अन्तरघुलन, प्रतिस्पर्धा र खुलापनलाई नजिकबाट निहाल्ने मौका पाएका नेपालीलाई यो अवस्थाले निरास त बनाउँछ। तर, सँगै प्रतिस्पर्धी बन्ने र समृद्विको चाहाना पनि बढाएको छ। खाडीमा पसिना बगाउन नपरी आफ्नै माटोमा रंगिने मन हरेक नागरिकलाई हुन्छ। मुलुकको विगतदेखिको अवस्था तुलना गर्दा तत्काल समृद्विको प्राप्ति टाढा त देखिन्छ तर, असम्भव भन्ने छैन। हामी स्रोत र आवश्यकताको प्राथमिकीकरण, जवाफदेहिता, प्रणालीमा आधारित पद्धति, सीप र दक्षता विकासमा जोड दिने र अनुशासित हुने हो भने एक दशकमा विश्वको मानव निर्मित सुन्दरतालाई प्राकृतिक सुन्दरताले चुनौती दिन सक्नेछौं।

शक्ति काम गराउने हतियार हो भने आशक्ति अन्तरमनको चाहना। शक्ति र आशक्ति एक–अर्काका पूरक हुन्। आशक्तिबिनाको शक्तिले यथास्थितिलाई बोक्छ भने शक्तिबिनाको आशक्ति प्रयोगविहीन।

आधुनिकरूपमा प्रथम पञ्चवर्षीय योजनाबाट योजना, बजेट र कार्यक्रम ल्याई नेपालले आफ्नो विकासको खाका कोरेको हो। करिब ६२ वर्षको योजना इतिहास र १४ वटा समृद्धिका योजना बने पनि नेपालीको जीवनस्तर देखिने गरी वा भनौं हुनुपर्ने जति भएको छैन। अन्य मुलुकको समान अवस्था र तहबाट समान समयावधिमा विकासको फरक दृश्य देखिएकाले आम नागरिकले आफ्नो विकासको मापदण्डमा दोष देख्नु स्वभाविक पनि हो।

नेपालको संविधानले राज्य सञ्चालनमा नागरिकको अधिकतम् सहभागिता र नजिकको सरकारबाट आफ्नो समृद्धिको खाका कोर्ने जिम्मेवारीसहित राज्यलाई संघीयकरण गरेको छ। राज्यका तीनै तहमा सबैले सार्वभौमसत्ताको उपभोग गर्ने गरी संविधानले एकल र साझा सूची प्रस्ट्याइदिएको छ। अब सीमित स्रोतको अधिकतम् उपयोग हुने गरी राज्य सञ्चालनको अभिभारा आएको छ। विलासितता, मनोमानी र प्रणाली विहीनताको विगतलाई सादगी, उपयोगितामा आधारित र पद्धतिमा ढाल्न जरूरी छ।

नेपालको इतिहास गौरवशाली छ, त्यो त्यसै भनिएको होइन। अमेरिकामा कालाजाति दास रहँदा हामी यहाँ समानताको डोरीमा थियौं, पेसाको आधारमा जातिप्रथा कूरीतिका रूपमा पछि विकास भए पनि हाम्रो प्राचीन संस्कृतिमा त्यो प्रचलनमा थिएन। युरोपमा मान्छेले कान्ला कोट्याउने समयमा हामी हलोले खेत जोत्थ्यौं। आधुनिक खेती गर्न कुलो कुलेसोको अभ्यास संसारले नजान्दै हामीले गर्यौं। अझै सिञ्जा, जुम्लामा मल्लकालीन कुलोबाटै कालोमार्सी धानखेती गरिन्छ। संसारले ढल भन्नै नजानेको बेला हाम्रो राज्यमा माटोको ढल भेटिएका छन्, सिञ्जाकै लामथाडा (शेरा) मा।

अझ हाम्रो वीरताको गाथा छुट्टै छ, जो समृद्धिसँगै जोडिन्छ। कमजोर मान्छे, समाज वा राष्ट्र वीरतापूर्ण बन्न सक्दैन। समृद्ध थियौं र त वीर बनेका हौं। यी प्रामाणिक तथ्यले हाम्रो समृद्धि वितगमा संसारले हेर्न योग्य थियो भन्न कुनै कञ्जुस्याइँ गर्नु पर्दैन होला।

विश्वका सबैजसो देश उपनिवेश हुँदा नेपाल किन उपनिवेश भएन भन्ने तथ्य मनन गर्ने हो भने हाम्रो राष्ट्रिय चेतना एकदमै माथि रहेको मान्न सकिन्छ। हाम्रो चेतनाको स्तर उँचो भएर नै कसैको दास हुन स्वीकार्न नसकेको हो। बरु ज्यान दिन तयार भए हाम्रो पुर्खा तर दासत्व स्वीकार गरेनन्। संसारले नसोचेको लोकतान्त्रिक चेतना हामीबीच थियो।

हामीले सदियांै पहिला विकेन्द्रीकरणको अभ्यास गर्यौं, गौडा, किल्ला, सभा, मुखिया, वडाहाकिम, चौधरी, जिम्मुवाल यी कार्यको विकेन्द्रीकरणका अभ्यास थिए। भलै त्यसको उपयोग कसरी भयो यसमा प्रश्न र खोजी गर्न सकिएला। कामको विभाजन गर्यौं। कर्मको आधार तोक्यौं। तर, असल कर्मलाई बङ्ग्याएर जाति, श्रमलाई जातमा बदलेर जब श्रमप्रति सम्मान गर्न छोड्यौं त्यहींबाट हामी सभ्यतासँग सम्बन्ध विच्छेद गरी समृद्धिबाट टाढा हँुदै गयौं। त्यसैको फलस्वरूप हामी ठेला चलाउन भन्दा ठेलिन, कपाल काट्नभन्दा कोच्चिन, खेतमा खन्नभन्दा खेदिन आफ्नो देश छोड्न सहज मान्ने अवस्थामा आयौं। यो आजको मात्रै दोष होइन न विदेश जानेको नै दोष हो। हामीले जब हाम्रो समृद्ध सभ्यता छोड्यौं र विकृत बनायौं त्यहींबाट शुरू भएको हो समृद्धिको अभियानमा राष्ट्रको कमजोर उपस्थिति।

यो प्रसंगको उठान त्यही सभ्यताबाट समृद्धि खोजी गरौं भन्ने भावले गरिएको हो। मुलुक जब आफ्नो सभ्यताबाट विचलित हुन्छ, त्यहाँ विकृति शुरू हुन्छ। जहाँ सभ्यता हँुदैन त्यहाँ प्रकृतिको संरक्षण हँुदैन र त त्यस्ता मुलुकको, समाजको र व्यक्तिको समृद्धि हँुदैन। यी सबैको कुशल परिचालनका लागि दक्ष जनशक्ति, प्राप्त राज्य शक्तिको असल प्रयोग र समृद्धिको आशक्ति राज्य संयन्त्रमा निर्भर रहन्छ। समृद्धि यिनै शक्तिहरूको प्रयोग समुचित र समृद्विको यात्रामा लक्षित होस् भन्ने हेतुले सार्वजनिक बहसका लागि यो विषय उठान गरिएको हो।

जनशक्ति
सायद जनशक्ति व्यवस्थापन, बजारको माग, शासकीय आवश्यकताको समुचित अध्ययन र तालमेल बनाउन नसकेरै होला हामी जनशक्तिको विषयमा पछाडि छौं। देशको समृद्धि कोर्ने र शासकीय इच्छालाई वस्तुगत तहमा रूपान्तरण गर्ने काम जनशक्ति नै हो। हाम्रो आवश्यकता र मागअनुरूपको जनशक्ति प्राप्ति र उपयोग अहिलेको आवश्यकता हो। जनशक्तिको प्राप्ति, विकास, उपयोग, दक्षता वृद्धि गर्ने विषयमा हामी कमजोर छांै। कोरा मानवलाई जनशक्ति बनाउन चाहिने लगानी, तालिम, सीपमा हामी उदसीन हुनु भनेको कमजोर राज्य प्रणालीको विकास गर्नु हो। हाम्रा पछिल्ला निर्णय र कानुनले कर्मचारीको क्षमता वृद्धि र प्रतिस्पर्धालाई संकुचित बनाएको देखिन्छ। जनशक्ति विकासमा राज्य उदासीन हुन हुँदैन। लगानी नगरी गुणस्तरीय प्रतिफल प्राप्त हँुदैन चाहे व्यापारिक होस् वा प्रशासनिक यो कुरा ख्याल गर्न जरूरी छ।

नेपाली बजारको माग मात्र नभई अहिलेको रोजगारीको आधार रहेको वैदेशिक मागलाई समेत राज्यले सम्बोधन गरी उच्च सीपयुक्त जनशक्ति उत्पादन गर्न जरूरी छ। हामीसँग अहिले समृद्धिको उर्भर समय छ। काम गर्न सक्ने जनशक्ति ५७ प्रतिशत भएको देशले जनशक्तिको विकास र उपयोग नीतिमार्फत समृद्धि कोर्ने हो। जन्मदरको घट्नेक्रमसँगै अबको दुई दशकपछि हाम्रो देशमा वृद्धको संख्या बढ्दै जाने भएकाले श्रमयोग्य जनशक्तिको अधिकतम् उपयोग नै अहिलेको समृद्धिको प्रमुख आधार हो। यसको विकासमा जति धेरै स्रोत र समय खर्चिन्छौं त्यति नै चाँडो समृद्धि प्राप्त हुने हो।

शासकीय शक्ति
शक्तिको आफ्नै वैज्ञानिक, सामाजिक, राजनीतिक, प्रशासनिक र शासकीय मूल्य र अर्थ छ। शक्ति तीखो हतियार हो, जसले जसरी चलाउँछ त्यसरी नै यसको परिणाम आउँछ। यहाँ शक्तिको उपयोग समृद्धिका लागि होस् भन्ने चाहना हो।
संसारका शासक जसले शक्तिलाई राष्ट्रहित र विकासमा लगाए तिनीहरूकै कारण ती देश समृद्धिको उत्कृष्ट अवस्थामा छन्। जहाँ शक्तिको उपयोग आफ्नो मात्र भलाइका लागि भयो त्यो भोग र फाइदामा सीमित रह्यो, त्यहाँको अवस्था हाम्रो जस्तै छ। देश गरिब तर शासक धनी हुने पद्धति शासकीय शक्तिको दुरूपयोग हो। नेपालको विगत राणा, शाहकालीन शक्ति पारिवारिक लाभका लागि थियो। प्रजातन्त्रको स्थापनापश्चात् शासक परिवर्तन भए पनि शक्तिको प्रयोगको आशक्ति फेरिएन फलतः हामी समृद्धिको चाहानमा अझै भोका छौं। दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, अफगानिस्तानमा त्यही शक्तिको उल्टो उपयोग भएका कारण हाम्रो अवस्थासँगै गुज्रेका छन्।

उता शक्तिको सही सदुपयोग गरेका एसियाली राष्ट्रहरू कोरियाका पार्क चुङ ही, मलेसियाका महाथिर मोहसिन, सिंगापुरका ली क्वान यू, चीनका देङ सियाओ पिङले हामीभन्दा कमजोर राष्ट्रलाई दुई दशकमै विकासको स्वाद चखाए। तसर्थ शक्तिको उपयोग समृद्धिका लागि हुनुपर्ने हुन्छ, न कि राणा, शाह वा छिमेकी बादशाहको झैं। अबको शक्तिको प्रयोग पार्क, मोहसिन, ली क्वान र पिङको जस्तै हुन जरुरी छ।

अर्को अर्थमा भन्ने हो भने शासकीय वैधताको आधार नै शासकीय शक्तिको असल प्रयोग हो। राज्य प्रणाली जुन वाद–प्रतिवाद वा विचारमा आधारित भए पनि शासकीय शक्तिलाई वैधता दिने भनेकै शक्तिको समुचित र समृद्धिका लागि गरिएको प्रयोग हो। हाम्रो जस्तो मुलुकको विकास राज्यको हस्तक्षेपकारी भूमिका, नियमनकारी भूमिका र नियन्त्रणकारी भूमिकामा निर्भर हुन्छ। तसर्थ राज्यशक्तिको उपयोग विकासका लागि निर्मम, लगानीका लागि सहज र दुरूपयोगमा नियन्त्रण गर्न सक्षम हुनुपर्छ।

हाम्रो सन्दर्भमा सरकारले निर्णय गर्ने तर कार्यान्वयन नहुने, नीति बन्ने तर परिणाममुखी नहुने, संयन्त्र बन्ने तर प्रतिफल नदिने जुन पद्धति र प्रणाली छ त्यसले वैध भए पनि वैधता नपाउने अवस्था छ। वैधता नागरिकले राज्य संयन्त्रमाथि र उसले गर्ने गराउने काममा हुने विश्वास हो तसर्थ शासकीय शक्तिको उपयोग राष्ट्र समृद्विका लागि हुन जरुरी छ।

समृद्धिको आशक्ति
शक्ति काम गराउने हतियार हो भने आशक्ति अन्तरमनको चाहना। शक्ति र आशक्ति एक–अर्काका पूरक हुन्। आशक्तिबिनाको शक्तिले यथास्थितिलाई बोक्छ भने शक्तिबिनाको आशक्ति प्रयोगविहीन। मानौं सामान्य नागरिकसँग विकासको आशक्तिलाई समृद्धिमा लाने आवश्यक शक्ति हुँदैन तसर्थ त्यो केवल चाहनामै सीमित हुन्छ। लोकतन्त्रमा नागरिक नै शक्तिको सम्पूर्ण स्रोत माने पनि यथार्थमा हामीले शक्ति सम्पन्न नागरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनांै। तसर्थ नागरिकले विश्वास गरेको सरकारले नै अब समृद्धिमा आशक्ति देखाउने हो। माथि फरक तरिकाले उल्लेख गरिएका राणा, शाह, मुसरफहरू र पार्क, मोहसिन, ली क्वान र पिङबीचको शक्तिका उपयोग र समृद्धिको अवस्थाले नै स्पष्ट हुन्छ शक्ति र आशक्तिको सम्बन्ध र समृद्धिको प्राप्ति। शक्तिमा हुनेले समृद्विको आशक्ति बोक्यो भने सभ्यता, संरक्षण र शक्तिको साधन स्वतः गतिशील हुन्छ र लक्षभेद गर्न दशककै समय काफी हुन्छ।

सभ्यता शक्ति
माथिको विषय उठानले हामी हाम्रो सभ्यताको बिसौनीको संघारमा पुग्दै छौं भन्न डराउन परेन। हाम्रो सामाजिक सबलता र सामाजिक परिचालनको पाटो बिर्सेर दाता र पैसाको लोभमा समृद्धि खोजी गर्दै छौं। वल्ड बैंककी पूर्वकन्सल्ट्यन्ट दाम्बिसा मोयोले ‘डेड एड’ लेखेर त्यसले अफ्रिकामा पारेको असर व्याख्या गरेकी छिन्। शताप्दी हुँदा पनि नफेरिएको जीवनशैली, दातासँग बढेको परनिर्भरता र पिल्सिएको विकासमाथि राम्रै चिरफार गरेकी छन् उनले। कतै हामी त्यही मोयोको लेखाइको उदाहरण त बनेका छैनांै ? हाम्रा परनिर्भरताको बढ्दो चाङले चिन्ता मान्नुपर्ने भइसकेको छ। यहाँ म एउटा परिघटनाबाट त्यो प्रस्ट्याउन चाहन्छु।

भूकम्पपश्चात्को पुनर्निर्माण आजसम्म तातो आलु भएको छ। ३ वर्ष बिते पनि वास्तविक प्रभावितहरू पालमा कुञ्जिन बाध्य छन्। यहींनेर हाम्रो सभ्यता बिर्सिएर सभ्य बन्ने प्रयत्न गर्यौं। दाताको दातव्यमा रुमलियौं। हाम्रो सभ्यता भनेको सामाजिक दायित्वपूर्ण छ वा एक अर्काको सहयोग र समन्वयमा हामीले विगत समृद्ध बनाएका हौं। गरिबलाई दान दिने हाम्रो प्रचलन हो। हामीले खाली भूकम्पको जोखिम न्यूनीकरण गर्ने घर निर्माण मापन प्रणाली तय गरिदिएर जो–जसरी घर बनाउ भनेर छोडिदिएको भए एक वर्षमै सबै आवासिय संरचना बनिसक्ने थिए। हामीले अहिले पनि गाउँघरमा घर बनाउँदा एक–अर्काको सहयोग मै सम्पन्न गर्ने गर्छौं। घर निर्माणको मापदण्ड र स्तर तोकि सम्पन्न भएको एक हप्तामा राज्यले दिने सहयोग प्राप्त हुने प्रणाली बनाइदिएको भए हामी आफ्नै बलमा निर्माण गरिसक्ने थियौं तर हामीले हाम्रो सभ्यता, पद्धति, जीवनशैली र सामाजिक व्यवहार बिर्सेर मगन्ते बनाउने प्रयत्न गरिरह्यौं।

सहायता चाहिन सक्छ, तर हाम्रो आवश्यकता र मागमा आधारित। हामी संसारको खुला मैदानबाट बाहिरिन त सक्दैनौं तर दौडने आफ्नै तरिका र क्षमतामा हो कसैले घचेटेर हुन सक्दैन। हाम्रो सभ्यता र संस्कृतिको भित्री पाटो अमेरिका, भारत, चीनलाई थाहा हुँदैन तसर्थ हाम्रो सभ्यताका परिवाहक हामी आफैंले निर्माण गर्नुपर्छ। धरहरा र हनुमानढोका हामीले बनाउनुपर्छ। ढलेका बस्तीको टेको हामीले दिने हो। अनि मात्र शासकीय वैधता नागरिकले प्रदान गर्छन्। हामी इतिहासमा उपनिवेश भएनौं, कसैको दासत्व स्वीकारेनौं अब किन साबुनपानीले हात धुनेदेखि पखाला लागेमा जीवनजल खाऔं भन्ने सामान्य विज्ञापनका लागि आर्थिक दासत्व स्वीकार गर्ने ? हाम्रो माग र आवश्यकताको आधारमा गरिने सहकार्यलाई स्वीकार त गर्न सकिएला तर सभ्यतामाथिको हस्तक्षेत र सहयोगका नाममा हुने अधिनस्थता स्वीकारिनु हुन्न।

हामीले हाम्रै सबलपनमा जोड दिनुपर्छ। अबको विकास सभ्यतालाई संरक्षण गर्दै, हाम्रो विगतदेखिको सामाजिक सबलता र सम्बन्धमा आधारित भएर गर्यौं भने समृद्धि टाढा हुँदैन। अरूले दिने नाममा वर्षौं नागरिकलाई चउरको बास गराउने प्रवृत्तिबाट सजक हुन जरूरी छ। जो नहुनुपर्ने थियो त्यही भयो, तसर्थ हामी जहाँको त्यहीं छौं। फ्रेस रिग्सको इकोलोजिकल मोडेलमा भने झंै हाम्रो समाज, पद्धति, परिस्थिति र अवस्थाको आधारमा नै हाम्रा नीति र कार्यक्रम तय गरिनुपर्छ।

प्राकृतिक शक्ति
हामी समृद्ध हुने प्रकृतिले मात्रै हो। प्रकृति सभ्यता हो, स्रोत हो, साधन हो र हाम्रो सत्य पनि त्यही हो। प्रकृतिले हामीलाई सुन्दर हिमाल, पहाड र तराई दिएको छ। संसारका हरेक मुलुकको हावापानी र भूगोल यहाँ पाइन्छ। नेपाल संसारको शीर मात्रै होइन संग्रहालय पनि हो। हामी बाँच्ने यही प्रकृतिको सन्तुलित उपयोगबाट मात्रै हो तर नबुझी हामी हाम्रो सभ्यतालाई समापन गर्ने हतारोमा गर्दै छांै। नदीलाई ढल, पहाडलाई नांगो, हिमाललाई कालो, तराईलाई डुबान हुने गरी हाम्रा गतिविधि अधिक हुँदै गएका छन्।

तीनवटा सुन्दर भौगोलिक समायोजन र विशिष्ट भूगोललाई यसको विशेषता र जोडिएका जीवनका आधारबाट क्रमशः जात, क्षेत्र र वर्गीय दृष्टिबाट हर्ने थाल्यौं त्यसैको परिणाम नै आज हाम्रो उत्कृष्ट सभ्यताबाट स्खलित हुँदै गएका छौं। भौगोलिक सम्बन्धले सभ्यतालाई जोड्छ सभ्यताले मनलाई। यसर्थ प्रकृतिको समुचित संरक्षण गरी यसको सन्तुलित उपयोग गर्ने शक्ति आवश्यक छ। जो दक्ष जनशक्तिबाट मात्र सम्भव छ। नेपालको समृद्धि प्राकृतिक स्रोत र यसको भौगोलिक अन्तरसम्बन्धबाट मात्रै सम्भव छ। हामीले भूगोल र समृद्धिलाई फरक बनायौं वा फरकरूपमा बुझ्यौं भने त्यो समस्या मात्र हुन्छ, शक्ति होइन।

नेपालको संघीय संरचनामा समृद्धिको सहकार्यता र साझा प्रयत्न जरुरी छ। आजै सीमाका विवाद, स्रोतको विवाद शुरू भएका समाचारले हामी कठिन यात्रामा हिँडेको महसुस हुन्छ। प्रकृतिको उपहारलाई हाम्रा क्षेत्रीय सीमामा सीमित नराखेर समग्र राष्ट्रको हितमा कार्य गर्ने संरक्षण र उपयोगको शक्ति जरुरी छ। प्रकृति सभ्यता हो यसको सभ्य उपयोग नै दिगो समृद्धिको आधार हुन्छ। घर भएको ठाउँमा बाटो लान वन सकाउने र पहाड खोल्स्याउने होइन बाटो भएको ठाउँमा मान्छे बस्ने हो। राजनीतिक लाभको लागि प्रकृतिको नाश् र लगानीको सत्यानाश गर्ने विकासले समृद्धि होइन जोखिम निम्त्याउँछ तसर्थ सभ्य विकासबाट नै समृद्धि खोजी गरिनुपर्छ।

शक्तिका अनेक आयाम छन्। ती सबै आयामको एउटै गन्तव्य समृद्धि रह्यो भने हामीले विकासशील हुने समयावधिमै लक्ष प्राप्त गर्न सक्नेछांै। केवल यी शक्तिको समुचित व्यवस्थापनको नेतृत्व, चाहाना र संरचनाको जरुरी छ।

(लेखक ः नेपाल सरकारको सहसचिव पदमा कार्यरत छन्। यसमा लेखिएका विषय नितान्त व्यक्तिगत विचार हो, संगठन र सेवाको कुनै संलग्नता वा सरोकार छैन।)

 

प्रतिक्रिया दिनुहोस्