अवसर र चुनौतीबीच नेपाली खेलकुद



कविरस शर्मा
देश विकासमा खेलकुदको पनि अहम भूमिका हुन्छ। अहिलेसम्म बाटो, बिजुली, पर्यटनलगायतका अरू आधारभूत कुरालाई मात्र विकासको आधार मानिँदै आएको छ। वास्तवमा खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार हो। स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य छ। नेपालमा संस्थागतरूपमा खेलकुद विकासको थालनी भएको ६ दशक पुगिसकेको छ।
विसं २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागतरूपमा खेलकुद विकासको जग बसेको हो। तर त्योभन्दा निकै अघिदेखि नै नेपालमा पर्याप्त खेलकुद गतिविधि हुने गरेको इतिहासमा पाइन्छ।

खेलकुद विकासको थालनी भएको लामो कालखण्ड बितिसक्दा पनि नेपाली खेलकुदको गति भने निकै सुस्त र निरस नै देखिन्छ। विश्व खेलकुदसँग तादम्यता मिलाउँदै सफलताको शिखर चुम्न अगाडि बढ्नुपर्ने २१औं शताब्दीको यो चुनौतीपूर्ण क्षणसम्म आइपुग्दा नेपाली खेलकुद भने आफ्नै परिवेशद्वारा सृजित विभिन्न समस्या र अप्ठ्यारासँग लुकामारी खेल्नमा व्यस्त देखिन्छ।

विगतमा नेपाली खेलकुदले आफ्नो सफलतामा गर्व गर्न सक्ने क्षण पटक्कै नआएको भने होइन। तर, यस्ता क्षणको साक्षी बन्न पाउने सुखद अवसर आम नेपाली खेल समर्थकले निकै कममात्र पाएका छन्। पक्कै पनि विगतको तुलनामा यतिबेला नेपाली खेल क्षेत्रको दायरा केही फराकिलो बनेको छ। देशभित्र हुने खेल गतिविधिहरू उल्लेख्यरूपमा बढेको छ। अन्तर्राष्ट्रिय खेल गतिविधिमा सहभागिता र सफलताको क्रम पनि क्रमशः बढ्दो छ।
तर, अझै पनि आम खेल समर्थकले चाहे र सोचेअनुरूप सफलताको सिँढी उक्लन सकिरहेको छैन। अझै पनि नेपाली खेलकुदको परिधि सीमित घेराभन्दा माथि उठ्न सकिरहेको छैन। एकपछि अर्को सफलताका कथाहरू बुन्दै जानुपर्नेमा आपसी विवाद र समस्यामा अल्झिएर बसेको छ। खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने सरकारी दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन सकेको छैन।

प्रतियोगिताको संख्या जति बढ्छ त्यति नै राम्रा खेलाडी जन्मने सम्भावना हुन्छ। तर प्रतियोगिता नै हुन कठिन भएमा भने नेपाली खेलकुदको अस्तित्वलाई जटिल अवस्थामा पुर्याउँछ। राष्ट्रिय खेलकुद आयोजना गर्नाले नै नेपाली खेलाडीमा खेल्नका लागि उत्साह जाग्ने गरेको छ।

ठूलो लक्ष्य प्राप्तिका लागि एकआपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अहिलेको चुनौतीपूर्ण समयमा नेपाली खेलकुदमा सक्रिय अधिकांश खेल संघहरू आपसी विवाद र खुट्टा तानातानमा अल्झिएका छन्। भौतिक पूर्वाधार अवस्था दयनीय छ। देशको कुल बजेटको एक प्रतिशत हिस्सा पनि खेलकुदको भागमा पर्न सकेको छैन। यी र यस्ता तमामखाले समस्याबाट यतिबेला नेपाली खेलकुद गुज्रिरहेको छ। चरम आर्थिक समस्या, राजनीतिको प्रत्यक्ष प्रभाव, खेल भावना भएका पदाधिकारीको अभाव, खेल निकायमा राजनीतिक दलका कार्यकर्ताको नियुक्तिजस्ता कारणले नेपाली खेलकुदमा यस्तो समस्या देखिएको हो। राष्ट्रिय खेलकुद नियमितरूपमा आयोजना हुन नसकेका कारणले नै देशमा प्रतिभावान् खेलाडीको अभाव देखिन्छ।

यसको मुख्य कारणका रूपमा देशको अस्थिर राजनीति, खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने सरकारी नीति, खेलकुद क्षेत्रमा देखिने राजनीतिक खिचातानी, खेल पदाधिकारीको निहित स्वार्थजस्ता विषयलाई लिन सकिन्छ।

विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि नियमितरूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्दछन्। खेलकुदका प्रतिभाहरू सुगम ठाउँमा मात्र नभई देशको विकट ठाउँमा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नियमितरूपमा यस्तो प्रतियोगिता गर्ने गरिन्छ। राष्ट्रिय प्रतियोगिताअघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ।

तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन्। यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरका चर्चित खेलाडीसँग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन्।

त्यसैले नयाँ र क्षमतावान् प्रतिभा खोजी गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो, बृहत राष्ट्रिय खेलकुद। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको कुशलता तिखार्ने समेत काम गरिन्छ। यसरी तयार पारिएका खेलाडीलाई पदकका लक्ष्यसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ।

एउटा राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै तल्लो तहका खेलाडीहरू पुनः अर्को प्रतियोगिताका लागि तयारीमा व्यस्त हुन्छन्। यसका लागि सम्बन्धित खेल संघहरूले नियमितरूपमा गाउँ, नगर, जिल्ला, अञ्चल, प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिरहेका हुन्छन्। यसरी दक्ष र प्रतिभाशाली खेलाडीको खोजी र उत्पादन गर्न हरेक देशमा राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। खास गरी मुलुकमा २०४६ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण निर्धारित समयमा आयोजना हुन सकेको देखिँदैन। भन्नैपर्दा पञ्चायतीजस्तो अलोकतान्त्रिक कालमा बरु राष्ट्रिय खेलकुद प्रतियोगिताले निरन्तरता पाएको देखिन्छ।
नयाँ र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्ने भनिए पनि पटक–पटक मिति सर्ने गरेको राष्ट्रिय खेलकुदको इतिहासले देखाउँछ। यति मात्र होइन, यसअघि नेपालमा सम्पन्न आठौं र अहिले आसन्न १३औं दक्षिण एसियाली खेलकुदजस्ता प्रतिष्ठित प्रतियोगितासमेत तोकिएको मितिबाट सरेको सर्वविदितै छ।

नेपाली खेलकुद इतिहासमा शरदचन्द्र शाह सदस्यसचिव हुँदाको समयलाई स्वर्णिम कालका रूपमा हेरिन्छ। उनको सक्रियतामा नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको शुरूआत भएको हो। नेपालमा पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना भएको पनि तीन दशक पार गरिसकेको छ। नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन थालेको ३७ वर्ष बितिसक्दा पनि हालसम्म केवल ७ वटा संस्करण मात्र आयोजना हुन सकेका छन्। प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन। गणितीय हिसाबले त अहिलेसम्म कमसेकम २० वटा राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने थियो। यति लामो अवधीभित्र केवल ७ पटक प्रतियोगिता हुनु नेपाली खेलकुदका लागि दुर्भाग्य नै हो।

प्रतियोगिताको संख्या जति बढ्छ त्यति नै राम्रा खेलाडी जन्मने सम्भावना हुन्छ। तर प्रतियोगिता नै हुन कठिन भएमा भने नेपाली खेलकुदको अस्तित्वलाई जटिल अवस्थामा पुर्याउँछ। राष्ट्रिय खेलकुद आयोजना गर्नाले नै नेपाली खेलाडीमा खेल्नका लागि उत्साह जाग्ने गरेको छ। उनीहरूलाई खेलकुदमै लाग्न पनि घचघच्याइरहेको छ। त्यस्तै नयाँ खेलाडी जन्मिने भएकाले पनि राष्ट्रिय खेलकुद वर्षैपिच्छे हुनुपर्छ भन्नेहरूको बहुमत देखिन्छ। तर खेलकुदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान् खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएका छन्। खेलाडी पलायन हुने क्रम अहिले झन् बढ्दो छ।

नेपालमा खेलेर क्षणिक समयका लागि नाम मात्र पाउने र त्योभन्दा अर्को केही नपाउने नियति खेलाडीले भोग्दै आएका छन्। यतिमात्र होइन, कतिपय नाम चलेका खेलाडीको त मृत्युपछि मात्र तस्वीरमा फूलमाला चढाएर योगदानको गुनगान गाउने संस्कार चलनचल्तीमा छ। खेलकुदमा लागेका युवा र तिनका आश्रित परिवारको भविष्यको सुनिश्चित नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने कैयौं प्रतिभाशाली खेलाडीले बाध्य भएर खेल जीवन त्यागेको तीतो यथार्थ नेपाली खेलजगत्मा जग जाहेर नै छ।

जसरी राम्रो खेलाडी उत्पादनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता आवश्यक छ, त्यसरी नै देशको खेलस्तर मापनका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्ने प्रदर्शन पनि महत्वपूर्ण हुन्छ। वर्तमान परिप्रेक्षमा नेपाली खेलाडीको स्तर नाप्न एसियाली खेलकुद नै प्रमुख आधार हो। सन् १९६४ देखि नै नेपालले ओलम्पिकमा सहभागिता जनाउन थाले पनि आधिकारिकरूपमा एउटा पनि पदक जित्न सकेको छैन। अहिलेको अवस्थालाई दृष्टिगत गर्ने हो भने त ओलम्पिकमा पदक जित्नु त टाढाको कुरा, ‘मिनी ओलम्पिक’ बाट परिचित एसियाली खेलकुदमा समेत पदकविहीन हुने अवस्था सृर्जना हुन थालेको छ। पछिल्ला सहभागिताले यस्तै दृश्य देखाइरहेको छ।
एसियाली खेलकुदलाई ओलम्पिकपछिको ठूलो प्रतियोगिताका रूपमा लिइन्छ। यति ठूलो प्रतियोगितामा नेपाली खेलाडीले खेल्न पाउनु शानको कुरा पनि हो। तर, सहभागितामा मात्र सीमित हुने खेल र खेलाडीलाई ‘एसियाड’ मा खेलाउनुको कुनै औचित्य देखिँदैन। सन् १९५१ मा नयाँ दिल्लीमा भएको पहिलो एसियाली खेलकुददेखि नेपालले सहभागिता जनाए पनि सन् १९८६ देखि मात्र पदक जित्न थालेको हो।

त्यसयता ३२ वर्षमा नेपालले २४ पदक जितेको छ। जसमध्ये तेक्वान्दोबाट १ रजत र १३ कांस्य, पाराग्लाइडिङबाट १ रजत, बक्सिङबाट ६ कांस्य र कराँतेबाट ३ कांस्य गरी कुल २ रजत र २२ कांस्य रहेका छन्। पछिल्लो ६३ वर्षको एसियाली खेलकुद इतिहासमा कुल २४ पदक मात्र जितेको नेपालले खेल सहभागितालाई भने बढाउँदै लगेको छ। तर पदक जित्नेमा केन्द्रित हुनुभन्दा पनि खेलाडीको तुलनामा अफिसियलको संख्या बढाएर जम्बो टोली नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्ने चलनले भने व्यापकता पाएको छ। गुटबन्दी र राजनीतिक दबाबका कारण खेलाडी छनोटमा हुने भेदभाव र अस्पष्ट निर्णय अनि ‘राम्राभन्दा हाम्रा’ भन्ने मानसिकताका कारणले पनि लायक खेलाडीले भन्दा नातावाद र कृपावादको बुइँ चढेका खेलाडीकै हालीमुहाली हुने गरेको छ। जसको परिणाम त्यस्ता खेलाडी र अफिसियलहरू प्रतियोगिता अवधिभर खेलतिर केन्द्रित हुनुभन्दा पनि घुम्ने र भत्ता पचाउनेतिर नै अग्रसर हुने गरेको छ।

 

पछिल्ला केही वर्षयता टी–२० ले देश नै क्रिकेटमय बनिरहँदा ५० ओभरको प्रतियोगिता भने जम्मा एउटा मात्र छ। राष्ट्रिय खेलकुद परिषद्ले गर्ने प्रधानमन्त्री कपको भरमा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नुपरेको छ।

ठूला प्रतियोगिताका क्रममा वैदेशिक प्रशिक्षणमा जाने कतिपय खेलाडीले कठिन अवस्थाको सामना गर्नुपरेको छ। स्वदेशी प्रशिक्षक र स्वदेशमै तोकिएको भत्ता रकमले विदेशमा प्रशिक्षण गर्नुपर्दा खेलाडीको प्रदर्शनबाट ठूलो आशा राख्न सकिन्न। तर यस्तै रोगले ग्रसित भए पनि नेपाली खेलकुदको सरोकारवाला निकाय समाधानतिर जोड दिनुभन्दा पनि मूकदर्शक नै भएर बसेको देखिन्छ।

खेलमा असफलताको पछाडि सम्बन्धित खेलका पदाधिकारीहरूको आ–आफ्नै तर्क हुने गरेको छ। तर विकसित देशमा जस्तै विभिन्न अत्याधुनिक प्रविधिलाई भने नेपाली खेलकुदले अवलम्बन गर्न नसकेको देखिन्छ। विश्व खेलकुद अत्याधुनिक प्रविधि पछ्याउँदै अगाडि लम्किरहेको छ। सबै कम्प्युटर प्रणालीमा चल्छ। जसरी अहिले आधुनिक प्रविधि विस्तार भएको छ त्यसैअनुरूप खेलकुदमा पनि ती प्रविधि भित्रिएका छन्।

तर नेपाली खेलकुद ती प्रविधिसँग अभ्यस्त हुन सकेको छैन। पुरानै ढाँचामा चलेको छ। विगतमा खेलाडीले प्रदर्शन देखाउनुपथ्र्यो, कडा मिहिनेत गरे पुग्थ्यो, थोरै टेक्निकले पनि साथ दिन्थ्यो, उस्तै परे पदकै हात पथ्र्यो, सबै काम हाते पद्धतिमै हुन्थ्यो, निर्णायकले पनि जिताउन चाहेकालाई जिताइदिन सक्थे। तर अहिले विश्व खेलकुद फोरजी प्रविधिमा आधारित छ।

पछिल्लो समय खेलकुदमा यस्तो प्रविधिको प्रयोग बढ्दो छ। आधुनिक प्रविधिअनुसार चल्न नसक्दा नेपालको खेल खस्किएको छ। पहिले खेलाडीको प्रदर्शन हेरेर अंक दिइन्थ्यो। तर, अहिले खेलाडीको मूूल्यांकन विद्युुतीय उपकरणबाट हुन्छ। दशक अघिसम्म पनि परम्परागत शैलीमै खेलिन्थ्यो। तर अहिले स्वस्थ प्रतिस्पर्धाका लागि विद्युुतीय उपकरणको प्रयोग प्रचलनमा छ। जसले नेपालजस्तो परम्परागतरूपमा खेल्ने मुुलुुकलाई असर गरेको छ। नेपालले यस्ताखाले नयाँ प्रविधिलाई अवलम्बन गर्न सकेको छैन।

अहिले पनि नेपालका जिल्ला तथा क्षेत्रीय खेलाडी छनोटमा परम्परागत तरिका नै अपनाइन्छ। अभ्यास गर्दा खेलाडीले आधुनिक प्रविधिको प्रयोग गर्न नपाउँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सकिरहेका छैनन्। उनीहरू अन्तर्राष्ट्रिय नियमसँग अनभिज्ञ रहने गर्छन्।

खेलाडीलाई प्रविधिसँग अभ्यस्त बनाउनका लागि तल्लो तहबाटै प्रविधिमैत्री वातावरणमा खेलाउनुपर्ने हुन्छ। प्रविधिका कुराहरू बुुझ्न गाउँस्तरबाटै त्यसको प्रयोग गरिनुपर्दछ। त्यसका लागि प्राविधिक कुुरामा पनि जानकार व्यक्ति तयार पारिनुपर्दछ। नयाँ प्रविधिको प्रयोग असम्भव होइन, तर अहिलेकै अवस्थामा भने नेपालमा बजेट अभाव देखिन्छ। खेल संघले गर्न सक्दैन। राखेप र मन्त्रालयले त्यसमा ध्यान दिन सकेको छैन। यस्तो प्रविधिलाई भित्याउने सरकारसँग कुनै योजना पनि छैन।
खेल पूर्वाधारमा लगानी छैन। खेलाडीले खेलकुदमै भविष्य छ भनेर ढुक्कका साथ बस्ने अवस्था पनि छैन। धेरै प्रतिभावान् खेलाडी पलायन हुने क्रम पनि बढ्दो छ। जसको प्रमुख कारण एसियाड, ओलम्पिकजस्ता ठूला प्रतियोगिता खेल्न एउटा दीर्घकालीन योजना नहुनु हो। सबै खेललाई एउटै नजरले हेर्न मिल्दैन। कुन खेलको पूर्वाधार र पहुँच सहज छ, त्यसलाई छानेर प्राथमिकतामा राख्नुपर्छ। सहभागितामा मात्र सीमित हुने चलनबाट माथि उठेर पदक नै जित्ने मानसिकताको विकास आवश्यक छ। त्यसका लागि योजना बनाएर लगानी गर्नुपर्छ।

अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न खेलाडीमा पर्याप्त अनुभव चाहिन्छ। पदक जित्ने लक्ष्य हो भने खेलाडीमा पर्याप्त अनुुभव हुुनु आवश्यक छ। नियमित प्रतियोगिताहरू गराइराख्नुपर्छ। एउटा प्रतियोगिता खेलेको खेलाडी अर्को प्रतियोगिता हुने बेलासम्म पलायन भइसक्ने नियति नेपाली खेलकुदले बेहोर्दै आएको छ। थुप्रै वर्ष खेलकुदमा व्यतित गरेका खेलकर्मीहरू रोजीरोटीका कारण खेलबाट अलग्गिने गरेका छन्। जसले गर्दा राज्यको सीमित लगानी पनि खेर गइरहेको छ।

यदि विद्यालयमा खेलकुद विषय पनि पढाउन सकियो भने धेरै हदसम्म यस्तो समस्याको निराकरण हुन सक्छ। खेलकुद शिक्षक राख्दा खेलाडीहरू बेरोजगार भएर बस्नुपर्ने अवस्था आउँदैन। एउटा विद्यालयले एकजना खेलकुद शिक्षक राख्दा देशभर हजारौं शिक्षक आवश्यक पर्ने तथ्यांकले देखाउँछ। यसले खेलाडीको जीवनस्तर उकास्न पनि मद्दत गर्छ।

यतिमात्र होइन, यसले विद्यालयमा खेलकुदको वातावरण पनि राम्रो बन्छ। यो कार्यान्वयनका लागि शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको समन्वय पनि आवश्यक छ। खेल शिक्षकको दरबन्दी सृजना गरिर्नुपर्छ र अर्थ मन्त्रालयले पारिश्रमिक दिने व्यवस्था मिलाउनुपर्छ। अहिले बन्दै गरेको खेलकुद विकास ऐनमा समेत यस्तो व्यवस्था समावेश गरिएको छ। यदि उक्त ऐन हुबहु संसद्बाट पारित भएमा कम्तिमा पनि ५ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा एकजना खेलकुद शिक्षक अनिवार्य राख्नुपर्ने व्यवस्थाको शुरूआत हुन्छ।

खेलाडीलाई एक्सपोजर लक्षित हुने वातावरण बनाउनुपर्दछ। अभ्यास गरेकै भरमा राम्रो नतिजा निस्कने होइन। खेलाडीको स्तर मापनका लागि प्रतिस्पर्धा नै मुख्य माध्यम हो। जसमा नेपाली खेलाडी चुक्ने गरेका छन्। प्रायजसो नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु त टाढाको विषय हो, वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता पनि खेल्न पाउँदैनन्। कति खेलका त राष्ट्रिय प्रतियोगिता परीको कथाजस्तो हुने गरेको छ।

खेलस्तर उकास्न खेलाडीमात्र नभई नयाँ प्रशिक्षक उत्पादन र पुरानालाई समयसापेक्ष बनाउने नीति नियम बसाल्नुपर्छ। अहिले नयाँ पद्धतिमा प्रशिक्षण गराइन्छ। विज्ञान प्रविधिमा आधारित अभ्यास चल्छ। जसअनुरूप नेपाली खेलाडीसँगै प्रशिक्षक पनि परिमार्जित बन्न सकिरहेका छैनन्। मुख्यतः खेल संघभित्र चल्ने राजनीति पनि खेल विकासको बाधक बनेको छ।

केही नेपाली खेलाडीको अनुशासनहीन क्रियाकलापले देशको प्रतिष्ठा नै धमिल्याएको छ। खेलाडी मात्र होइन, सरोकारवाला पदाधिकारीको कार्यशैली पनि अपाच्य बन्ने गरेको छ। नेपाली खेल निकायको लापरबाहीका कारण खेलाडीहरू म्याच फिक्सिङमा मुछिनेदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुपस्थित हुनेजस्ता घटना बढ्न थालेका छन्।

विशेष गरी एसियाकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो घटना दोहोरिने गरेको छ। विगतमा पनि खेल्न विदेश पुगेका नेपाली खेलाडीहरू हराउने घटनाले देशले थुप्रैपटक लाजमर्दो स्थितिको सामना गरिसकेको छ। यतिमात्र होइन, नेपाल ओलम्पिक कमिटीको विवाद, एउटै खेलका थूप्रै संघ गठन हुने क्रियाकलापदेखि खेलकुद क्षेत्रका उच्च पदाधिकारीको भ्रष्ट नियतले पनि नेपाली खेलकुद विकासमा बाधा पुगेको छ।

निसन्देह पहिलेको तुलनामा अहिले देशभरि नै खेलकुदका लागि कभर्ड हल, खेलमैदानजस्ता नयाँ भौतिक संरचना बन्ने क्रम बढ्दो छ। तर निर्माण गरिएका कतिपय त्यस्ता भौतिक संरचनाको स्तरीयतामाथि प्रश्न चि≈न खडा हुने गरेको छ। भरपर्दो अनुगमन गर्ने निकायको अभाव र उच्च ओहदामा बसेका भ्रष्ट व्यक्तिको निजी स्वार्थअनुकूल ठेक्कापट्टामा हुने कमिसन सम्झौताका कारण खेलकुदले मूल्य चुकाउँदै आएको छ। पुनर्निर्माणका लागि ठोस गृहकार्य नै नगरी भत्काउन सुर कस्नेहरूले गर्दा महँगो लागतमा बनेका कैयौं खेल पूर्वाधारहरू अहिले खण्डहरमा परिणत भएका छन्। जसका कारण अहिले कतिपय स्थानीयस्तरमा रहेका रंगशालाहरू त भाषण गर्नका लागि बनाइएको मञ्चजस्तो देखिएका छन्।

यदि जुनियर खेलाडीमा क्षमता छ भने भविष्यका लागि पनि उनीहरूलाई व्याकअपका रूपमा राख्न सकिने गरी व्यवस्था मिलाउनुपर्दछ। राष्ट्रिय खेलकुद परिषद्ले गत वर्षदेखि खेलाडी उत्पादनमा ‘स्कुल टू नेसनल गेम’ र ‘नेसनल गेम टू ओलम्पिक’ गरी दुईवटा परियोजना अघि बढाएको छ। विगतमा सीमित ठाउँबाट मात्र खेलाडी ल्याउने गरिन्थ्यो। तर अब नयाँ परियोजनाअनुसार प्रतिभाशाली खेलाडी उत्पादनतिर उन्मुख हुने देखिएको छ।

खेलकुदको दुनियाँमा सफल देशहरूमा खेलाडीलाई छुट्टै पढाइदेखि विभिन्न किसिमका सेवा सुविधाहरू राज्यले उपलब्ध गराएको हुन्छ। वास्तवमा खेलाडीहरू काठमाडौंमा मात्र छैनन्। खेलाडीहरू गाउँको कुना कन्दरामा पनि छन्। त्यसैले अब त्यतातर्फ पनि गम्भीरताका साथ केन्द्रित हुनुपर्दछ। सीमित वर्ग र ठाउँबाट मात्रै खेलाडी तयार पार्दा यसले खेलकुद समृद्ध हुन सक्दैन।

विगतमा केन्द्रीकृत सोचका कारण तत्कालीन शासकहरूले काठमाडौंमा मात्रै अन्तर्राष्ट्रियस्तरको खेलकुदका संरचना बनाए। देशभर स्तरीय रंगशाला निर्माणमा अग्रसरता देखाएको भए ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अहिले समस्या हुने थिएन। तत्कालीन शासकको अदूरदर्शिताका कारण अहिले यो एउटा समस्या बनेको छ। त्यसको असर के परेको छ भने अहिले एकैपटक देशभर रंगशाला निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

हुनत त खेलकुदसँग थुप्रै कुराहरू जोडिएका हुन्छन्। व्यक्तिगतरूपमा हेर्ने हो भने खेलकुद शारीरिक पक्ष र सम्मानसँग जोडिएको हुन्छ। तर त्योबाहेक खेलकुदको बृहत पक्षलाई दुई भिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ। ती हुन्– राष्ट्रिय गौरव र आर्थिक पक्ष। विश्व समुदायमा खेलकुदलाई राष्ट्रिय पहिचान विकासका साथै आयआर्जन गर्ने माध्यमका रूपमा लिइन्छ। जसको जल्दोबल्दो उदाहरण हो ‘स्पोर्ट्स टुरिज्म’ अर्थात् खेल पर्यटन।

भौगौलिक बनावटका कारण साहसिक खेलका लागि नेपाल विश्वमै दुर्लभ खेलस्थलका रूपमा परिचित छ। सीमित स्रोत र साधनका बाबजुद पनि पर्यटकीय दृष्टिकोणले नेपाललाई साहसिक खेलहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्तै सम्भावना छ। तर आर्थिक सिथिलताका कारण तिनै खेल आयोजनाको आकारलाई व्यापक र परिष्कृत बनाउन नसक्नु अहिलेको प्रमुख चुनौती हो।

विगतको तुलनामा अहिले खेल पर्यटनको महत्व बढे पनि नेपालमा यसले कछुवाको गति लिइरहेको छ। विगतमा व्यावसायिक मुनाफाका लागि मात्र सञ्चालन हुने साहसिक खेलहरू अहिले बा≈यदेखि आन्तरिक पर्यटकको समेत उत्साहजनक सहभागिताका कारण नेपालमा स्पोर्ट्स टुरिज्मको महत्व बढ्न थालेको छ। नेपालमा साइकिलिङ, हाइ अल्टिच्युड म्याराथन, र्याफ्टिङ, कायाकिङ, क्यानोयिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, ट्रायथलन प्रमुख पर्यटकीय खेलका रूपमा बामे सर्दै छन्।

कठिन भौगौलिक बनावटका बाबजुद पनि खेल पर्यटनमा लगानी गर्ने हो भने खर्चको आधारमा महँगो स्विट्जरल्यान्डको विकल्प नेपाल बन्न सक्छ। विश्वका अधिकांश मान्छेहरू स्विट्जरल्यान्डको खेल पर्यटनबाट आकर्षित हुने गरेका छन्। विशेषतः स्विट्जरल्यान्डले आइस स्केटिङजस्ता हिउँसम्बद्ध खेलमार्फत नाम र दाम दुवै आर्जन गर्दै आइरहेको छ। त्यसबाहेक विश्वका कतिपय राष्ट्रका खेलाडीले प्रतिष्ठित प्रतियोगिताको तयारीका क्रममा उच्च भेगीय अर्थात् ‘हाई अल्टिच्युड’ प्रशिक्षणका लागि स्विट्जरल्यान्डलाई प्रमुख गन्तव्यका रूपमा रोज्ने गरेका छन्।

तर यथेष्ठ खेल पर्यटनको सम्भावना भए पनि नेपालले अहिलेसम्म अपेक्षाकृत लाभ उठाउन सकिरहेको छैन। वर्तमान अवस्थामा अत्याधुनिक भौतिक तयारी र ठूलो बजेटमा खेल आयोजना गर्न सहज छैन। तर व्यापक प्रचारमार्फत छोटो समय र कम लगानीमैे साहसिक खेल प्रतियोगिताको प्रवद्र्धन गरेमा नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थल बनाउन कसैले रोक्न सक्दैन।

अन्तर्राष्ट्रिय खेल जगत्मा चर्चाको विषय बन्ने गरेको छ, ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर’। नेपालमा पनि यो प्रसंग बेलाबेलामा उठ्ने गरेको छ। तर त्यो कुरामा मात्रै सीमित बन्दै आएको छ। चाहे नेपाली होस् वा विदेशी हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर, सबै खेलाडीका लागि लाभदायक नै छ। यदि सरकारले यो विषयमा पनि गम्भीरताका साथ ध्यान दिने हो भने नेपाल विश्व खेलकुदको ‘ट्रान्जिट हब’ बन्न सक्छ।

नेपालको भौगोलिक अवस्था हाइ अल्टिच्युड टे«निङ सेन्टरका लागि धेरै कोणबाट अनुकूल छ। जसले नेपालीका साथै विदेशी खेलाडीलाई समेत अभ्यास गर्न आकर्षित गर्नेछ। यस्ता खालका प्रशिक्षण केन्द्र बनाउन सकियो भने अन्तर्राष्ट्रिय खेलाडीमार्फत विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।

खेलकुदमा व्यवसायीकरण आवश्यक

विश्व खेलकुदको विकासक्रमलाई हेर्ने हो भने खेलकुदमा व्यावसायिकताको ठूलो भूमिका रहेको छ। व्यवसायीकरण नै खेलकुद विकासको मुख्य आधार पनि हो। विश्व खेलकुदमा तहल्का मच्चाइरहेका अमेरिका, चीनजस्ता राष्ट्रहरूमा खेलकुद विकासको पछाडि व्यापारिक संस्थाको ठूलो हात रहेको छ। तर नेपाली खेलकुद भने व्यवसायीकरणबाट धेरै टाढा नै छ।

औंलामा नै गन्न सकिने सीमित खेलहरू भर्खर अर्धव्यवसायीकरणतिर बामे सर्दै छन्। नाम लिनुपर्दा फुटबल र क्रिकेट अग्रपंक्तिमा आउँछ। यस्तै राष्ट्रिय खेल भलिबल पनि केही हदसम्म अर्धव्यवसायीकरणतिर उन्मुख देखिन्छ। यीबाहेक अन्य खेल भने छायाँमा नै परेका छन्। साधारणतया जनमानसले समेत नेपाली खेलाडीको नाम लिँदा फुटबलर र क्रिकेटरकै नाम उच्चारण गर्ने गर्दछन्। बिडम्बना नै मान्नुपर्ला अन्य खेलका राष्ट्रिय खेलाडीको नामबाट समेत थुप्रै नेपाली खेलप्रेमी अनभिज्ञ नै छन्। यस्तो हुनुको कारण कुनै निश्चित खेलप्रति मोह र व्यवसायीकरणको अभाव नै हो।

वर्तमान परिप्रेक्ष्यमा समग्र दक्षिण एसियाली खेलकुद क्षेत्रलाई हेर्ने हो भने फुटबल र क्रिकेटले अन्य खेललाई छायाँमा पारेको छ। फुटबल र क्रिकेटमा जति दर्शक अन्य खेलमा पाइँदैनन्। अझ भारतमा त क्रिकेटले अन्य खेलको सफलतालाई सधैं ओझेलमा पार्दै आएको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। चाहे त्यो महँगो दरमा टिकट काटेर नै किन नहोस्, फुटबल र क्रिकेटमा जस्तो दर्शकको घुइँचो अरू खेलमा बिरलै पाइन्छ।

अन्य खेलमा निःशुल्क प्रवेश व्यवस्था भए पनि दर्शक उपस्थिति ज्यादै न्यून हुने गर्छ। यसै कारणले पनि अन्य खेलको तुलनामा फुटबल र क्रिकेटमा लगानी गर्न व्यापारिक संस्थाहरू उदार हुने गर्दछन्। जसले गर्दा नेपालमा अन्य खेलको तुलनामा फुटबल र क्रिकेटको घरेलु लिग पनि फस्टाएको छ।

घरेलु लिगलाई कुनै पनि खेलको मेरुदण्डका रूपमा लिइन्छ। तर कहिलेकाहीं बलियो घरेलु लिगका बाबजुद पनि राष्ट्रिय टिमलाई असफलता हात लागेका थुप्रै उदाहरण छन्। यसको मुख्य कारणमध्येको एक हो– अन्तर्राष्ट्रिय म्याचको अभाव। पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय खेल जगत्मा नेपाली क्रिकेटको चर्चा चुलिएको छ। विभिन्न घरेलु लिग प्रतियोगिताका कारण नेपाली क्रिकेटको लोकप्रियता बढेको पनि छ। लिगका लागि ठूलो व्यापारिक संस्थाले अक्सन प्रणाली लागू गरेयता त झन् क्रिकेटको लोकप्रियता बढ्नुमात्र होइन, खेलाडीलाई खेलेरै आम्दानी गर्ने बाटोसमेत खुलेको छ। खेलेरै नाम र दाम कमाउनेमा सन्दीप लामिछानेको सफलताले त झन् नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याएको छ।

नेपालमा प्रायोजकहरू टी–२० क्रिकेट ढाँचाप्रति आकर्षित देखिन्छन्। केही समययता नेपालमा एकपछि अर्को टी–२० क्रिकेट लिगहरू चलिरहेका छन्। यो सकारात्मक पक्ष पनि हो। तर अर्कोतिर यसले ५० ओभरको प्रतियोगिता ओझेलमा परेको महसुस पनि गराएको छ। एकपछि अर्को टी–२० प्रतियोगिता भइरहँदा क्रिकेट विकासको मुख्य आधार मानिने एकदिवसीय प्रतियोगिता भने बढ्न सकेको छैन।

५० ओभरको खेल नेपालका लागि निकै महत्वपूर्ण पनि छ। तर त्यसका लागि क्रिकेट बोर्ड वा परिषद् अगाडि बढ्नुपर्दछ। वान डे इन्टरनेसनल (ओडीआई) को मान्यता पाएर पनि टी–२० मा बढी केन्द्रित भइरहेमा नेपाली क्रिकेटको स्तर बढ्नेमा ढुक्क हुने अवस्था हुँदैन। टी–२० प्रतियोगिताले क्रिकेटप्रति आम रुचि बढाउन, निजी क्षेत्रको लगानी आकर्षण गर्न र खेलाडीलाई आर्थिकरूपमा बलियो बनाउन मद्दत पुर्याएको छ। यति हुँदाहुँदै पनि देशको क्रिकेटस्तर बढाउनेचाहिँ लामो ओभरको खेल नै हो।
पछिल्ला केही वर्षयता टी–२० ले देश नै क्रिकेटमय बनिरहँदा ५० ओभरको प्रतियोगिता भने जम्मा एउटा मात्र छ। राष्ट्रिय खेलकुद परिषद्ले गर्ने प्रधानमन्त्री कपको भरमा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नुपरेको छ। नेपालले वान डे अन्तर्राष्ट्रिय मान्यतामा डेब्यु गरेको धेरै भएको छैन। चार वर्षमा आफूलाई माथिल्लोस्तरको टोली बनाउन अवसर पाएको नेपालले बढीभन्दा बढी ५० ओभरको खेल खेल्नु आवश्यक छ। फ्रेन्चाइजमा आधारित प्रतियोगिताले नाम चलेका खेलाडीलाई फाइदा पुगे पनि नयाँ खेलाडी उत्पादनका लागि ग्रासरुटस्तरका कार्यक्रम नै आवश्यक हुन्छन्।

टी–२० क्रिकेटमा देखिएको निजी क्षेत्रको लगानी उत्साहजनक छ। प्रभावकारी योजना र दीर्घकालीन सोच बनाउने हो भने प्रायोजकहरू ५० ओभरको खेलमा पनि आकर्षित हुने प्रशस्त आधार छन्। त्यसका लागि सबैभन्दा पहिला नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधान हुन अत्यन्त जरुरी देखिन्छ। निकट भविष्यमा चाँडोभन्दा चाँडो एकदिवसीय, दुईदिवसीय जस्ता प्रतियोगिता गर्न सकेमा नेपाली क्रिकेटको स्तर थप उचाईमा पुग्नेछ। अन्यथा चार वर्षका लागि पाएको ओडीआई मान्यता त्यसै खेर नजाला भन्न सकिन्न।

नेपालमा क्रिकेटभन्दा पनि फुटबल चर्चित छ भन्नेमा कोही दुईमत नहोला। नेपालमा फुटबलको क्रेज अत्यधिक छ। तर वर्तमान परिप्रेक्ष्यमा नेपाली दर्शकले आफ्नो भूमिमा फुटबलको अन्तर्राष्ट्रिय प्रतिष्ठित प्रतियोगिता हेर्न नपाएको भने लामो समय बितिसकेको छ। देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको पुनर्निर्माण त्यसमध्येको एउटा कारण हो। अनि दशरथ रंगशालाको निर्माण सम्पन्नको मिति कुर्ने हो भने अझै धेरै दर्शकले लामो समय अन्तर्राष्ट्रिय फुटबल हेर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ। यसले दर्शकमा त नैराश्यता छाउँछ नै, अन्तर्राष्ट्रिय म्याचको अभावका कारण राष्ट्रिय टिमको प्रदर्शनमा समेत नकारात्मक प्रभाव पर्ने निश्चित छ। तर यसको विकल्पका रूपमा मोफसलका रंगशालालाई स्तरोन्नतिका लागि पहल गर्न जरुरी छ।

तुलनात्मकरूपमा अन्य खेलमा भन्दा नेपाली फुटबलमा लगानी पनि अधिक नै छ। तर नतिजा भने धेरैजसो निरासाजनक नै आउने गरेको छ। लामो समयको लिग विश्रामले प्रभावित बनेको नेपाली फुटबललाई मोफसलमा आयोजित गोल्डकप प्रतियोगिताले राहतको अनुभूति गराए पनि राष्ट्रिय टिमको स्तर उकास्न त्यो पर्याप्त छैन।
विगत ४ वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगले यसै वर्ष निकास पाएको छ। त्यस अन्तरालमा विभिन्न मितिमा गर्ने भनिए पनि अखिल नेपाल फुटबल संघको आन्तरिक किचलोका कारण लिगले गति पाउन सकेको थिएन। पछिल्लोपटक २०७० मा ‘ए’ डिभिजन लिगको ४१औं संस्करण सम्पन्न भएको थियो। त्यसपछि थुप्रैपटक आयोजनाको मिति तोकिए पनि हुन नसकेको लिगलाई पुनर्जीवन दिने निर्णय गर्दा एन्फा नेतृत्व आफैले उठाएको मुद्दामा चुकेको थियो।

एन्फाको तत्कालीन नेतृत्वले २०७१ मा राष्ट्रिय लिगको अवधारणा ल्याएको थियो। मोफसलका चार क्लबसमेत समावेश गरिएको राष्ट्रिय लिग चल्दै गर्दा २०७२ मा भूकम्प गएपछि २ वर्ष लगाएर त्यो प्रतियोगिता सम्पन्न गरिएको थियो। त्यसपछि एन्फाले ‘ए’ डिभिजन लिग गर्न सकेको थिएन। लिगले विश्राम लिइरहँदा केही प्रतिभावान् खेलाडीहरू पलायन भए। तर ती सबै कुरालाई चिर्दै अन्ततः कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा चयन भएको एन्फाको नयाँ कार्यसमितिले लिगको आयोजनाको अन्तिम टुंगो लगाउन सफल भयो।

शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि एन्फाले गत असोजबाट स्वरूप परिवर्तन गर्दै लिग शुरू गर्यो। यसपटक सधैं हुँदै आएको घटुवा र बढुवा प्रणाली हटाइएको छ। लामो समयपछि भइरहेको लिगलाई भने क्लबहरूले गम्भीरतापूर्वक लिन नसकेको देखिएको छ। झारो टराइमा क्लबहरूले तयारीलाई अघि बढाएका छन्। यसले नेपाली फुटबलको स्तर गिर्ने शंका उत्पन्न भएको छ।

स्तर बढाउन लिगले मात्र पनि सम्भव छैन। बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेल्न आवश्यक छ। कुनै पनि देशमा जतिसुकै बलियो घरेलु लिग किन नहोस्, मुख्यतः सम्बन्धित खेल संघले खेलको स्तरलाई उकास्ने संयन्त्र निर्माण गरेन भने त्यो अर्थहीन हुन्छ। एकातिर स्वदेशी अनगिन्ती घरेलु प्रतियोगिता आयोजना गर्नु र अर्कोतिर राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय म्याचमा लज्जास्पद हार बेहोर्दै जाने हो भने खेलको स्तर बढ्यो भनेर सन्तोष मान्न सकिन्न। पूर्वसाफ विजेता अफगानिस्तान अहिले फुटबलको स्तर उकास्ने लक्ष्यसहित इरान, उज्वेकिस्तानजस्ता एसियाली फुटबलका सशक्त राष्ट्र सम्मिलित सेन्ट्रल एसियन फुटबल एसोसिएसनमा आबद्ध भएको छ। फुटबलको स्तर वृद्धि गर्न अफगानिस्तानले चालेको कदम अन्य दक्षिण एसियाली राष्ट्रका लागि पनि राम्रो उदाहरण बन्न सक्छ।

अन्तर्राष्ट्रिय मञ्चमा समूह खेलअन्तर्गत नेपाली क्रिकेटले हासिल गरेको सफलतालाई अपवाद मान्ने हो भने तेक्वान्दो, कराँते, बक्सिङजस्ता व्यक्तिगत खेलबाट नै नेपालले बढी पदक जितेको इतिहासले देखाउँछ। समूह खेलमा भन्दा व्यक्तिगत खेलमा नेपालको प्रदर्शन उच्चस्तरको हुने गरेको पनि छ। तर, पछिल्लो समय सबैजसो खेलमा नेपालको प्रदर्शन खस्कँदो छ। त्यसैले प्रायोजकहरूलाई क्रिकेट र फुटबलमा मात्र नभई मार्सल आर्ट्सजस्ता व्यक्तिगत खेलमा पनि लगानीका लागि आकर्षित गर्ने वातावरण तयार गरिनुपर्दछ। यसो गर्न सकेमा नेपाली खेलकुदलाई लाभदायक नै हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्