१० ठूला अर्थतन्त्र



१. अमेरिका
कुल गार्हस्थ उत्पादन ः १ सय ९३ खर्ब ९० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपी ः १ सय ९३ खर्ब ९० अर्ब डलर

अमेरिकाले सन् १८७१ देखि नै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र आफ्नो नाममा सुरक्षित राख्दै आएको छ। सन् २०१७ मा अमेरिकाको अर्थतन्त्रको आकार नोमिनल जीडीपीका आधारमा १ सय ९३ खर्ब ९० अर्ब अमेरिकी डलर थियो र यो सन् २०१८ मा २ सय ४ खर्ब १० अर्ब डलर पुग्ने अनुमान गरिएको छ। अमेरिकालाई आर्थिक महाशक्तिको नामले पनि चिनिन्छ। यसले अर्थतन्त्र पूरै विश्वको अर्थ व्यवस्थाको एक चौथाइ हिस्सा ओगटेको छ। यस महाशक्तिको अर्थ व्यवस्थालाई अत्याधुनिक संरचना, प्रविधि र प्राकृतिक संसाधनले सशक्त रूपमा बल प्रदान गरिरहेको छ। यद्यपि अमेरिकी अर्थतन्त्रमा सेवा क्षेत्रको कूल गार्हस्थ उत्पादनमा करिब ८० प्रतिशत योगदान रहेको छ। यसमा औद्योगिक उत्पादनको करिब १५ प्रतिशत मात्र योगदान रहेको छ।

अर्थतन्त्रलाई क्रयशक्ति समानता (पीपीपी) का आधारमा आँकलन गर्ने हो भने अमेरिकाले उसको निकटतम् प्रतिद्वन्द्वी चीनसँग आर्थिक महाशक्तिको पगरी गुमाइसकेको छ। सन् २०१७ मा पीपीपीको आधारमा अमेरिकाको जीडीपी १ सय ९३ खर्ब ९० अर्ब डलर थियो भने चीनको अर्थतन्त्रलाई २ सय ३१ खर्ब ६० अर्ब मापन गरिएको थियो। यी दुई अर्थतन्त्रबीच सन् २०२३ सम्ममा नोमिनल जीडीपीको भिन्नतामा पनि न्यून हुने अनुमान गरिएको छ। उक्त अवधिसम्ममा अमेरिकाको अर्थतन्त्र बृद्धि भई २ सय ४५ खर्ब ३० अर्ब र चीनको २ सय १७ खर्ब ७० अर्ब पुग्ने अनुमान छ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा पुँजीवादी मिश्रित अर्थव्यवस्था छ। अमेरिकाको अर्थव्यवस्था त्यहाँको प्रचुर प्राकृतिक संसाधन र उच्च उत्पादकतामा आधारित छ। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार अमेरिकाको कूल गार्हस्थ उत्पादन करिब १ सय ९४ खर्ब डलर रहेको छ। अमेरिकाको कूल गार्हस्थ उत्पादनले विश्वको जीडीपीको २४ प्रतिशत हिस्सा ओगटेको छ। क्रयशक्ति समानता (पीपीपी)मा कुल विश्व गाहस्र्थमा १९ प्रतिशत अमेरिकी हिस्सा रहेको छ। विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भए पनि प्रतिव्यक्ति आयको सूचीमा यो ९औं स्थानमा रहेको छ र अमेरिकी डलर विश्वको प्राथमिक आरक्षित मुद्रा हो। सन् २०१८ मा अमेरिकाको कुल गार्हस्थ २ सय ४ खर्ब डलर नाघ्ने बताइएको छ।

अमेरिका सबैभन्दा ठूलो आयातक र दोस्रो ठूलो निर्यातक देश हो। यद्यपि प्रतिव्यक्ति निर्यातको आँकलनमा यो तल नै पर्छ। सन् २०१७ मा अमेरिकी उत्पादन तथा सेवा क्षेत्रको व्यापारमा ५ खर्ब ६६ अर्ब डलर घाटा भएको थियो। उक्त वर्ष अमेरिकाले २८ खर्ब ९५ अर्ब डलरको आयात गरेको थियो भने २३ खर्ब २९ अर्ब डलरको बस्तु तथा सेवा प्रदायक उत्पादन निर्यात गर्यो। अमेरिकाले आफ्नो व्यापार घाटाको सबैभन्दा धेरै अंश क्यानडा, चीन, जापान, मेक्सिको र जर्मनीसँग बेहोर्नुपरिरहेको छ। जापान र अमेरिका सार्वजनिक ऋणमा सबैभन्दा ठूला विदेशी धारक हुन्। यसमा अमेरिकी ऋणका सबैभन्दा ठूला ऋणी अमेरिकी संस्थाहरू नै पर्छन्। जसमा संघीय सरकारी खाता र फेडरल रिजर्भ पर्छन्।

अमेरिकी अर्थव्यवस्था अत्यन्त विकसित स्तरको मानिन्छ र यसको सेवा क्षेत्र कुल गार्हस्थ उत्पादनको ६७ दशमलव ८ प्रतिशत रहेको छ। यद्यपि अमेरिका अहिले पनि एक औद्योगिक शक्ति राट्रका रूपमा रहेको छ। थोक तथा खुद्रा व्यापारमा अमेरिका अग्रणी स्थान कायम छ। म्याकडोनाल्ड्स र सब वे विश्वका दुई चर्चित ब्रान्ड हुन् भने कोकाकोला विश्वको सबैभन्दा मान्यता प्राप्त शीतल पेय कम्पनीका रूपमा स्थापित छ।

विश्वमा सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र अमेरिका आफैं यसको दोस्रो ठूलो आयातकर्ता पनि हो। यो विद्युत् र परमाणु उर्जाको निर्माणसँगै प्राकृतिक ग्यास, सल्फर, फोस्फेट, र नुन उत्पादन तथा निर्माणमा पनि अग्रणी छ। कोइला र अन्य खनिज बेरिलियम, तामा, सिसा, म्यानेसियम, जिंक, टाइटेनियमको उत्पादनमा पनि अमेरिका अग्रस्थानमा रहेको छ।

अमेरिकी अर्थतन्त्रमा कृषिको योगदान कुल गार्हस्थ उत्पादनमा १ प्रतिशत मात्र रहेको छ। यद्यपि अमेरिका विश्वमै सबैभन्दा धेरै मकै र भट्मास उत्पादन गर्ने राष्ट्र हो। अमेरिकामा बदाम, जौ, गहुँ, धान, कपास, सूर्यमुखी, तोरीजस्ता खाद्य पदार्थको पनि पर्याप्त उत्पादन हुन्छ।

२ चीन

कुल गार्हस्थ उत्पादन ः १ सय २० खर्ब १० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपीः २ सय ३१ खर्ब ५० अर्ब डलर

विगत केही दशकमा चीनले केन्द्रको नियन्त्रण, बन्द अर्थतन्त्रको अवरोधहरूलाई तोड्दै उत्पादन तथा निर्यातमा विश्वकै केन्द्रका रूपमा स्थापित गर्दै तिव्र गतिमा आर्थिक बृद्धिदर हासिल गर्न सफल भए। चीन अझै पनि विश्वको कारखानाका रूपमा चिनिएको छ र यो प्रचुर उत्पादन तथा निर्यात केन्द्र बनिरहेको छ।

यद्यपि केही वर्षदेखि सेवाजन्य उत्पादनको भूमिका पनि बढ्दै गइरहेको छ भने कूल गार्हस्थ उत्पादनमा वस्तु उत्पादनको योगदान घट्दो क्रममा देखिएको छ। सन् १९८० तिर चीन ३ खर्ब ५ अर्ब ३५ करोड जीडीपीसहित विश्वको ७औं ठूलो अर्थतन्त्र थियो जब कि त्यतिबेला अमेरिकाको जीडीपीको आकार २८ खर्ब ६० अर्ब डलर थियो। सन् १९७८ मा बजार अर्थतन्त्रमा सुधार गरेपछि उक्त एसियाली महाशक्तिको आर्थिक बृद्धिदर वार्षिक औसत १० प्रतिशत बन्यो। हालैका वर्षहरूमा भने यो बृद्धिदरको गतिमा सुस्तता आएको देखिए पनि आप्mना प्रतिस्पर्धीहरूको तुलनामा भने उच्च नै रहेको छ।

विश्व बैंकले सन् २०१० देखि पहिलोपटक सन् २०१७ मा चीनको आर्थिक बृद्धिको प्रतिवेदन प्रस्तुत गरेको थियो। यसले सन् २०१८ को बृद्धि ६ दशमल ६ प्रतिशत र सन् २०२३ सम्ममा घटेर ५ दशमलव ५ प्रतिशतमा झर्ने अनुमान गरको छ। विगतका वर्षदेखि चीन र अमेरिकाको अर्थतन्त्रबीचको अन्तर तिव्र दरमा झरिरहेको छ। सन् २०१७ मा चीनको जीडीपी १२० खर्ब १० अर्ब अमेरिकाको भन्दा ७३ खर्ब ७० अर्ब थियो।

सन् २०१८ यो अन्तर ६३ खर्ब २० अर्बमा झर्ने अनुमान गरिएको छ भने सन् २०२३ सम्ममा यो फरक २९ खर्ब ६० अर्ब डलरमा सीमित हुने अनुमान गरिएको छ। सन् २०२३ सम्ममा चीनको जीडीपी ३ सय ७० खर्ब ६० अर्ब डलर हुनेछ। चीनको धेरै जनसंख्याले उसको कुल गार्हस्थ उत्पादनका आधारमा प्रतिव्यक्ति आय ८ हजार ६ सय ४३ डलर मात्र पुगेको छ। विश्वमा प्रतिव्यक्ति आयको सूचीमा चीन ७२औं स्थानमा पर्छ।

सन् १९४९ मा स्थापनादेखि सन् १९७८ को उत्तर कालसम्म चीन जनवादी गणराज्य तात्कालीन सोभियत शैली समान एक केन्द्र नियन्त्रित अर्थव्यवस्थामा चलिरहेको थियो। उक्त व्यवस्थामा निजी व्यापार र पुँजीवादलाई स्थान थिएन। देशलाई एक आधुनिक, औद्योगिक साम्यवादी समाज बनाउनका लागि नेता माओत्सेतुङले महत्वपूर्ण दीर्घकालीन अर्थव्यवस्थाको स्थापना गरेका थिए। माओको निधनपछि र सांस्कृतिक क्रान्तिको अन्त्यपछि देङसियाओपिङ र त्यसपछिका नयाँ नेतृत्वमा अर्थव्यवस्थामा सुधार गर्दै एक दलीय शासनको अधिनमा रहने गरी बजारउन्मुख मिश्रित अर्थव्यवस्था बनाउनका लागि सुधारको थालनी गरे।

सन् १९७८ देखि जापान र चीनको राजनीतिक सम्बन्ध सामान्य र≈यो र चीनले जापानबाट सुलभ ऋण लिन थाले। सन् १९७८ देखि जापान, चीनको पहिलो विदेशी ऋणदाता र≈यो। चीनको अर्थव्यवस्था मुख्य रूपमा निजी सम्पत्तिको स्वामित्वमा आधारित एक बजार अर्थतन्त्रका रूपमा चित्रित छ। कृषिमा सामूहिकीकरण व्यवस्था हटाइयो र कृषिभूमिको उत्पादकता बढाउनका लागि निजीकरण गरियो।

शुरूमा विस्तृत विविधतायुक्त लघुउद्योगलाई प्रोत्साहित गर्दै सरकारले मूल्य नियन्त्रण तथा विदेशी उपनिवेशलाई प्रोत्साहन गर्यो। विदेश व्यापारलाई विकासको एक प्रमुख पक्षका रूपमा ध्यान दिइयो। विशेष आर्थिक क्षेत्रका रूपमा शुरूमा हङकङ नजिकको सेन्जेनलाई र पछि अन्य शहरलाई स्थापित गर्यो। राज्यको स्वामित्वमा रहेका उद्योगलाई पश्चिमी शैलीको प्रबन्धन प्रणालीका आधारमा पुनर्गठन गरियो र फाइदा नदिएकाहरू बन्द गरियो।

यसले चीनमा बेरोजगारी पनि बढाएको थियो। सन् १९७८ मा आर्थिक उदारीकरणको शुरूआतदेखि अहिलेसम्म चीनको लगानी तथा निर्यातमा आधारित अर्थव्यवस्थाको आकारमा ९० गुणा बृद्धि भइसकेको छ र यो विश्वको प्रमुख अर्थ व्यवस्थाहरूमध्येको सबैभन्दा तिव्र रूपमा अगाडि बढिरहेको अर्थ व्यवस्था हो। कुल गार्हस्थ घरेलु उत्पादनका आधारमा यो अब विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हो जसको नोमिनल जीडीपी सन् २०१८ मा १ सय ४० खर्ब नाघ्ने बताइएको छ।
चीनको अर्थतन्त्रले सन् २०१० उत्तराद्र्धतिर जापानलाई उछिनेको थियो भने सन् २००५ मै उसले बेलायत र जर्मनीको अर्थ व्यवस्थालाई पछाडि पारेको थियो।

३ जापान

कुल गार्हस्थ उत्पादनः ४८ खर्ब ७० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपीः ५४ खर्ब २० अर्ब डलर

विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश जापानको सन् २०१७ को कुल गार्हस्थ उत्पादन ४८ खर्ब ७० अर्ब डलर रहेको थियो। सन् २०१८ मा यो ५० खर्ब नाघ्ने अनुमान गरिएको छ। सन् २००८ को विश्व आर्थिक मन्दीको चपेटामा परेको जापानको अर्थतन्त्रका लागि आगामी समय अझै पनि चुनौतीपूर्ण मानिन्छ। हालको अवस्थामा जापानको अर्थतन्त्रलाई अस्थिर रहेको छ। सन् २०२० ओलम्पिकका लागि भइरहेको लगानीको प्रभावका कारण अर्थतन्त्रमा केही सबलता आउने अनुमान गरिएको छ। यसमा बैंक अफ जापानको मुद्रा नीतिले सहयोग गरिरहेको छ। सन् २०१८ मा जापानको जीडीपी ४८ खर्ब ७० अर्बबाट बढेर ५१ खर्ब ६० अर्ब हुने अनुमान गरिएको छ।

क्रयशक्ति समानता पीपीपीका आधारमा जीडीपीको मापन गर्दा जापानको स्थान चौथो स्थानमा पुगेको छ। सन् २०१७ मा जापानको जीडीपी (पीपीपी) ५४ खर्ब २० अर्ब र≈यो भने जीडीपी प्रतिव्यक्ति आय ३८ हजार ४ सय ४० पुगेको थियो। जापानमा अत्यन्त विकशित तथा बजारउन्मुख व्यवस्थामा आधारित अर्थतन्त्र रहेको छ। नोमिनल जीडीपीका आधारमा यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो भने क्रयशक्ति सन्तुलन पीपीपीका आधारमा यो चौथो ठूलो अर्थतन्त्र हो। यद्यपि जीडीपीका आधारमा जापान प्रतिव्यक्ति आय ३८ हजार ४ सय ४८ सहित यसको सूचीमा २३औं स्थानमा रहेको छ। जापान अत्यन्त गुणस्तर सामानहरू उत्पादन गर्ने औद्योगिक राष्ट्रमा गनिन्छ। उत्पादन नै जापानी अर्थतन्त्रको प्रमुख आधार हो। जापानमा अत्यन्त न्यून प्राकृतिक सं्रोत रहेको छ। कृषिमा जापानको प्रमुख उत्पादन धान हो। यहाँ खपत हुने प्रायः चामल स्वदेशमै उत्पादित हो।

जापानले निर्यात गर्ने प्रमुख उत्पादनमा अटोमोबाइल, विद्युतीय उपभोग्य सामान, कम्प्युटर, सेमिकन्डक्टर्स, तामा, फलाम र स्टिल हुन्। जापानमा सन् १८६८ मिजी शासन कालदेखि आर्थिक विस्तारको शुरूआत भएको थियो।

मिजी शासकले खुला व्यापार अर्थतन्त्रको अवधारणालाई स्वीकारेको र खुला पुँजीवादमा बेलायत तथा उत्तर अमेरिकी स्वरूपलाई अपनाएका थिए। जापान एसियामा सबैभन्दा विकशित राष्ट्रका रूपमा चिनिन्छ। सन् १९६० देखि १९८० को दशकसम्मको अवधि समग्र आर्थिक विकासका लागि जापानी चमत्कार भन्ने गरेको छ। जापानको सन् १९६० को दशकमा १० प्रतिशत औषत, १९७० को दशकमा ५ प्रतिशत औषत र १९८० को दशकमा ४ प्रतिशत औषतको आर्थिक विकास दर रयो।

४. जर्मनी

कुल गार्हस्थ उत्पादन ः ३६ खर्ब ८० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपी ः ४१ खर्ब ७० अर्ब डलर

जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र मात्र नभएर सबैभन्दा बलियो राष्ट्र पनि हो। ३६ खर्ब ८० अर्ब डलरको कुल गार्हस्थ उत्पादन अर्थात् नोमिनल जीडीपी बोकेको जर्मनी विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश हो। क्रयशक्ति सन्तुलन पीपीपीका आधारमा यसको जीडीपीको आकार ४१ खर्ब ७० अर्ब छ। यहाँका जनताको जीडीपी प्रतिव्यक्ति आय ४४ हजार ५ सय ५० डलर छ। सन् १९८० सम्म विश्वको तेस्रो ठूलो अर्थव्यवस्था भएको जर्मनीको जीडीपी ८ खर्ब ५० अर्ब ४७ करोड थियो।
सन् २००८ को विश्व आर्थिक मन्दीको प्रभावमा जर्मनी पनि आएको थियो। सन् २०१६ र २०१७ को यसको अर्थतन्त्र क्रमशः १ दशमलव ९ प्रतिशत र २ दशमलव ५ प्रतिशत रहेको थियो। यद्यपि अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले सन् २०१९ र २०२० मा जर्मनीको आर्थिक बृद्धिदर २ दशमलव २ र २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। यसलाई बढ्दो संरक्षणवाद र ब्रेक्सिटको खतराको संकेतका रूपमा लिएको छ।

जर्मनी एक अत्यन्त कुशल श्रमशक्ति, ठूलो सेयर पुँजी, भ्रष्टाचार स्तर अत्यन्त न्यून र प्राविधिक रूपमा सम्पन्न तथा सक्षम एक सामाजिक बजार अर्थव्यवस्था रहेको मुलुक हो। यो विश्वमा बस्तुहरूको तेस्रो सबैभन्दा ठूलो निर्यातक र सामान्य जीडीपीका आधारमा युरोपको सबैभन्दा ठूलो राष्ट्रिय अर्थव्यवस्था भएको मुलुक हो।
जर्मनीको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान कूल गार्हस्थ उत्पादनमा ७१ प्रतिशत रहेको छ भने यसमा उद्योगको २८ प्रतिशत र कृषिको १ प्रतिशत रहेको छ। जर्मनीको बेरोजगारी दर युरोपेली संघका सबै सदस्य देशहरूको तुलनामा सबैभन्दा कम ४ दशमलव ७ प्रतिशत रहेको छ। तर यहाँको युवा बेरोजगारी दर युरोपेली संघका अन्य सदस्य राट्रको तुलनामा सबैभन्दा धेरै ७ दशमलव १ प्रतिशत रहेको छ।

सन् २००२ देखि अन्य सदस्य देशहरूमा जस्तै जर्मनीमा पनि युरोपेली मुद्रा युरोको प्रचलन शुरू भयो। उक्त मुद्राले उक्त क्षेत्रका ३३ करोड ८० लाख नागरिकलाई प्रतिनिधित्व गर्छ। जर्मनीको मौद्रिक नीति युरोपेली सेन्ट्रल बैंक, फ्रान्कफर्ट युरोप महाद्विपको वित्तिय केन्द्रको मुख्यालयले निर्धारण गर्छ। आधुनिक गाडी निर्माण तथा उत्पादन क्षेत्रमा जर्मनीका उद्योगहरू विश्वकै अब्बल र उच्च प्रतिस्पर्धीका रूपमा स्थापित छन्। जर्मनीको शीर्ष १० निर्यातमा सवारी साधन, रासायनिक पदार्थ, इलेक्ट्रोनिक उत्पादन, बिजुलीका उपकरण, औषधी, परिवहन उपकरण, धातु, खाद्य उत्पादन र रबर तथा प्लास्टिक हुन्।

५. बेलायत


कुल गार्हस्थ उत्पादन ः २६ खर्ब २० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपी ः २९ खर्ब १० अर्ब डलर

संयुक्त अधिराज्य २६ खर्ब २० अर्ब डलर कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगै विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो। क्रयशक्ति सन्तुलन (पीपीपी) आधारमा २९ खर्ब १० अर्ब डलर जीडीपीको तुलना गर्दा बेलायत विश्वको ९औं ठूलो अर्थतन्त्रमा खस्केको छ। जीडीपी प्रतिव्यक्ति आय ३९ हजार ७ सय ४० डलर रहेको बेलायत यो सूचीमा २३औं स्थानमा परेको छ। सन् २०१८ मा यसको नोमिनल जीडीपी २९ खर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ। तर सन् २०२३ सम्ममा ३४ खर्ब ७० करोड जीडीपी पुग्ने आँकलन गरिएको बेलायत त्यतिबेला सम्ममा ७औं स्थानमा खस्कने अनुमान गरिएको छ।

सन् १९९२ देखि २००८ सम्म बेलायतको अर्थतन्त्र हरेक चौमासिकमा बृद्धिको साक्षी बनेका थिए। त्यसपछिका पाँचवटा त्रैमासिकमा भने लगातार गिरावट देखिएको थियो। उक्त पाँच त्रैमासिक (सन् २००८ देखि २००९को बीच) मा उसको अर्थतन्त्र ६ प्रतिशतले झरेको थियो। आर्थिक मन्दी अगाडिको अवस्थामा पुग्न बेलायतलाई पाँच वर्ष लागेको राष्ट्रिय तथ्यांक विभागको डाटाले देखाएको छ।बेलायतको अर्थतन्त्रमा सेवा क्षेत्रको ठूलो योगदान रहेको छ।

कुल गार्हस्थ उत्पादनमा यसले ७५ प्रतिशतभन्दा धेरै हिस्सा योगदान पुर्याएको छ भने दोस्रोमा कलकारखाना र त्यसपछि कृषि अर्थतन्त्रका प्रमुख आधार रहेका छन्। बेलायतको खाद्यान्न आवश्यकताको ६० प्रतिशत आन्तरिक उत्पादनले आपूर्ति गर्दै आएको भए पनि कृषिले जीडीपीमा खासै योगदान पु्र्याएको देखिँदैन। यस क्षेत्रमा २ प्रतिशत कमले मात्र श्रम रोजगार पाएका छन्।

बेलायतको अर्थव्यवस्था इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड मिलेर बनेको छ। बजार विनिमय दरका आधारमा बेलायत अहिले विश्वको पाँचौं ठूलो अर्थव्यवस्था भएको मुलुक हो। युरोपमा यो फ्रान्सलाई उछिन्दै जर्मनीपछिको दोस्रो स्थानमा छ। बेलायतको सेवा क्षेत्र धेरै ठूलो छ र जीडीपीमा यसको योगदान करिब ७३ प्रतिशत रहेको छ।

सेवा क्षेत्रमा वित्तीय सेवाको प्रभुत्व रहेको देखिन्छ। विशेष रूपमा बैंकिङ र बीमाका लागि लन्डन विश्वको सबैभन्दा ठूलो वित्तीय केन्द्र हो। राजधानी लन्डन अन्तर्राष्ट्रिय व्यापार तथा वाणिज्यको एक प्रमुख केन्द्र हो र यो विश्व अर्थव्यवस्थामा प्रमुख तीन ‘कमान्ड सेन्टर’ न्युयोर्क र टोकियोसँगै आउँछ।

सन् २०१६ मा भएको जनमत संग्रहमा बेलायती जनताले युरोपेली संघबाट अलग हुने पक्षमा मत दिएपछि भने यहाँका अर्थविद्हरू संशकित भइरहेका छन्। अहिले ईयूबाट अलग हुने ब्रक्सिटका लागि आवश्यक प्रक्रिया पूरा गर्न मै सरकारको सम्पूर्ण प्रयास केन्द्रित रहेको छ। यसरी बाहिरिने प्रक्रियामा बेलायतले ईयूलाई ३९ अर्ब डलर क्षतिपूर्ति दिने प्रस्तावको मस्यौदामा सहमतिका लागि काम भइरहेको छ।

६ भारत

कुल गार्हस्थ उत्पादन ः २६ खर्ब १० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपीः ९४ खर्ब ५० अर्ब डलर

विश्वमा तिव्र आर्थिक बृद्धिकासाथ अगाडि बढिरहेको भारत विश्वका १० खर्ब डलर (ट्रिलियन डलर)को अर्थतन्त्र समूहमा छैठौं ठूलो अर्थतन्त्र भएको राष्ट्र हो। भारतको नोमिनल जीडीपी २६ खर्ब १० अर्ब डलर रहेको छ। भारत सन् २०१९ सम्ममा बेलायतलाई उछिन्दै पाँचँैं ठूलो अर्थतन्त्रका रूपमा स्थापित हुन गइरहेको आईएमएफले पूर्वानुमान गरिसकेको छ। उक्त राष्ट्रको क्रयशक्ति सन्तुलन पीपीपीका आधारमा जीडीपी ९४ खर्ब ५० अर्ब डलर रहेको छ र यसले उसलाई यो मापनमा तेस्रो ठूलो अर्थतन्त्रको स्थानमा पुर्याएको छ। कुल गार्हस्थ उत्पादनका आधारमा प्रतिव्यक्ति आयको हिसाब गर्दा भारतको उच्च जनसंख्याले उसको जीडीपी प्रतिव्यक्ति आय निक्कै तल १ हजार ९ सय ८२ मा सीमित छ।

सन १९८० मा भारतको अर्थतन्त्रमा १ खर्ब ८९ अर्ब ४३ करोड ८० लाख डलरको थियो। यो आकारमा त्यतिबेला विश्वमा उसको स्थान १३औं थियो। केहीवर्ष यतादेखि तिव्र आर्थिक बृद्धिदर हासिल गर्दै आइरहेको भारतको सन् २०१७ को आर्थिक बृद्धिदर ६ दशमलव ७ प्रतिशत थियो भने सन् २०१८ मा यो बढेर ७ दशमलव ३ प्रतिशत र सन् २०१९ मा ७ दशमलव ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

स्वाधीनतापछिको भारतको यात्रा कृषि मुलुकका रूपमा शुरू भएको थियो भने केही दशकदेखिनै निर्माण तथा सेवा क्षेत्र मजबुत रूपमा उदय भइरहेको छ। अहिले उसको सेवा क्षेत्र विश्वमा सबैभन्दा तिव्र गतिमा बृद्धि भइरहेको क्षेत्रमा पर्छ। यसले भारतको अर्थतन्त्रमा ६० प्रतिशत योगदान गरेको छ भने रोजगारको २८ प्रतिशत हिस्सा धानेको छ। निर्माण अहिले पनि भारतका लागि अत्यन्तै अस्थिर क्षेत्रका रूपमा रहेको छ। कृषि क्षेत्रको योगदान १७ प्रतिशतमा झरेको भए पनि पश्चिमी मुलुकको तुलनामा यो अझै उच्च छ। भारतको अर्थतन्त्रको सवल पक्ष भनेको सीमित आयात, उच्च जगेर्ना दर, अनुकुल जनसंख्या र मध्यमवर्गको उदय हो।

७. फ्रान्स
कुल गार्हस्थ उत्पादन ः २५ खर्ब ८० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपी ः २८ खर्ब ३० अर्ब डलर

विश्वमा सबैभन्दा धरै पर्यटकले भ्रमण गर्नेे राष्ट्र फ्रान्स युरोपको तेस्रो र विश्वको सातौं अर्थतन्त्र भएको मुलुक हो। यसको कुल गार्हस्थ उत्पादन जीडीपी २५ खर्ब ८० अर्ब रहेको छ। क्रयशक्ति समानता (पीपीपी)का आधारमा यसको जीडीपी करिब २८ खर्ब ३० अर्ब डलर रहेको छ। जीडीपी प्रतिव्यक्ति आय ४४ हजार ५ सय ४९ डलर हुनुले फ्रान्सका जनताको जीवनस्तर अत्यन्त उच्च स्तरको भएको संकेत गर्छ। हालैका वर्षमा आर्थिक बृद्धिमा कमी आइरहेकाले त्यसको नतिजास्वरूप उत्पन्न बेरोजगारी समस्याका कारण सरकारलाई अर्थतन्त्रलाई पुनर्ताजगी गर्न चर्को दबाव परिरहेको छ। सन् २०१४, २०१५ र २०१६ मा फ्रान्समा बेरोजगारी दर १० प्रतिशत रहेको विश्वबैंकले आँकलन गरेको थियो। सन् २०१७ मा यो ९ दशमलव ६८ प्रतिशतमा घटेको थियो।

यहाँकोे अर्थतन्त्रमा पर्यटन अझै पनि महत्वपूर्ण क्षेत्र रहेको छ भने युरोपेली संघको एक तिहाइ खेतीयोग्य जमिन रहेको फ्रान्स कृषि उत्पादनमा पनि अग्रणी रहेको छ। फ्रान्स विश्वको छैठौं ठूलो कृषिजन्य उत्पादक हो भने अमेरिकापछिको दोस्रो ठूलो कृषिजन्य वस्तुको आयातक पनि हो। औद्योगिक उत्पादन क्षेत्रमा रसायन उद्योग, सवारी साधन तथा गहना उद्योगको प्रभुत्व रहेको छ। सन् २०१७ मा यसको आर्थिक बृद्धि २ दशमलव ३ प्रतिशत रहेको थियो भने सन् २०१८ र २०१९ मा यो क्रमशः १ दशमलव ८ र १ दशमलव ७ मा झर्ने आईएमएफको अनुमान छ।

८. ब्राजिल
कुल गार्हस्थ उत्पादन ः २० खर्ब ५० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपीः ३२ खर्ब ४० अर्ब डलर

ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको मुलुक हो। कुल गार्हस्थ उत्पादन २० खर्ब ५ अर्ब रहेको ब्राजिल विश्वको आठौं ठूलो अर्थतन्त्र हो। लगातार उपभोग्य वस्तुहरूको उत्पादन तथा आपूर्तिमा समस्या झेलिरहेका र भ्रष्टाचार तथा राजनीतिक अस्थिरताका कारण उक्त मुलुकमा लगानी तथा व्यवसायको वातावरण बिग्रँदो अवस्थामा छ।

सन् २००६ देखि २०१० को अवधिमा उक्त मुलुकको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशत थियो भने सन् २०११ देखि २०१३ सम्ममा यो करिब २ दशमलव ८ प्रतिशतमा झरेको जियो। सन् २०१४ मा यो करिब शून्य दशमलव १ प्रतिशत मात्र र≈यो। सन् २०१६ मा ब्राजिल ३ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदरमा फर्कन सफल भए पनि सन् २०१७ मा यो १ प्रतिशतमा झर्यो। सन् २०१९ मा ब्राजिलको आर्थिक बृद्धि २ दशमलव ५ प्रतिशत पुग्ने आइएमएफले अनुमान गरको छ। ब्राजिल नयाँ विश्व आर्थिक मञ्च ब्रिक्सको सदस्य हो। यसमा ऊसँग रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन्। ब्राजिलको क्रयशक्ति समानतामा आधारित जीडीपी ३२ खर्ब ४० अर्ब डलर र यसको प्रतिव्यक्ति आय ९ हजार ६ सय ८१ डलर रहेको छ।

९. इटाली
कुल गार्हस्थ उत्पादन ः १९ खर्ब ३० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपी ः २३ खर्ब १० अर्ब डलर

१९ खर्ब ३० अर्ब डलर सामान्य कुल गार्हस्थ उत्पादन भएको इटाली विश्वको ९औं ठूलो अर्थतन्त्र हो। सन् २०२३ सम्ममा उसको अर्थतन्त्र २५ खर्ब डलर पुग्ने अनुमान गरिएको छ। क्रयशक्ति समानता (पीपीपी)का आधारमा यसको जीडीपी २३ खर्ब १० करोड डलर रहेको छ भने यहाँका जनताको प्रतिव्यक्ति आय ३१ हजार ९ सय ८४ रहेको छ। इटाली युरोजोनको एक महत्वपूर्ण सदस्य हो र हालैका केही वर्षदेखि उसले गहिरो राजनीतिक तथा आर्थिक अस्थिरताको सामना गर्नुपरिरहेको छ। यसको बेरोजगारी दर लगातार दुई अंक कायम रहेको छ। उसको सार्वजनिक ऋण जीडीपीको १ सय ३२ प्रतिशत रहेको छ। सकारात्मक पक्ष भनेको निर्यात तथा व्यवसायिक लगानीले अर्थतन्त्रलाई धानेको छ। इटालीको आर्थिक बृद्धिदर सन् २०१६ र २०१७ मा शून्य दशमलव ९ प्रतिशत र १ दशमलव ५ प्रतिशत रहेको थियो। सन् २०१८ र सन् २०१९ मा यो १ दशमलव २ प्रतिशतले झर्ने अनुमान गरिएको छ।

१०. क्यानडा
कुल गार्हस्थ उत्पादन ः १६ खर्ब ५० अर्ब डलर
क्रयशक्ति समानता पीपीका आधारमा जीडीपी ः १७ खर्ब ६० अर्ब डलर

सन् २०१५ मा क्यानडाले रुसको स्थानलाई विस्थापित गर्दै विश्व अर्थतन्त्रको १०औं ठूलो स्थानमा उक्लेको हो। क्यानडाको वर्तमान जीडीपी १६ खर्ब २० अर्ब रहेको छ र सन् २०१८ अन्त्य सम्ममा १७ खर्ब ९० अर्ब पुग्ने अनुमान छ भने सन् २०२३ सम्ममा २४ खर्ब ३० अर्ब डलर पुग्ने छ। क्यानडा प्रतिव्यक्ति आय ४५ हजार ७७ डलरसहित यस सूचीमा १२औं स्थानमा छ। यद्यपि क्रयशक्तिका आधारमा उसको जीडीपी १७ खर्ब ६० अर्बं डलर रहेको र यसले उसलाई १७ स्थानमा पुर्याएको छ।

क्यानडाको अर्थतन्त्रको प्रमुख आधार सेवा र औद्योगिक क्षेत्र नै हो। जसको योगदान निर्यातमा आधारित व्यापारको ६८ प्रतिशत हिस्सा रहेको छ। क्यानडाको आर्थिक वृद्धिदर सन् २०१७ मा ३ प्रतिशत थियो भने सन् २०१६ मा यो १ दशमलव ४ थियो र सन् २०१८ र २०१९ मा यो बृद्धि २ प्रतिशत हुने अनुमान गरिएको छ।

स्रोत ः अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वेबसाइट।

प्रतिक्रिया दिनुहोस्