वार्षिक २० लाख पर्यटक ः २० चुनौती



प्रकाश शर्मा ढकाल

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेको छ। यसका लागि यो वर्षलाई शुरुआत वर्ष, २०१९ लाई अभियान वर्षका रूपमा मनाउने जनाइएको छ। संख्यात्मक लक्ष्य केन्द्रित हुँदा गुणस्तरीय पर्यटक भित्याउन नसकिएका कारण पर्यटकले प्रतिदिन गर्ने खर्च सार्कको औसतभन्दा निकै कम रहेको बताइन्छ। पर्यटकीय उपजहरूको विकास र विस्तारका साथै प्रवद्र्धन र बजारीकरणका माध्यामबाट पर्यटन क्षेत्रको गुणात्मक तथा संख्यात्मक पक्षमा सुधार ल्याउनुपर्ने देखिन्छ। पर्यटकीय स्वास्थ्य र सुरक्षा, व्यावसायिक नैतिकताको कमजोर अवस्था, पर्यटकीय पूर्वाधारको अभाव, नीति तथा कार्यक्रमहरू कागजमै सीमित हुने विगतको तीतो यथार्थ, जलवायु परिवर्तनको नकारात्मक प्रभाव, बजारीकरण तथा पर्यटन प्रवद्र्धनका परम्परागत तौरतरिकाकै बीचमा २० लाख पर्यटकको लक्ष्य कम चुनौतीपूर्ण छैन। यस लेखमा २० लाख पर्यटक भित्याउने लक्ष्य प्राप्तिका लागि देखिएका प्रमुख २० चुनौतीलाई उजागर गर्ने प्रयास गरिएको छ।

१. अन्तर्राष्ट्रिय साख वृद्धि ः
खास गरी विगतको द्वन्द्व, विनाशकारी भूकम्प, आपूर्ति अवरोध, विभिन्न विद्रोही समूह, निरन्तरको बन्दहड्तालजस्ता कारण अन्तर्राष्ट्रिय जगत्मा नेपाल सुरक्षित नरहेको सन्देश फैलिएको छ। प्रवद्र्धन तथा बजारीकरणका माध्यमबाट नेपाल एक आकर्षक तथा सुरक्षित गन्तव्यका रूपमा चिनाउन जति सफल हुन्छांै त्यति नै मात्रामा पर्यटक आगमन संख्यामा वृद्धि हुन सक्छ। यसका लागि भनाइ र गराइबीचको खाडल पुर्नुपर्दछ।

२. पर्यटकीय उपजको विकास र विस्तार ः
भनिन्छ, पर्यटन सपनाको व्यापार हो। हामी खालि पदयात्रा र पर्वतारोहणलाई मात्र पर्यटनका रूपमा हेर्छौं। पर्यटकको मागमा आधारित पर्यटकीय उपजहरूको विकास र विस्तार गर्दै पर्यटकको बसाइ अवधि तथा औसत खर्चमा वृद्धि गराउने कार्य पनि उत्तिकै चुनौतीपूर्ण छ।

३. सम्पदा पुनर्निर्माण ः
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदा, पर्यटकीय पूर्वाधारहरूको पुनर्निर्माण गर्दै धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न अहिलेकै सुस्त गतिमा सहज देखिँदैन। विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूसमेत राजनीतिक खिचातानीको चपेटामा पर्नु दुखद पक्ष हो। ती संरचना पुनर्निर्माण गर्दा पर्यटकीय दृष्टिकोणबाट थप आकर्षक, सुविधासम्पन्न पूर्वाधारयुक्त बनाउनुपर्नेतर्फ ध्यान जानु जरुरी छ।

४. स्वास्थ्य तथा सुरक्षा प्रबन्ध ः
पर्यटकलाई भित्याउनु मात्र उपलब्धि होइन, आएको पर्यटकको नेपाल बसाइ अवधि अविस्मरणीय पनि हुनुपर्दछ। पर्यटन बजारीकरणका दूत भनेका नै पर्यटक हुन्। नेपाल भ्रमण गर्ने पर्यटकले अरूलाई नेपाल आउन सिफारिस गर्छ गर्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ। पर्यटकमैत्री हस्पिटालिटीको सुनिश्चितता तथा पर्यटकको सुरक्षा प्रबन्ध कमजोर भयो भने हाम्रो लक्ष्य प्राप्ति हुन सक्दैन।

५. कनेक्टिभिटी ः
पर्यटकलाई आऊ भनेर मात्र हुँदैन, आउनका लागि सहज यातायात सञ्जालको प्रबन्ध पनि हुनुपर्दछ। सम्भावित पर्यटन बजारसम्मको सहज, भरपर्दो तथा सुरक्षित हवाई सञ्जालको विकास हुन नितान्त आवश्यक छ। युरोप तथा एसियाका प्रमुख मुलुकहरूसम्म सीधा हवाई सम्पर्कको माग भइरहेको छ। नेपाल वायुसेवा निगमसँग रहेका वाइडबडी जहाज पनि थन्किएको अवस्थामा थप विमानसहित नयाँ गन्तव्यमा सेवा विस्तार गर्ने कार्य बोलीमा होइन व्यवहारमै देखिनुपर्दछ।

६. सहज अध्यागमन प्रणाली ः
नेपाल भ्रमणका लागि आउन चाहनेलाई मात्र होइन यसबारे सोच नै नबनाएका विदेशीलाई समेत नेपाल आउन उत्प्रेरित गर्ने गरी अध्यागमन प्रणालीलाई सोहीअनुसार व्यवस्थित गर्नुपर्दछ। यसका लागि प्रचारप्रसार मात्रले पुग्दैन, अनुभव गर्न सक्ने गरी पर्यटकमैत्री बनाइनुपर्दछ। एकाधबाहेकका देशका नागरिकका लागि अनएराइभल भिसा, अनलाइन प्रणालीको विकास, न्यून लागतको सुनिश्चितता पनि हुन जरुरी छ।

७. बजारीकरण ः
पर्यटक भित्याउनका लागि नेपालको पर्यटनका बारेमा पर्यटकसमक्ष जानकारी पुर्याउन सक्नुपर्दछ। नेपालको भ्रमण किन गर्ने भन्ने बारेमा पर्यटकलाई सूचित गराउनका लागि विभिन्न माध्यमको उपयोग गर्नुपर्ने हुन्छ। अहिले हामी परम्परागत तौरतरिकाकै बजारीकरणको अभ्यासमा रुमल्लिरहेका छौं। सामाजिक सञ्जाल, अलग्गै पर्यटन एपको विकास, सञ्चारका माध्यामहरू, अन्तर्राष्ट्रिय मञ्च तथा द्विपक्षीय एवं बहुपक्षीय सहकार्यको अधिक उपयोगबाट नेपाली पर्यटनको बजारीकरण गर्नु अर्को चुनौतीपूर्ण कार्य देखिन्छ।

८. पर्यटकीय विविधीकरण ः
पर्यटन भन्नेबित्तिकै पदयात्रा तथा पर्वतारोहण केन्द्रित व्यवसाय तथा पर्यटक भन्नेबित्तिकै गोरो छाला भएका पश्चिमा मुलुकका नागरिकलाई बुझ्ने साँघुरो सोचमा आमूल परिवर्तन गर्नु आवश्यक छ। पर्यटन क्षेत्र बहुआयामिक तथा गतिशील क्षेत्र पनि भएकाले यसलाई विविधीकरण गर्न जरुरी छ। स्वास्थ्य, खेलकुद, शिक्षा, कृषि, पर्यापर्यटन, ग्रामीण पर्यटन तथा नवीन साहसिक पर्यटनको विकास र विस्तार अत्यावश्यक छ।

९. आन्तरिक यातायात ः
नेपाल आउने पर्यटकले निश्चित समय लिएर आएको हुन्छ। उक्त समयलाई बढीभन्दा बढी सदुपयोग गर्न चाहन्छ। यसका लागि ऊ सकेसम्म धेरै स्थानसम्म पुग्न चाहन्छ। यातायात व्यवस्था प्रभावकारी हुन नसक्दा पर्यटकको धेरै समय यातायात साधनभित्रै बित्ने गरेको तीतो यथार्थ हामीसँग रहेको छ। आन्तरिक हवाई सेवा तथा स्थलगत यातायात प्रणाली सुरक्षित र भरपर्दो बनाउने कार्य सानो प्रयासबाट मात्र सम्भव छैन।

१०. सेवा सत्कार ः
पर्यटन सेवा क्षेत्र हो। पर्यटकको सेवा सत्कार पर्यटकको मानसपटलमा अविस्मरणीय छाप छोड्न सफल हुनुपर्दछ। कुनै लागत नै नलाग्ने मुस्कान, बोली व्यवहारमा पर्यटक लठ्ठ पर्न सक्दछन्। पर्यटकसँग झर्कने, पर्यटकलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने, पर्यटकमाथि आक्रमण गर्ने अर्थात् समग्रमा व्यावसायिक नैतिकतामा भन्दा छिट्टै डलर कमाउने होडबाट पर्यटकको संख्यामा वृद्धि हुँदैन, बरु गिरावट आउँछ। यसतर्फ संलग्न सबै संवेदनशील हुन अत्यावश्यक छ।

११. पर्यटकीय पूर्वाधार विकास ः
पर्यटकीय स्थलहरू पर्यटकमैत्री हुनु जरुरी छ। होटल तथा रेस्टुराँ, शौचालय, रिक्रिएसन सेन्टर, इन्टरनेटको उपलब्धता, सपिङ मलहरू, सूचना केन्द्र, सहायता कक्ष जस्ता पूर्वाधारको विकास गर्नु टड्कारो आवश्यकता देखिन्छ। प्रमुख पर्यटकीय स्थानहरूमा त ती सेवा सुविधाको उपलब्धता नभएको वर्तमान अवस्थामा यो कार्यको विस्तार त्यति सजिलो भने देखिँदैन।

१२. नीति तथा कानुनी पक्ष ः
पर्यटक आगमनमा वृद्धि हुनका लागि पर्यटकीय लगानीमा उत्तिकै वृद्धि हुनुपर्दछ। पर्यटन क्षेत्रमा लगानी वृद्धि नगरी अहिलेकै संरचना र पूर्वाधारले २० लाख पर्यटक धान्न सक्दैन। यसका लागि लगानीमैत्री पर्यटन नीति तथा अन्य कानुनको निर्माण आवश्यक छ। यसलाई प्राथमिकताका साथ अगाडि बढाउनु पनि चुनौतीकै रूपमा देखिन्छ।

१३. जनशक्ति विकास ः
पर्यटन क्षेत्र बहुआयामिक तथा गतिशील क्षेत्र पनि हो। पर्यटनभित्र दर्जनौं विधाहरू रहेको पाइन्छ। समयसँगै यस्ता विधाहरूको विकास र विस्तार भइरहेको छ। नेपालकोे पर्यटन क्षेत्रमा सन् २०२७ सम्म १३ लाख ५० हजारभन्दा बढी जनशक्तिको माग हुने प्रक्षेपण विश्वपर्यटन संगठनको रहेको छ। यतिका दक्ष जनशक्तिको उत्पादन र विकास अहिलेकै संरचनाबाट असम्भवप्रायः देखिन्छ। यसका लागि पर्यटन विश्वविद्यालयको स्थापना पूर्वशर्त हो।

१४. सबै मौसममा पर्यटकीय गतिविधि ः
अहिले नेपालको पर्यटन क्षेत्र मौसमी छ। सबै मौसम नेपाल भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सोहीअनुरुपमा पर्यटकीय उपजको विकास तथा सोअनुसारको सम्भाव्य पर्यटन बजारको खोजी गर्नुपर्ने देखिन्छ। मुख्य पर्यटकीय मौसमबाहेक अन्य समयमा आउने पर्यटकका लागि साहसिक पर्यटन, धार्मिक पर्यटनलगायतका विशेष प्याकेजहरूको व्यवस्था गर्न आवश्यक छ।

१५. सूचना प्रविधिको प्रयोग ः
सूचना प्रविधिबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र पर्यटन हो। सूचना प्रविधियुक्त पर्यटन क्षेत्रले उद्यमशीलताको विकास मात्र गर्दैन, यसले स्थानीय समुदायको क्षमता अभिवृद्धि र समावेशिता, स्रोत साधनको प्रभावकारी व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ। सूचना प्रविधिमा आधारित नयाँ पर्यटकीय उपजहरूको विकास गर्नु जति आवश्यक छ, त्यति नै भइरहेका पर्यटकीय उपजहरूलाई सूचना प्रविधिमैत्री बनाउनु पनि।

१६. वातावरणीय दिगोपना ः
नेपालको पर्यटन क्षेत्र वातावरणीय पक्षबाट निकै संवेदनशील छ। ग्लोबल वार्मिङको चपेटामा नेपालका हिमशृंखलाहरू परिरहेका छन्, वनस्पति तथा जीवजन्तुहरूको संख्यामा कमी आइरहेको छ। पर्यटकीय उपजको विकास, पूर्वाधार निर्माण गर्दा वातावरणीय पक्षमा ध्यान दिनुपर्दछ। विकास र वातावरणलाई एक आपसमा सन्तुलित राख्नु नेपालका लागि चुनौतीपूर्ण देखिन्छ।

हाल हवाई मार्गबाट आउने पर्यटक तथा अध्यागमन कार्यालयबाट अनुमति लिई आउने पर्यटकको तथ्यांक राख्ने गरिएको छ। भारतबाट आउने पर्यटकहरूको तथ्यांकसमेत राखी पर्यटन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानसमेतको यकिन गर्न टुरिजम सेटलाइट एकाउन्टको विकास र कार्यान्वयन गर्नु चुनौतीपूर्ण देखिन्छ।

१८. कर तथा शुल्क ः
अहिले केही स्थानीय तहले आफूखुसी पर्यटकबाट विभिन्न शीर्षकमा कर संकलन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ। एउटै रुटमा भ्रमण गर्ने पर्यटकले पनि स्थानीय तहपिच्छे कर तथा शुल्क तिर्दै जानुपर्ने अवस्थाले उनीहरूको भ्रमण लागतमा वृद्धि भइरहेको छ। यस्तो अवस्था रहिरहने हो भने पर्यटकका लागि नेपाल रोजाइको गन्तव्य बन्न सक्दैन।

१९. मौलिक संस्कृतिहरूको संरक्षण ः
बढ्दो आधुनिक जीवनशैली सँगसँगै नेपालका परम्परागत मौलिक संस्कृतिहरू मासिँदै जान थालेका छन्। यस्ता संस्कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै धार्मिक सांस्कृतिक पर्यटनका साथै अध्ययन अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको छ।

२०. सहकार्य ः
पर्यटक आकर्षित गर्न सरकारको एक्लो प्रयासबाट सम्भव हुँदैन। यसका लागि निजी क्षेत्र, गैरआवासीय नेपालीहरूको संगठन, विदेशस्थित कूटनीतिक नियोगसमेतको आपसी सहकार्यमा मात्र उल्लिखित १९ चुनौतीहरूको सामना गर्न सकिन्छ। यसका लागि सबै पक्षको भूमिका किटान गरी कार्ययोजनासहित अघि बढ्न सक्नुपर्दछ, जुन कार्य चुनौतीपूर्ण छ।

लेखक पर्यटन मन्त्रालयका उपसचिव हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्