लक्स कामना फिल्म अवार्डस्–२०७५: के भन्छन् मनोनयनमा परेकाहरू?



विधाः सर्वोत्कृष्ट सहअभिनेता

मलाई दिँदैनन् ः शिवहरि पौडेल
फिल्म ः शत्रुगते
सहअभिनेतामा मसँग सबै राम्रा कलाकार परेकाले अवार्ड कसले जित्छ भन्न गाह्रो छ। म नोमिनेसनमा पहिले–पहिले पनि परिरहेको छु तर मलाई अहिलेसम्म अवार्ड दिएको छैन र दिँदैनन् पनि। मैलेचाहिँ– अवार्ड जित्दिनँ नै तर कसले जित्छ थाहा छैन।

सबैलाई अल द बेस्ट ः
सलोन बस्नेत
फिल्म ः ए मेरो हजुर–२
मैले भन्दा त अभियसली अवार्ड मैले नै जितोस् भन्छु नि। तर, सबैजना राम्रो एक्टर हुनुहुन्छ। अहिले सबैलाई अल द बेस्ट भन्न चाहन्छु।

जुरीलाई नै छोडौं ः प्रमोद अग्रहरी
फिल्म ः संरक्षण
अवार्ड कसले पाउँछन् भन्ने निर्णय त जुरीले गर्नुहुन्छ। सम्माननीय जुरीले कसले कस्तो काम गरेको छ भनेर अभियसली हेर्नुहुन्छ। अवार्ड कसले पाउँछ भन्न गाह्रो छ। जितु नेपाल, सलोन बस्नेत जस्ता एकसेएक कलाकार नोमिनेसनमा हुनुहुन्छ। यो काम जुरीलाई नै छोडौं।

कि शिवहरि दाइ कि सलोन ः रवीन्द्र झा
फिल्म ः शेरबहादुर
पहिलो कुरा त अवार्डभन्दा पनि मलाई दर्शकको साथ चाहिन्छ। म न राम्रो छु, न त मेरो हाइट नै छ। तर पनि मलाई दर्शकले मन पराइदिनुभएको छ। यही नै मेरो लागि अवार्डसरह हो। मानिसले भगवान् देख्न सक्दैन भन्छन्, तर मैले मेरो भगवान् देखिरहेको छु, ती दर्शक हुन्। मेरो काम हेरेर गुरुहरूले नोमिनेसनमा राखिदिनुभएको छ, म उहाँहरूलाई प्रणाम गर्छु। मेरो विचारमा सहअभिनेताको अवार्ड शिवहरि पौडेल वा सलोन बस्नेतले जित्नुहुन्छ। उहाँहरूको काम राम्रो छ।

कि म कि शिवहरि दाइ ः जितु नेपाल
फिल्म ः छक्का पञ्जा–२
सहअभिनेताको मनोनयनमा पर्ने सबै अवार्डको दाबेदार हुनुहुन्छ। त्यसमा पनि अवार्डचाहिँ शिवहरि दाइ र ममा एक जनाले पाउँछौं जस्तो लाग्छ। शत्रुगतेमा शिवहरि दाइको अभिनय एकदमै राम्रो छ। छक्का पञ्जा–२ बाटै उत्कृष्ट संवादमा परेका कारण संवादको अवार्डचाहिँ हामीले नै पाउँछौं जस्तो लाग्छ। किनभने हाम्रो फिल्मको विशेषता नै डाइलग हो।

 

प्रतिक्रिया दिनुहोस्