दिनानुदिन अधोगतितर्फ मुलुक



नेपाल प्राकृतिक सुन्दरतामा उत्कृष्ट मुलुक मानिन्छ। प्रजातन्त्र, गणतन्त्र तथा लोकतन्त्र आए पनि देश सम्वृद्धिको बाटोतर्फ अग्रसर भएको छैन। दिनानुदिन अधोगतितर्फ मुलुक लाग्दै छ। दिन दुईगुना रात चौगुनाले विकास हुनुपर्नेमा नहुँदा नेपाली जनता निरास छन्। के भन्छन् ? यी दश नङ्ग्रा खियाएर खाने सर्वसाधारण नेपाली जनता। हेरौं उनीहरूको भनाइ जस्ताको तस्तै।

-सुरेश तामाङ

कृष्ण केसी, नेपालगन्ज
हाल, पाटन (विद्यार्थी)
म पाटन संयुक्त क्याम्पसको विद्यार्थी हुँ। देशको मुहार नफेर्नुको कारण भनेको असल नेतृत्व र स्थिर सरकार नभएकाले जस्तो लाग्छ। लामो समयसम्म यसकै प्रतीक्षामा देश रुमल्लिरह्यो पछिल्लो समय देशले स्थिर सरकार पाएको छ, हेर्दै जाऔं अब के हुन्छ? त्यस्तै गरी, विदेशी लगानी पनि स्वदेशमा भित्याउन आवश्यक छ। युवालाई स्वदेशमै प्रशस्त स्वरोजगार सिर्जना गर्नुपर्छ। युवालाई उत्पादनमूलक काममा लगाउँदा देशलाई फाइदा पुग्न गई देश विकासमा महत्वपूर्ण सहयोग मिल्नेमा विश्वस्त छु।

सीता थापा, नुवाकोट
सोह्रखुट्टे
म टेम्पो चालक हुँ। विगत १६ वर्षदेखि म काठमाडौंमा टेम्पो चलाउँदै आइरहेकी छु। काठमाडौंमा आएको २१ वर्ष भयो। गुजारा यसैबाट चलिरहेको छ। देशको कुरा गर्दा मेरो विचारमा देश नबन्नुको मुख्य कारण भनेको देशमा बुद्धिमानी नेताहरूको कमी हुनुजस्तो लाग्छ। बुद्धिमानी नेताहरू भएको भए देशले कोल्टे फेर्न समय नलाग्नेमा मलाई विश्वास छ। हाम्रो देशका विदेशमा पढ्न जाने र सीप सिकेर नेपाल फर्किनेमा कम छन्। प्रायः उनीहरू नेपाल फर्कनुको साटो उतै बस्छन्। अनि कसरी देश बन्छ ? देशमा पसिना बगाउनुपर्ने युवा खाडीमा पसिना बगाइरहेका छन्। खाडीमा कमाएको पैसा सही ठाउँमा लगानी भएको पनि देखिँदैन। त्यसै कारण देश नबनेको जस्तो लाग्छ।

सागर क्षत्री, ओखलढुंगा
हाल, ललितपुर
चटपट्टे बेच्दै हिँडेको १२ वर्ष बितिसक्यो। अहिले पनि बेच्दै हिँडिरहेको छु। यो कहिलेसम्म चल्ने हो मलाई पनि थाहा छैन। यसैबाट अलि–अलि गुजारा पनि चलिरहेको छ। म साधारण लेखपढ गर्ने मान्छे हुँ। सानो मान्छे। देशको बारेमा सोच्ने हैसियत पनि छैनजस्तो लाग्छ। देशको राजनीति त त्यति बुझ्दिनँ। तर, हाम्रो देश नबन्नुमा जनता नै बेबकुफ भएकाले जस्तो लाग्छ। जनताले नै सही मान्छे चुनेर पठाएको भए यस्तो हालत हुने थिएन। जनता पैसामा बिक्छन्। नेताले पैसामा जनताको भोट किन्छन्। अनि देश बिग्रिरहेको कसैले देख्दैनन्।

अम्बरबहादुर अधिकारी
धादिङ दुनु बेंसी
हाल, डल्लु
१२ वर्षदेखि बदाम, फलफूल, तरकारी बेच्दै आइरहेको छु। फाइदा त त्यत्ति हुँदैन तर गुजारा चलाउन सहयोग पुगेको छ भनौं। नाङ्लो पसलमा राख्ने हो। भाडामा कोठा लिएर राख्ने क्षमता छैन। नाङ्लोमा सडकछेउमा राखे पनि नगरको पुलिसले देखिसहँदैन। लखेटिहाल्छन्। यसो सय, दुई सय दियो भने बस्न पाइयो नत्र सामान पनि खोसेर लान्छन्। उनीहरूलाई के दया के माया। पैसा नतिर्दा धेरैपटक मेरो सामान नगर पुलिसले लगेको छ। यस्तै चलनले गर्दा कहिल्यै देश नबनेको जस्तो लाग्छ।

अमृत राम, रौतहट
हाल, काठमाडौं
म जुत्ता सिलाउँछु। यो मेरो पुख्र्यौैली काम नै हो। अहिले म ६७ वर्ष भएँ। तर पनि जुत्ता सिलाउने काम गरिरहेको छु। गुजारा त अलि–अलि चलिरहेको छ भनौं न। नेपालमा सानालाई दबाएरै राख्ने गरिएको छ। आफ्नो मान्छेलाई मात्रै माथि लैजान्छन्। यहाँ आफ्नो मात्रै हेर्ने स्वार्थी मान्छे धेरै छन्। अरूले अतिकति राम्रो काम गरे पनि खुट्टा तानिहाल्छन्। अनि कसरी देश बन्छ ?

सञ्जय लामा, धादिङ
हाल, कोटेश्वर
म ट्याक्सी चालक हुँ। विगत १२ वर्षअगाडिदेखि मैले ट्याक्सी चलाउँदै आएको छु। मुस्किल छ गुजारा धान्न त। अरू युवा नेपालमा भविष्य नदेखेपछि खाडीमा जान बाध्य छन्। सरकारले उनीहरूलाई फर्काएर कसरी नेपाल बनाउने भनेर सोच्नसमेत खोजेको छैन। उल्टै उनीहरूको पसिनामाथि खेलवाड गरिरहेका छन्। यहाँ बस्ने हामीजस्ता युवालाई समेत यहाँ टिकिरहँन दिइएको छैन। यो देशमा सिस्टम नै त्यस्तै छ। हामीजस्ता साना दुःखीलाई त यहाँ केही गरेर पनि सुख छैन। यहाँ केही होलाजस्तो लाग्दैन। उल्टै शोषण गर्न खोज्छन्। कसरी बन्छ त नेपाल ?

रत्न महर्जन
मिखबहाल पाटन
म डकर्मी काम गर्थैं योभन्दा पहिले। अहिले पाटन क्याम्पसको गेटमै सानो चिया पसल राखेको छु। भूकम्पमा परी खुट्टा बिरामी भयो। अहिले काम गर्न नसकेपछि पसल राखेको हुँ। पसलमा श्रीमतीले साथ दिन्छिन्। घर खर्च टार्न यसले अलि–अलि सहयोग पुगेको छ। महँगी छ। गर्न सक्नेलाई छ। गर्न नसक्नेलाई गाह्रो छ। सबैजना मिलेर परिश्रम गर्न सकेको भए देश बन्थ्यो। देश बन्नलाई सबै जना आ–आफ्नो ठाउँमा रहेर परिश्रम गरे देश बन्नेमा म ढुक्क छु।

मोहनकुमार सुनुवार, सर्लाही
हाल, लाजिम्पाट सरस्वतीस्थान
अहिले पर्यटकीय क्षेत्रमा ट्याक्सी चलाइरहेको छु। यो मैले भूकम्प गएपछि थालेको हँु। त्योभन्दा अघि पनि म ट्याक्सी नै चलाउँथें। साहुकै ट्याक्सी चलाएको मैले २८ वर्ष भइसकेको छ। भारततिर पनि मैले धेरै वर्ष ट्याक्सी चलाएँ। दुःख–सुख यही ट्याक्सी चलाएर धानिरहेको छु। देश नबन्नुको कारण स्वार्थी स्वभावले गर्दा जस्तो लाग्छ। सबै जना एक–अर्कालाई ठग्नतिर लाग्छन् अनि देश कसरी उँभो लाग्छ ? सम्पत्ति कसरी कमाउने र आफू मात्रै बन्ने सोचले नै देश बिग्रेको जस्तो लाग्छ। नेता राम्रो आउनुपर्छ। यहाँ त सबै राजा सबै मन्त्री सबै कमाउने, लुट्नेतिर मात्रै ध्यान छ। यस्तो पाराले कसरी देश बन्छ ?

कृष्ण नेउपाने, कालिकोट
हाल, बानेश्वर
४ वर्षदेखि म काठमाडौंमा बसिरहेको छु। उच्च शिक्षा लिनका लागि काठमाडौं आएको हुँ। बीएससी सीएस आईटी दोस्रो वर्षमा पाटन संयुक्त क्याम्पसमा अध्ययन गरिरहेको छु। राजनीतिले नै देश बनाउने हो। राजनीतिलाई यहाँ गलत व्याख्या गरिरहेका छन्। अभ्यास पनि गलततिर गइरहेको छ। जसका कारण देशले यस्तो हविगत भोगिरहेको छ। नागरिकले पनि राजनीति भनेको कमिसनखोर हो भन्ने सामान्य ज्ञान लिइसकेका छन्। राजनीतिक नेता पनि जनता र देशको विकासभन्दा पनि आफ्नो विकासमा लागिरहेका छन्। नेपालमा वैज्ञानिक शिक्षाको भाषण गर्ने नेताले विदेशमा आफ्ना छोराछोरी पढ्न पठाएका छन्। ज्वरो आए पनि उपचारका नाममा विदेशतिर जान्छन् अनि कसरी देश बन्छ ? यसरी नै राजनीति फोहोरी हुँदै गएर हो देश नबनेको। यो तपाईं हामीले तुरुन्तै सफा गर्छौं भनेर लागेर सकिँदैन धेरै वर्ष लाग्न सक्छ।

राजेश काफ्ले, सर्लाही
हाल, कोटेश्वर
काठमाडौंमा आएको १० वर्ष भयो। एमएससी फिजिक्स सकेर बसिरहेको छु। बीच–बीचमा देशमा ठूलो उथलपुथल भयो। यसबाट ठूलै आशा राखेको थिएँ। तर, त्यो त्यत्तिकै खेर गयो। देशले मुहार फेर्न सकेन। पहिलो कुरा भनेको राजनीतिले हरेक ठाउँमा ग्रस्त बनाएको छ। दोस्रो कुरा भनेको जहाँ पनि भ्रष्टाचार व्याप्त छ। त्यो नहुनुपर्ने हो। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा राजनीतिक घूसपैठ भयो। सरकारी कार्यालयमा त्यो बासना मज्जाले सुँघ्न पाइन्छ। पाइलैपिच्छेको कमिसनको खेल, भ्रष्टाचारकै कारण देशले कोल्टे फेर्न सकेको छैन। काम गर्ने खाले सक्षम राजनीतिक नेता भएर पनि कर्मचारी संयन्त्रले काम नगरिदिँदा देशको अवस्था गएगुज्रेको हालतमा पुगेको हो। हामीसँग नियम कानुन छ तर कार्यान्वयन चुस्त हुन सकेको छैन। खेल्नेहरूले यस्तो मौका छोपी खेलिरहेका छन्। हामी टुलुटुलु हेरेर बस्न बाध्य छौं।

नीलेशबहादुर तामाङ, बारा, निजगढ
हाल, पाटन
२५ वर्ष भयो ट्याक्सी चलाएको। नेताहरू धेरै बाठा भएर देशको हालत यस्तो भएको हो। आफैं खाउँ आफैं लाऔं। सोझासाझा जनतालाई झूटो आश्वासन देखाउने। ठाउँमा पुगेपछि फर्केर नआउने। नहेर्ने। नेपालका जनता नै त्यस्तै छन्। त्यस्ता नेताकै पछि लाग्ने जनता छन्। जनताले कुरा बुझ्न सकेको जस्तो मलाई लाग्दैन। गाउँ–गाउँमा विकास लानुपर्यो। नाकामा सडक पुर्याउनुपर्यो। विकास गर्ने भन्ने तर त्यो भाषणमा मात्रै सीमित भयो। काम गरेर देखाउने हो भाषण गरेर मात्रै देश बन्दैन।

बद्री रोक्का, रामेछाप
हाल, मरु, भीमसेनस्थान
भारी बोक्ने भरिया काम गर्छु। २५ वर्षदेखि यो न्युरोड एरियामा भारी बोक्ने काम गर्दै आइरहेको छु। पढेको छैन। साधारण लेखपढ गर्न सक्छु। मलाई ठीक लागिरहेको छैन। गरिब झन्–झन् गरिब हुँदै गइरहेका छन्। धनी झन्–झन् धनी। किन यस्तो भइरहेको छ ? भूकम्प गयो। ३ लाखमा घर बनाऊ भन्छ सरकार। १० लाखमा पनि घर बनेन। उल्टै ऋणमा छ। ऋण तिर्न भारी बोकिरहेको छु। विदेशीले त्यत्रो सहयोग गर्यो भन्छ कहाँ जान्छ त्यो पैसा ? यसरी जनतालाई ऋणमा डुबाएर देश बन्ला त?

नेत्रबहादुर श्रेष्ठ, रामेछाप
हाल झोंसे चोक
बच्चैदेखि भारी बोक्ने भरिया काम गरेको। ३८ वर्ष भयो होला भारी बोक्दै हिँडेको। ६ जनाको परिवार छ। घरखर्च टार्न यो कामले अलिकति भए पनि सहयोग पुगेको छ। नेपाल बन्दैबन्दैन भन्ने पनि हुँदैन। नेपाल बन्छ। नेपालमा खर्च धेरै, त्यो पनि विकासमा लगाउनुपर्ने बजेट भुँडीमा भरेर पो हैरान छ त। साँच्चै देश बनाउँछु भनेर आउनेहरूले आत्मसाथ भएर लाग्यो भने त्यो पनि सम्भव छ।

लक्ष्मी कुस्ले, सिन्धुपाल्चोक
कालिमाटी
नाङ्लोमा फलफूल, फूल बेच्दै आइरहेको छु। १४ वर्षजति भयो होला यस्तो व्यापार भएको। काठमाडौंमा बसेको २५ वर्षजति भयो होला। नेपाल बनिरहेको छ जस्तो लाग्छ। नेता नै बिग्रेर देशमा विकास हुन नसकेको हो। जनताले पनि खबरदारी गर्न सकेनन्। नेताले नै मोज गरिरहेका छन्।

चन्द्रबहादुर लामा
झोरमहाँकाल, काठमाडौं
हाल, नैकाप
म रिक्सा चालक हुँ। रिक्सा चलाएको २८ वर्ष जति भयो। देश कहिले बन्छ? कसरी बन्छ? किन बनेन? त्यो त कसरी थाहा हुन्छ र खै। त्यो त नेतालाई नै सोध्नुपर्ला। भूकम्प गयो। नेपालमा त्यत्रो सहयोग विदेशबाट आयो। तर, खै अहिलेसम्म भूकम्पले भत्केका घर–मन्दिरहरू त बनाउन सकेको छैन। यत्रो देश त कसरी बनाउन सकिन्छ र ? मलाई त विश्वासै लागिरहेको छैन।

सुरेन्द्र राई, नुवाकोट
हाल, भीमसेनस्थान काठमाडौं
हस्तकला व्यापार गर्छु। यो सामान्य नाङ्लो पसलजस्तै हो। ३२ वर्ष भयो। यस पेसामा लागेको। ७ जनाको परिवार यसले पालिरहेको छ। राजनीति र भ्रष्टाचारले गर्दा नै देश नबनेको जस्तो लाग्छ। भ्रष्टाचार नभएको भए यो देश अहिले होइन ५० वर्षअघि नै देश बन्नुपथ्र्यो। राणा, राजा, नेता सबै भ्रष्टाचारमा डुबेरै देशलाई डुबाएका हुन्। यसमा कुनै शंका छैन। लोकतान्त्रिक गणतन्त्रमा देखियो। भ्रष्टाचारै भ्रष्टाचार। यदि देश बनाउने चाहना राख्ने नेता भए ५ वर्षभित्र देशले मुहार फेर्छ।

सुनीललाल खड्गी, पाटन
देशलाई सिंगापुर बनाउँछु भन्थे। खै सिंगापुर बन्यो ? नेवारलाई छानी–छानी बस्नै नदिने शहरमा। सडकको नाममा छानी–छानी घर भत्काउने अनि देश बन्छ ? विदेशमा त्यत्रो पैसा आएको छ। घर भत्काएर पैसा दिनुपर्दैन ? विकासको नाममा नेवारलाई सुकुम्बासी बनाउने ? यसरी पनि विकास हुन्छ ? हामी अब जंगल जाने ? शरणार्थी भएर विदेशमा जाने ?

निशा पन्त, कालिमाटी
मेरो स्टेसनरी पसल छ। गुजारा चलाउन सामान्य सहयोग पुग्छ। नेपाल नबन्नुमा म नेतालाई नै दोष दिन्छु। किनकि तिनीहरू आफ्नै पेट भर्नतिर मात्रै लागे। देश र जनताका लागि कहिल्यै पनि सोचेनन्। जसले गर्दा देशले यस्तो हालत भोगिरहेको छ। कर्मचारी पनि ११ बजे अफिस पुग्छन्। घाम ताप्छन्। बस्छन्। घूस खान्छन्। यसरी देश बन्दैन नि।

प्रतिक्रिया दिनुहोस्