गुल्मीको रेसुङ्गामा पैदल मार्गका लागि आधुनिक सिडी बनाइदै



अनिल खत्री, गुल्मी ।
गुल्मीको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा आध्निक खालको पैदल मार्गको लागि सिढि निर्माण हुने भएको छ । गत वर्ष गुल्मीमा सम्पन्न तेस्रो गुल्मी महोत्सवबाट संकलित रकमबाट रेसुङ्गा क्षेत्रको पोखरीदेखि यज्ञशालासम्म पैदलमार्गको लागि आधुनिक सिढि निर्माण कार्य थालिएको हो ।

गुल्मी उद्योग बाणिज्य संघको १० लाखको लागतमा पैदल मार्गको लागि सिढि निर्माण कार्य सुरु गरिएको छ । सदरमुकाम तम्घासबाट पोखरी सम्म सवारी साधानबाट पुग्न सकिन्छ । तर पोखरीबाट यज्ञशालासम्म पुग्नको लागि पैदल मार्ग मार्फत पुग्न सकिन्छ ।

बृद्धबृद्धा र अन्य धर्माबलम्बीलाई आवतजावतमा सहज बनाउन तीन ओटा रेलिङ्गमार्फत आउने जाने छुट्टाछुट्टै पैदल मार्गको डिजाइन गरिएको बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले बताए । पैदल मार्गलाई अझै आर्कषक बनाउन र रेसुङ्गाको प्राकृतिक सुन्दरतालाई ध्यानमा राख्दै कलात्मक ढुङ्गाको सिढि निर्माण कार्य थालिएको भुसालले बताए ।

विचबिचमा ठूला–ठूला रुख आएपनि त्यसलाई नकाटेर चौपारी बनाउने निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । तत्काल १० लाख बजेटमा गर्न सकिने काम अहिले गर्ने र अन्य काम रेसुङ्गा नगरपालिका तथा केन्द्रबाट बजेट जुटाएर पुरा गर्ने योजना बाणिज्य संघको रहेको भण्डारीले बताए ।

बाटोका केहि सिढि आफ्ना पुर्खाको नाममा छोराछोरीलाई बनाउन अनुरोध गर्ने र उनीहरुको नाम सोहि सिढिमा लेख्ने पनि योजना रहेको समिति अध्यक्ष भण्डारीले जानकारी दिए । महोत्सवबाट संकलित रकमको ४० प्रतिशत अर्थात तत्कालको लागि १० लाख रुपैयाँ उपलब्ध गराएको उद्योग बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।

उद्योग बाणिज्य संघले हरेक महोत्सवमा सामाजिक उत्तरदायित्व अन्तरगत बचत रकमको ४० प्रतिशत सामजिक काममा खर्च गर्ने गर्दछ । पहिलो गुल्मी महोत्सवको रकमले तम्घास र रेसुङ्गा क्षेत्रमा सरसफाई योजना संचालन गरेको थियो ।

दोस्रो गुल्मी महोत्सवको पैसाले ब्लड बैंक, रेसुङ्गा पोखरीमा २७ धारा निर्माण र शाखाको स्तरवृद्धिमा खर्च गरिएको महासचिव भुसालले बताए । यज्ञशालासम्म सिढि निर्माण गर्न कुल दुई करोड ५० लाख खर्च हुने अनुमान उद्योग बाणिज्य संघले जनाएको छ । पैदल मार्ग निर्माण कार्यको सुरुवात रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लिराज भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्