समृद्धिको यात्रामा कर्तव्य निर्वाहको खाँचो



नेपालमा सुख र समृद्धिका लागि भनेर कैयौंपटक ठूला आन्दोलन गरिए । कतिपय आन्दोलनबाट ठूला–ठूला राजनीतिक परिवर्तन पनि भए । १०४ वर्षीय जहानिया राणाशासनको समेत अन्त्य भयो र निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात भयो । आखिर यो व्यवस्था पनि नेपालका लागि अफापसिद्ध भयो ।

त्यसपछि बहुदलीय पञ्चायती व्यवस्था अवलम्बन गरियो । आखिर जुन व्यवस्था अंगिकार गरे पनि नेपाल समृद्धशाली बन्न सकेन । अन्त्यमा जनआन्दोलनमार्फत राजसंस्था हटाएर गणतन्त्रात्मक संघीय व्यवस्था लागू गरियो । यो व्यवस्था शुरु भएको पनि एक दशक नाघिसक्यो तर मुलुकले समृद्धि हासिल गर्नु त कता हो कता, उल्टो यहाँका नागरिकमाथि ऋणको बोझ थपिइरहेको छ । यहाँका नेता धनी भइरहेको र नागरिक गरिब भइरहेको आभास भइरहेको छ ।

यहाँ दलीय स्वार्थ हाबी भएको छ । फरक विचार राख्ने पार्टीबीच ‘बापवैरी साँध्ने’ परम्पराको विकास भएको छ । त्यस्तै उच्च ओहदामा नियुक्ति गर्दा योग्यता र क्षमतालाई पर राखेर भागवण्डा गर्ने परिपाटी कायम भएको छ । दण्डहीनताले पराकाष्ठा नाघिसकेको छ । यहाँ न सुख–शान्ति छ, न त सुरक्षा नै ? उद्योग–कलकारखाना खुल्नु त कता हो कता, भएका उद्योग पनि बन्द हुँदै गइरहेका छन् । राजगारीको खोजीमा लाखौं युवायुवती विदेशिनुपरेको छ ।

सत्तासीन उपल्लो तहका नेताबीच अनेक निहुँमा गाँड कोराकोर भैरहेको छ । प्रतिपक्ष ‘सतरन्जाको प्यादा’ बनेकैले अस्थिरता सर्वत्र डुक्रिरहेको छ । अनि कसरी बन्छ नेपाल, कसरी हुन्छ मुलुकको समृद्धि ? यावत् कारणले यतिखेर यहाँको राजनीतिक प्रणालीप्रति नै वितृष्णा जाग्न थालेको आभास भएको छ ।
यहाँ ‘…गरिसक्यो अनि दैलो देख्यो’ भनेजस्तो भइरहेको छ । काठमाडौंस्थित बल्खुमा मेलम्ची खानेपानी आयोजनाले खनेको मंगालमा डुबेर एक साइकल यात्रीको मृत्यु भयो । जब उनी मंगालमा निसास्सिएर मरे, भोलिपल्टै आयोजनाले मंगालको ढक्कन बन्द ग¥यो । ‘घर खरानी भएपछि आगो निभाउन दमकल पठाउने’ यस किसिमको संस्कारबाट समृद्धिको यात्रा कसरी पूरा होला ?

विगतका प्रधानमन्त्रीमध्ये कसैले नेपाललाई स्वीट्जरल्यान्डजस्तो बनाउने त कसैले सिंगापुरजस्तो बनाउने उद्घोष गरे । तर कैयौं वर्ष बित्दा हामीले यहाँ स्वीट्जरल्यान्ड वा सिंगापुरको जस्तो अलिकति पनि अनुभूति गर्न पाएका छैनौं । प्राकृतिकरुपमै स्वर्गजस्तो देश हो यो । तर यस्तो देशका जनताले नारकीय जीवनयापन गरिरहनुपरेको छ । मुलुक यो अवस्थामा पुगिसक्दा पनि न यहाँका राजनीतिक पार्टी, न नेता, न त नागरिक नै गम्भीर हुन सकेका छन् ।

त्यसैले बाटो बिराएर अलमलिएको यो मुलुकलाई सही मार्गमा डो¥याउन मुलुक हाँक्नेहरुले मिडियाका कुरालाई गम्भीरतापूर्वक लिनै पर्छ । साथै कर्मचारी, पत्रकार, पेसाकर्मी एवम् नागरिकले समेत सरकारको मुख नताकी आफ्नो कर्तव्य निर्वाह गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्