सिटी नकआउट चरणमा



लन्डन, (एजेन्सी)
इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब लियोनसँग बराबरीमा रोकिए पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा सिटी लियोनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । लियोनको मैदानमा दुई पटकको अग्रता उल्टाएर सिटीले बराबरी खेलेको हो । बराबरीसँगै सिटी अन्तिम १६ को यात्रा तय गर्न सफल भएको छ । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा लियोनले सुरुवाती अग्रता बनायो ।
खेलको ५५ औं मिनेटमा म्यासवेल कर्नेटले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाए । तर, ६२ औं मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा कर्नेटले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई २–१ को अग्रता दिलाए । तर, त्यसको तीन मिनेट भित्र ८३ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याए ।
बराबरीसँगै समूह ‘एफ’ को सिटीले ५ खेलबाट १० अंक जोडेको छ । सिटी समूहको शीर्ष स्थानमा समेत रहेको छ । लियोन ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । लियोनको पनि नकआउट चरणको सम्भावना रहेको छ ।

बायर्न अन्तिम १६ मा

च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–१ को फराकिलो जित दर्ता गर्दै समूह विजेता हुँदै अन्तिम १६ मा पुग्यो । बायर्नको फराकिलो जितमा आर्जेन रोवेन र रोवर्ट लेवान्डोस्कीले समान २ गोल गर्दा फ्रान्क रिवेरीले एक गोल थपेका थिए । बेन्फिकाका जेड्सन फर्नान्डिजले एक गोल फर्काए । जितपछि बायर्न १३ अंकसहित समूह ‘ईं’ को विजेता बन्यो । हारसँगै बेन्फिका समूह चरणबाटै बाहिरिएको छ ।

घरेलु मैदानमा भएको खेलमा बायर्नले खेलको १३औं मिनेटमा आर्जेन रोवेनको गोलमार्फत् अग्रता बनाएको थियो । ३० औं मिनेटमा रोवेनले अर्को गोल थप्दै अग्रता दोब्बर पारेका थिए । ३६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको शुरुमै बेन्फिाकाका जेड्सन फर्नान्डिजले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएको थियो । तर, ५१औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि खेल ४–१ को अवस्थामा पु¥याए । ७६ औं मिनेटमा फ्रान्क रिवेरीको गोल थपेका थिए ।

रियल नकआउटमा
स्पेनिस क्लब रियल मेड्रिड पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । टोलीले इटालियन क्लब रोमालाई २–० गोलले हराउँदै साविक विजेता रियल नकआउट चरणमा प्रवेश गरेको हो ।

रियलको जितमा गेरेथ बेल र लुकास भास्क्वेजले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले दुवै गोल गरेको थियो । ४७ औं मिनेटमा बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा भास्क्वेजले गोल थप्दा रियलले अग्रता दोब्बर बनायो ।

रियलले यस सफलतासँगै लगातार १५ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सन् २००३÷०४ यता यस्तो सफलता हात पार्ने रियल एक्लो टोली हो ।

जितसँगै रियलले पाँच खेलबाट १२ अंक जोड्दै समुहको शिर्ष स्थान ओगटेको छ । समान खेलबाट ९ अंक जोडेको रोमा समेत अघिल्लो चरणमा प्रवेश गरेको छ ।

भ्यालेन्सिया बाहिरियो
यसैगरी अर्को स्पेनिस क्लब भ्यालेन्सियालाई हराउँदै इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । क्रोएसियाली फरवार्ड मारियो मान्डुजुकीचले निर्णायक गोल गरेपछि युभेन्ट्सले भ्यालेन्सियालाई पराजित गरेको थियो । हारसँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा योङ ब्वाइजलाई १–० ले हराउँदै युनाइटेडले नकआउट चरणमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा फेलाइनीले निर्णायक गोल गरेका थिए ।
खेलको इन्जुरी समयमा फेलाइनीले गोलका थिए । जितसंगै युनाइटेडले समूह ‘एच’ बाट ५ खेलबाट १० अंक र युभेन्ट्सले १२ अंक जोडेर अन्तिम १६ मा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्