हिमालयन शेर्पाको तेस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं
हिमालयन शेर्पा क्लबलले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणको खेलमा जित दर्ता गरेको छ ।

बुधबार एन्फा मैदानमा भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले हराएको हो । योसँगै टोली चार खेलमा तीन जित हात पार्दै १० अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लियो । मछिन्द्र भने दोस्रो हारसँगै चौथो चरणको खेल समाप्तिसम्म २ अंकमै सीमित भएको छ ।

अंकतालिकामा मनाङ मस्र्याङदी क्लब १२ अंक जोडेर शीर्ष स्थानमा कायमै छ । मनाङलाई पछ्याइरहेको त्रिभुवन आर्मी क्लबको १० अंक रहेको छ ।
शेर्पाको जितमा आशिष गुरुङले पहिलो हाफमा र टोलीका स्कोरर कर्ण लिम्बुले दोस्रो हाफमा एक–एक गोल गरेका थिए । आशिषले २१ औं मिनेटमा गोहा पेट्रिक प्रिभटको कर्नर प्रहारमा आएको बललाई हेड टच दिँदै गोलको दिशा दिएका थिए । मछिन्द्रका लागि एडिमोलाले १७ औं मिनेटमा वान भर्सेस वान गोल गर्न नसक्नु महगो साबित भएको थियो । उनले प्रहार त गरे तर शेर्पाका गोलकिपर किशोर गिरीले राम्रो बचाउ गरेका थिए ।

पहिलो हाफमा दुइ अवसर गुमाएका कर्णले खेल सकिन एक मिनेट बाँकी हुँदा गोल गर्न सफल भएका थिए । उनको यो जारी लिगमा व्यक्तिगत तेस्रो गोल समेत थियो । यसअघि बिसन गुरुङको क्रसमा निरज बस्नेतले गोल गर्न चुकेका थिए ।

गोलको वर्षात्
अर्को खेलमा दुई ललितपुरे टोली जावलाखेल युथ क्लब र फ्रेन्डस् क्लबले जारी लिगमा पहिलो पटक अंक जोडेका छन् । दुबै टोलीले सल्लाह गरे झै ३–३ गोल बराबरी खेल्दै १–१ अंक जोडेका हुन् । यसअघि लगातार तीन खेलमा हार बेहोरेको दुई टोलीले जितकै लागि खेलेका थिए । विकास लामाले २६औं मिनेटमा गोल गर्दै फ्रेन्डस्लाई अग्रतामा राखेका थिए । तर पहिलो हाफ सकिन लाग्दा अरुज सिंहले जावलाखेलका लागि बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफ शुरु भए लगतै जावलाखेलका लागि फोडे फोफानाले गोल गरेर खेलमा २–१ को अग्रतामा राखे । ५२औं मिनेटमा सुमन डंगोलले गोल गरेपछि जावलाखेलले ३–१ को अग्रतासँगै ३ अंक जोड्ने छनक देखाएको थियो । तर फ्रेन्डसको लागि त्यो नतिजा मान्य भएन । टोलीका लागि ब्राहिमनले ६८औं मिनेटमा र ८२औं मिनेटमा धीरज श्रेष्ठले गोल थपेपछि फ्रेन्डसले अंक छिन्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्