एपीएफ च्याम्पियन



काठमाडौं, (नेस)
शसस्त्र प्रहरी बल (एपीएफ) क्लब लगातार चौथो पटक प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
प्रतियोगिताको छैटो संस्करण अन्तर्गत बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दैं एपीएफले उपाधिमाथि वर्चश्व बनाएको हो । भद्रकालीस्थित सेनाको मुख्यालयमा अवस्थित मैदानमा भएको खेलको निर्धारित समय र थपिएको अतिरिक्त समयसम्म १–१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमार्फत् गरिएको थियो । जसमा एपीएफले बाजी मार्न सफल भयो ।

एपीएफका सावित्रा भण्डारी, रेनुका नगरकोटी, अनिता बस्नेत र कप्तान अनु लामाले गोल गरेका थिए । गिता रानामगरको प्रहार बाहिरिएको थियो । आर्मीतर्फ कप्तान कृष्णा खत्री र इन्दिरा राई गोल गर्न असफल भएका थिए ।
खत्रीको प्रहार एपिएफकी गोलरक्षक एन्जीला तुम्बापोले रोकिन् भने इन्दीरा राईको प्रहार बाहिरिएको थियो । निशा बोहरा र गोलरक्षक अन्जना राना मगरको प्रहार गोलमा परिणत भएको थियो ।

यसअघि खेलको ४१ औ मिनेटमा अनिता बस्नेतको गोलबाट एपीएफले अग्रता लिएको थियो । दोस्रो हाफमा फरक रणनीतिसहित मैदान प्रवेश गरेको आर्मीले ६१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एपीएफकी गोलरक्षक अन्जिला तुम्बापोको गल्तीमा विमला चौधरीले उक्त गोल गरेकी थिइन् ।

जितसँगै एपीएफले ३ लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गरे । उपविजेता नेपाली सेनाको त्रिभुवन आर्मीले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाए । सेमिफाइनल पुगेका नेपाल पुलिस क्लब र प्रदेश नम्बर २ ले समान ५०–५० हजार पुरस्कार पाए ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एपीएफकी एन्जिला तुम्बापो, उत्कृष्ट फर्वाड एपीएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह थारु भए । आर्मीकी सुनिता चौधरी उत्कृष्ट डिफेन्डर हुँदा विमला चौधरी उत्कृष्ट मिडफिल्डर घोषित भइन् । सर्वोत्कृष्ट खेलाडी भएकी आर्मीकी पुनम मगरले स्कुटर पुरस्कार पाइन् । प्रतियोगिताका विजेतालाई प्रधानसेनापति पुर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका थिए ।

मंसिर ५ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागीय क्लब, ७ प्रदेशका टोली र दुई भारतीय गरी कुल १२ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्