प्रतिपक्षको भूमिका प्रभावकारी बनाऊ



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस यति बेला पार्टीको आन्तरिक क्रियाकलापमा केन्द्रित छ । महासमिति बैठक, विधान संशोधन, राजनीतिक कार्यदिशा, आर्थिक नीति, भ्रातृ संघसंस्थाहरुको व्यवस्थापन, संगठन विस्तारजस्ता पार्टीका महत्वपूर्ण कामलाई तीव्रता दिइरहेको छ ।

गुट–उपगुटमा विभाजित कांग्रेस इतिहासमै सबैभन्दा कमजोर अवस्थामा रहेको औंल्याइरहेको बेला पार्टीलाई एकीकृत र शसक्त ढंगले अघि बढाउनुपर्ने कांग्रेस नेतृत्वलाई चुनौती थपिएको बेला राष्ट्रिय राजनीतिमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउन नसकेको आरोप पनि लागिरहेको छ । देश र जनतालाई विकास र समृद्धिको दिशामा अग्रसर गराउन सरकारको जस्तै प्रतिपक्षको भूमिकालाई पनि महत्वपूर्ण मानिन्छ ।

नेपालको राजनीतिमा लामो इतिहास बोकेको मात्र हैन, ठूला–ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरिरहेको कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त बनाउन नसकेको गुनासोले कांग्रेस अझ कमजोर बन्दै गएको भान भएको छ ।

मुलुक संघीय प्रणालीअनुसार अघि बढिरहेको छ । संघ, प्रदेश र स्थानीय तीन तहको सरकार छ । तीन तहको अधिकार र सरकार सञ्चालनसम्बन्धी अझै केही कानुनहरु निर्माण गर्न बाँकी छ । मुलुकमा दुई तिहाइको शक्तिशाली सरकार छ । शक्तिशाली सरकार हुँदा देश र जनताको विकास र ममृद्धिलाई अघि बढाउन जति सजिलो हुने आशा गरिन्छ, त्यति नै मुलुक अझ झन् अधोगतिमा भासिने सम्भावना पनि रहन्छ ।

शक्तिशाली सरकार मनोमानी ढंगले विधि र प्रक्रियागत ढंगले अघि बढेन भने देश भड्खालोमा जाकिने र जनताले फेरि दुःख अनि सास्ती व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण रहन्छ । हरेक कुरामा चनाखो रही जनचाहनाको आवाजलाई बुलन्द बनाउने प्रतिपक्षले नै हो । सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै सही मार्गमा हिँडाउने काम पनि प्रतिपक्षकै हो । यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष दल कमजोर हुनु देश र जनता दुवैको हितमा हुँदैन ।

सरकार गठन भएको ९ महिना पुगिसकेको छ । सरकारको काम कारवाहीमा धेरै प्रश्नचिह्नहरु पनि खडा भएका छन् । शान्तिसुरक्षा र सुशासन कमजोर भएको महसुस भैरहेको छ । महँगी र भ्रष्टाचार बढेको छ । समाजमा अपराध न्यूनीकरण हुन सकेको छैन ।

जनताले अनुभूत गर्ने गरी राम्रा काम हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा सरकारलाई झकझक्याउन प्रमुख प्रतिपक्ष दलले प्रभावकारी भूमिका खेल्नुपर्ने बेला कांग्रेस पार्टी आन्तरिक झमेलामा रुमल्लिरहनु र प्रतिपक्षीय भूमिकामा ध्यान नपु¥याउनु उपयुक्त हुँदैन । कांग्रेसले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाई प्रमुख प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनु देश र जनताको हितमा हुन्छ । र, बलियो प्रतिपक्ष रहेको सरकारले मात्र सही रुपमा देश र जनताको पक्षमा काम गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्