यातना शिविरझैँ विद्यालय



जाजरकोटको छेडागाड नगरपालिका–११ स्थित बाल माध्यमिक विद्यालय, झाप्राका प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले रजिस्ट्रेसन फर्म भर्न गएका कक्षा ९ का छात्र शेरबहादुर बस्नेतलाई मरणासन्न हुने गरी कुटपिट गरे । बालकको ओठ फुटेको तस्वीरसहित नाम उल्लेख गरी खबर सार्वजनिक भयो ।

बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्नेमा रजिस्ट्रेसन फर्म भर्न गएका विद्यार्थीमाथि नै मरणासन्न हुने गरी कुटपिटमा उत्रिँदा यस्ता विद्यालयहरु यातना शिविरका रुपमा विकसित भइरहेको भन्दा पनि हुन्छ ।
दुई महिनाअघि नवलपुरको बुलिङ्टार–६, अत्रौलीमा पनि प्रधानाध्यापकले विद्यार्थीलाई कानको जाली नै फुट्ने गरी कुटेका थिए । शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की (नेपाली)लाई कुटपिट गर्दा कानको जाली नै फुटेको थियो । विद्यालय समयभन्दा १५ मिनेट ढिला आएको भन्दै प्रधानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटपिट गरेको खबर सार्वजनिक भएको थियो ।

विद्यार्थीहरु शारीरिक तथा मानसिकरुपमा पीडित बन्ने गरे पनि कमै मात्र घटनाका रुपमा बाहिर आउँछन् । कडा अनुशासन पालना गराउने नाममा कतिपय विद्यालयमा मानसिक तथा शारीरिक यातना दिने कार्य अझैसम्म हट्न सकेको छैन । शिक्षकको निर्घात कुटाइबाट बेहोस भएर अस्पताल भर्ना हुनुपरेको तथा शिक्षकले मानसिक यातना दिँदा एक विद्यार्थीले आत्महत्या गरेको खबरसमेत सार्वजनिक भएको थियो । कडा अनुशासन पालना गराउने नाममा राम्रा भनिएका विद्यालयमा पनि विद्यार्थीलाई निर्घात कुट्ने क्रम जारी नै छ । विद्यार्थीलाई यातना दिने र दुव्र्यवहार गर्ने प्रवृत्ति हट्न नसक्नु विडम्बनाको विषय हो ।

विद्यालयमा शिक्षकहरुबाट अनुशासनका नाममा गरिने कुनै पनि हिंसा अमानवीय हो । कतिपय शिक्षकहरुद्वारा छात्रामाथि यौन दुव्र्यवहारका घटनासमेत भइरहेका हुन्छन् । त्यस्ता घटना विद्यार्थीको डर र शंकोचका कारण ओझेलमा पर्ने गर्दछन् । अन्यायमा परेका विद्यार्थीले असह्य भएपछि मात्र त्यस्ता घटना सार्वजनिक गर्ने गरेको अध्ययनमा पाइएको छ । विद्यालयलाई दोस्रो घर भन्ने गरिन्छ । असल संस्कार र व्यवहार सिक्न पाइने भएकाले विद्यालयलाई दोस्रो घर भनिएको हो ।

विद्यालयमा अध्यापन गराउने शिक्षकलाई गुरु–गुरुआमा भनेर सम्मान दर्शाइन्छ । विद्यार्थीलाई आफ्नै सन्तान ठानेर अध्यापन गराउने विश्वासका साथ गुरु–गुरुआमाप्रति आमाबाबुसरह नै श्रद्धा र सम्मान गर्ने गरिन्छ । असल गुरु–गुरुआमाप्रति विद्यार्थीले विद्यालय छाडेपछि पनि सधैँ स्मरण गर्छन् । आफ्नो सफलतासँगै गुरु–गुरुआमाले योगदान रहेको दृष्टान्त प्रस्तुत गरिरहन्छन् । विद्यार्थीलाई राम्रोसँग सम्झाई मायालु व्यवहार प्रदर्शन गरेर पनि अनुशासनको पाठ सिकाउन सकिन्छ । मरणासन्न हुने गरी कुटपिट गर्ने, सार्वजनिकरुपमा यातना दिने, मानसिक तनाव हुने गरी दुव्र्यवहार गर्नेजस्ता क्रियाकलापले शिक्षकहरुलाई आलोचित बनाउने काममात्र गर्छ ।

शिक्षकहरुको दुव्र्यवहार तथा यातनाकै कारण अधिकांश बालबालिका विद्यालय जानै नमान्ने, अर्को विद्यालयमा स्थानान्तरण हुनेजस्ता समस्या देखिएका छन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउन माग गर्ने शिक्षकहरुबाट विद्यार्थीमाथि अन्याय गरेर अशान्त क्रियाकलाप प्रस्तुत गर्नु दुःखद घटना हो । कतिपय विद्यालयमा प्राचार्यबाटै कुटपिट र यातना दिने कार्य भइरहेका हुन्छन् । कलिला बालबालिकालाई हिंस्रक व्यवहार देखाउँदा त्यस्ता शिक्षकबाट विद्यार्थीले के सिक्छन् भन्नेतर्फ हरेक शिक्षक सचेत हुनु जरुरी छ ।
– सुरज भण्डारी, झापा (अभिभावक)

सार्थक बन्न नसकेको अभियान
‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नारासहित सरकारले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु गरेको छ । सरकारले १६ दिने अभियानको शुभकामना दिइरहँदा ठीक चार महिनाअघि कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरियो । आजसम्म दोषी पक्राउ गर्न सकेको छैन । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नलाग्नु देशकै निम्ति निकै लाज्जाबोधको विषय हो । देशव्यापीरुपमा दबाब सृजना गर्दा पनि सरकारले अझै दोषीलाई पक्राउ गर्न सकेको छैन । अहिले देशभर विभिन्न कार्यक्रमका साथ १६ दिने अभियानमा तारे होटलमा सेमिनारदेखि सडकमा मैनवत्ती बाल्ने, निर्मला पन्तको हत्यारा पत्ता लगाउन धर्नादेखि विविध कार्यक्रम गरिएका छन् । १६ दिने कार्यक्रम देखावटी, प्रचारात्मक र संस्था चलाउने माध्यम बन्दै आएका छन् ।

नेपालमा सदियौँदेखि महिलाहरु अधिकारको लडाइँ लड्दै आएका छन् । जनसंख्याको हिसाबले पनि मुलुकको आधाभन्दा बढी हिस्सा महिलाले नै ओगटेका छन् । पछिल्ला दिनमा कानुनले महिलालाई बलियो बनाएको छ । तर व्यावहारिकरुपमा महिलामाथि अन्याय, अत्याचार र विभेदका घटनामा कमी आउन सकेको पाइँदैन । पछिल्लो समयमा अपराधका प्रकृति झनै डरलाग्दो बन्दै आएको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिंगका आधारमा भेदभाव गरिनेछैन भन्ने व्यवस्था छ । तर, कानुन र व्यवहारमा एकरुपता नहुँदा महिला अझै पीडित बन्न पुगेका छन् । कानुनी अधिकार स्थापित गरेर मात्रै महिलाको हक र अधिकारहरुको रक्षा हुँदो रहेनछ भन्ने नेपाली समाजमा देखिँदै आएको छ ।

महिलाहरु सबैभन्दा बढी पीडित घरेलु हिंसाबाटै हुने गरेका छन् । जुन हिंसा शिक्षित र आफूलाई भलाद्मी भनिनेहरुबाटै भइरहेको हुन्छ । आर्थिक र सामाजिकरुपमा कमजोर वर्ग, राजनीतिक पहुँच र प्रभाव नहुने वर्ग र शिक्षाबाट वञ्चित वर्ग बढी पीडित हुँदै आएका छन् । नेपाली समाजमा हिंसा बढाउने कारक तत्व भनेको मादकपदार्थको बढ्दो प्रयोग हो । जाँडरक्सी, जुवातास, परस्त्री सम्बन्ध, बहुविवाह, बालविवाह, सामाजिक सञ्जालको दुरुपयोग, विश्वास र आत्मविश्वासको कमीजस्ता कारण महिला हिंसा बढिरहेको पाइन्छ ।

नेपाली समाज अझै दाइजोमुक्त बन्न सकेको छैन । लोभ, मोह, अहंकार, देखासिकी र विकृत मनस्थितिका कारण हिंसा बढिरहेको छ । आर्थिक प्रलोभनका कारण आफ्नै छोरी, श्रीमती, आफन्त विदेशमा बेचबिखन भइरहेका हुन्छन् । जाँडरक्सी खाएर कुटपिट गर्नेदेखि मानव बेचबिखनजस्तो जघन्य अपराध नियन्त्रण गर्नका लागि तारे होटलमा भोज गरेर, सडकमा मैनबत्ती बालेर मात्र हुँदैन । यसले जनचेतना बढ्दैन । राज्यले महिला हिंसा नियन्त्रणका लागि दण्डहीनता अन्त्य गर्नै पर्छ । यस विषयमा राज्यको ध्यान जान जरुरी छ ।
– रमेश लामिछाने, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्