पूर्णरूपमा खुल्ला दिसामुक्त भएन



केही वर्षअघि देशभर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी नै चल्यो। विभिन्न जिल्लाका विकट बस्तीमा अझैसम्म शौचालयको सुविधा पुगेको छैन। अझै पनि विकट क्षेत्रका अधिकांशले कान्ला, खोल्सा, झाडी, जंगल र खोलालाई शौचालय बनाइरहेका छन्, जसका कारण जंगली जनावरको आक्रमणमा परेका, सर्पले डसेका, खोलाले बगाएका र शौच गर्न बाहिर निस्कँदा यौनहिंसामा परेकाजस्ता दुःखद खबरहरू सार्वजनिक हुने गरेका छन्।

देशभर निकै उत्साहका साथ खुल्ला दिशामुक्त गरियो। विडम्बना, विकट क्षेत्रका समुदाय आज पनि खुला आकाशमुनि शौच गर्दै आइरहेका छन्। प्रशस्त पानीको सुविधा र सरसफाइसम्बन्धी ज्ञान नभएकाले शौचालय बनाएकाले पनि प्रयोग गर्न सकेका छैनन्। कतिपयले शौचालय बनाएको ठाउँमा अन्नपात राख्ने गोदामघर बनाएका छन्।

नेपालले सन् २०३० सम्म सबैका लागि खानेपानी र सरसफाइको व्यवस्थापन गर्ने दिगो विकासको लक्ष्य राखेको छ, जसअनुसार सिंगो देशलाई खुला दिसामुक्त क्षेत्र घोषणाको तयारी पनि गरिँदै छ। हरेक टोलदेखि स्थानीय तहसम्म खुल्ला दिसामुक्त बनाउने अभियान चलेको दुई दशक भइसकेको छ। खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको चितवनमा सडकमा गधाले दिसा गर्दै टाँगा दौडिरहेको पाइन्छ। सभ्य मानिएकाहरू आफँ शौचालयमा दिसा गर्छन् र कुकुरलाई दिसा गर्न सडकमा दौडाउने प्रवृत्ति छ। शौचालय नहुनेहरू बाध्य भएर खोल्साखोल्सी र खोलाकिनारमा दौडनुपरेको छ।

नेपालमा २०६७ सालदेखि चर्पी बनाउने क्रम बढेको छ। सरसफाइमा मानिस सचेत पनि हुँदै गएका छन्। सोही कारण झाडापखालाको प्रकोप पनि १४ प्रतिशतबाट ८ प्रतिशतमा झरेको छ। अस्थायी चर्पी बनाएरै भए पनि ७७ जिल्लामध्ये ६० जिल्ला खुल्ला दिसामुक्त घोषित भएका छन्। खुल्ला दिसामुक्तको कार्यान्वयन भने आधाजसो पनि भएको छैन। मानवको मलमँत्र व्यवस्थापन हुँदैमा पनि खुल्ला दिसामुक्त क्षेत्र भनिहाल्न सकिँदैन। एक तथ्यांकअनुसार कुकुरको एक ग्राम दिसाबराबर २ करोड ३० लाखवटा कोलिफर्म ब्याक्टेरिया रहेको हुन्छ, जसको संक्रमणबाट मानिसलाई झाडापखाला, आन्द्राको समस्या र मिर्गौलासम्बन्धी रोग निम्त्याउँछ।

राजधानी काठमाडौँ र पोखरामा मात्रै २५ हजारको संख्यामा सामुदायिक कुकुर रहेको तथ्यांक छ। यति विघ्न कुकुरले उत्सर्जन गर्ने दिसाबाट मानवजीवनलाई जोखिममा पारिरहेको छ। हावामा पनि केही प्रतिशत ब्याक्टेरिया कुकुरकै दिसाबाट फैलिरहेको हुन्छ। कुकुर मानिसको अभिन्न अंग बनिसकेको स्थितिमा देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने हो भने कुकुरका सौखिनहरूले सडकमा दिसा गराउने प्रवृत्ति रोक्नुपर्छ।

सरकारले आगामी तीन वर्षभित्र घर–घरमा खानेपानी पु¥याउने लक्ष्य राखेको छ। ‘एक घर एक शौचालय’ अभियान सफल पार्न पनि सर्वप्रथम पानीको व्यवस्था गरिनुपर्छ। अहिले राप्ती नगरपालिकाका अधिकांश चेपाङ बस्तीमा पानीको अभावमा शौचालय हुनेहरू पनि खुला आकाशमुनि शौच गर्दै आइरहेका छन्। ८५ घरधुरी भएको श्यामराङमा विद्यालयसहित जम्मा तीनवटा घरमा मात्रै शौचालय हुनुले पनि खुल्ला दिसामुक्त क्षेत्रको पटाक्षेप गरेको छ। तसर्थ, खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतारिनुभन्दा सार्वजनिक शौचालय व्यवस्थित गर्ने, आवश्यक ठाउँमा शौचालयहरू थप्ने, गाउँबस्तीमा शौचालय बनाउन अनुदान दिने, पानी र चर्पी अभियान सञ्चालन गर्नेजस्ता गतिविधितर्फ स्थानीय निकायले ध्यान दिनु जरुरी देखिएको छ।

– सुरज वैद्य, भरतपुर।

देशप्रेम खोइ ?
बोली, प्रार्थना वा कुनै बहानामा मात्रै देशप्रेम छ तर यथार्थमा यहाँको देशप्रेम राष्ट्रघाती, देशद्रोही, दलाली र दक्षिणको छिमेकी मुलुकमुखी छ। जसले कालापानी, सुस्ता र लिपुलेकजस्ता तमाम सिमाना कब्जा गराएर हाँसेको छ, रमाएको छ। यस्तो के अमेरिका, जापान, चीन, भारत वा अन्य देशमा चल्छ, टिक्छ ? लेखक, पत्रकार, याने कि मेरो देश प्राणभन्दा प्यारो छ भन्नेहरूले पनि लाज मान्नुपर्ने हो। तर उनीहरू पनि बोल्न र लेख्नसम्मको हिम्मत गर्दैनन्, गरेका छैनन्। देशको सुरक्षा र सुशासन अनि स्वाधीन शासन कायम नभएसम्म हामी कसरी र कुन आधारमा देशप्रेमी हुन सक्छौं ? भन्ने प्रश्नले घेरा हालेको खै ?

देश अलपत्रै छ। मातृभँमिको बिचल्ली छ। खुल्ला सिमानाले देश लुटिएको छ। पराधीन शासन चलेकै छ, चलाइएकै छ। काठमाडौंको साँचो दिल्लीमा छ भन्दै पँवप्रम बाबुराम भट्टराईले शासन गर्दा यहाँका देशप्रेमीको अझै चेत खुलेन भने कहिले खुल्ला ? अतः खुलेआम निडर भएर, डटेर यस्तो संसारमै नभएको गोप्य देशम्रेम नचलाउन आग्रह गर्छु र गर्दै आएको छु। तर म एक्लो परेको छु। शायद म यो देशप्रेमी होइन कि ? अमेरिका, चीनलाई सोधौं ?
– गणेश कार्की, हाल: शंखरापुर–७, काठमाडौं।

एलपी ग्यासको विकल्पमा अब विद्युत्
छिमेकी राष्ट्र भारतले अघोषित नाकाबन्दी लगाउँदा नेपालमा ग्यासको हाहाकार मच्चिएको थियो। एलपी ग्यासका लागि नेपालले पँर्णरूपमा भारतसँग निर्भर हुनुपर्दा बेलाबखत ग्यासको अभाव बजारमा देखिने गर्दछ। ग्यासको निर्यातका लागि अर्बौँ बढी रकम नेपालबाट बाहिरिने गर्दछ। तर ग्यासको विकल्पका रूपमा विद्युतीय उपकरणहरू प्रयोगमा ल्याएर एलपी ग्यासको आयातमा कमी ल्याउन सकिन्छ। ऊर्जामा देशलाई आत्मनिर्भर गराउन सके नेपालको समृद्धि ढिलो छैन। त्यसैले, विद्युतीय उपकरणहरूको प्रयोगलाई प्राथमिकतामा राखेर उपभोक्ताहरूले एलपी ग्यासको विकल्प रोज्न जरुरी छ।

नेपाल विद्युत् प्राधिकरणले नै बिजुलीको कुनै अभाव नभएकाले इन्डक्सनको प्रयोग गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। विगतमा जस्तो लोडसेडिङको समस्या नहुँदा विद्युतीय उपकरणको प्रयोग सजिलो र सस्तो हुन्छ। तसर्थ, उपभोक्ताहरूले एलपी ग्यासको विकल्पमा इन्डक्सनको प्रयोगका बारेमा सोच्न जरुरी छ। नेपाल विद्युत् प्राधिकरणले बिजुलीबाट चल्ने चुल्होतर्फ उपभोक्ताहरूलाई सोच्न आग्रह गरेको छ।

विद्युतीय उपकरणको प्रयोगमा वृद्धि ल्याउन आधारहरू बनिसकेकोले उपभोक्ताहरूले विद्युतीय उपकरणहरूको प्रयोग गरी ग्यास विस्थापन गर्नेतर्फ सोच्न आवश्यक छ। नेपालको सन्दर्भमा ग्यासको उचित विकल्प बिजुलीबाट चल्ने उपकरणहरू भएकाले राज्यले पनि विभिन्न अभियानहरू ल्याएर यसतर्फ उपभोक्ताहरूलाई आकर्षित गर्नुपर्ने देखिन्छ। प्राधिकरण र कुलमानजीको यस विषयमा ध्यान जान जरुरी छ।
– अमृता कार्की, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्