मनाङको नतिजा शतप्रतिशत



नेपाल समाचारपत्र
काठमाडौ
डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत लगातार चौथो जित हात पारेको छ ।

मंगलबारको खेलमा विभागिय टोली नेपाल एपीएफ क्लबलाई २–१ ले हराएपछि मनाङको जारी लिगमा सत प्रतिशत नतिजा कायमै रह्यो । यो जितसँगै मनाङ १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब भन्दा टोली २ अंकले अगाडि छ ।

मनाङको जितमा अन्जन विष्ट र विदेशी खेलाडी आडेलाजा सोमिडेले गोल गरेका थिए । सोमिडेले १९औं मिनेटमा शसक्त प्रहार गर्दै गोल गरेका थिए । उनको प्रहारलाई रोक्न एपीएफका गोलकिपर राजु योगीले सक्षम भएनन् । जबकी बल उनकै सामुन्ने आएर पनि योगीले रोक्न सकेनन् । यसको ६ मिनेटपछि एपीएफले बराबरी गर्ने मौका गुमाएको थियो । नवीन लामाले बायाँ विंगबाट गरेको क्रसमा युवराज खड्काले क्लोज रेन्जमा पाएको बललाई धेरै माथि प्रहार गरेका थिए ।

तर यसको दुई मिनेटपछि एपीएफले प्राप्त पेनाल्टी किक गोलमा परिणत गर्दै खेल १–१ बराबरी गर्न सफल भयो । नवीनको फ्रिकिक प्रहार भएको बलले मनाङका डिफेन्डर मोहम्मद आसिफको हातमा लागेको थियो । पेनाल्टी प्रहार नवीनले गोल गरेका थिए । पहिलो हाफ सकिन लाग्दा मनाङले फेरि गोल गर्दै खेलमा २–१ को अग्रता लिएको थियो ।

मनाङले पेनाल्टी गोलमार्फत् नै खेलमा अग्रता बनाएको थियो । कमल श्रेष्ठले गरेको क्रस एपीएफका सन्तोष कटुवालको हातमा लागेपछि मनाङलाई पेनाल्टी हान्ने मौका प्राप्त भएको थियो । जसलाई अन्जनले कुनै गल्ती नगरी गोल गरेका थिए । तर दोस्रो हाफमा गोल हुन नसकेपछि मनाङले जारी लिगमा लगातार चौथो जित हासिल गरेको छ । यो नतिजापछि एपीएफको ४ खेलमा ४ अंक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्