फास्ट ट्रयाककै सडकमा प्राग ऐतिहासिक बस्ती



सुरेश तामाङ, ललितपुर ।
निर्माणाधिन काठमाडौं तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्काे विरोधमा उत्रिरहेको खोकना फेरी चर्चामा छ । फास्ट ट्रयाककै निर्माणाधिन सडक खोकनाको कुदेश हुँदै जान्छ । कुदेशमै सडकको रेखाङकन गरिसकेको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्विक सम्पदा भेट्टिएपछि संघीय संसद समितिमा समेत यस विषयले प्रवेश पाएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विषयले प्रवेश पाएको हो ।समितिले यस विषयमा स्थानीयहरुबाट गुनासो सुन्दै छलफल आगाडि बढाएको छ ।समितिको बैठकमा ललितपुर महानगरपालिका २१, खोकना र २२ नम्बर बडा, बुंगमतीका वडाका जनप्रतिनिधि, स्थानीय पीडितहरुको गुनासो सुनिएको थियो ।

जहाँ मुआब्जा लगायत धेरै कुरामा कुरा नमिलेकोले गरिरहेको काम तत्काल रोकेर समस्याको समाधान तिर लाग्नु पर्ने आवाज उठेको थियो ।
२१ नम्बर वडाका वडाअध्यक्ष रविन्द्र महर्जनले मुआव्जा वितरणमा कुरा नमिलिरहेको बताउनुभयो । समितिमा उहाँले प्रश्न गर्नुभयो–‘मुआब्जाको समस्या त ज्युँका त्युँ छन् तर भर्खरै खोकना कै कुदेशमा १३ सय वर्ष पुराना पुरातात्विक बस्तुहरु भट्टिएको छ । यसलाई संरक्षण गर्ने कि डोजर चलाएर सडक बनाउने हो ?’

समितिमा बोल्ने अधिकांश स्थानीयले विवादित रहेको स्थानमा तत्काल काम रोकेर समस्याको समाधानतिर लाग्नु पर्नेमा जोड दिए ।

समितिमा सोही क्षेत्रकी सांसद पम्फा भुसालले मुअब्जा विवाद, जेरो प्वाइन्टको ठोेस निर्णय अझै नभएको र सडकमै पुरातात्विक बस्तुहरु भेट्टिएकोले खोकनामा फास्ट ट्रयाक सम्भव नभएको बताउनुभयो ।

‘खोकनामा फास्ट ट्रयाक सम्भव नै छैन । विवाद कायमै छ । जेरो प्वाईन्टको टुंगो अझै लागिसकेको छैन । मुआब्जा विवाद त्यत्तिकै छ ।’, उहाँले समिति बैठकमा भन्नुभयो–‘अर्काे कुरा पुरातात्विक बस्तुहरु भेट्टिएकोले त्यहाँ सडक सम्भव छैन ।’

स्थानीयहरुले फास्ट ट्रयाकको लागि रेखाङकन गरिएको स्थानमा पुरातात्विक सम्पदाहरु रहेको र त्यसलाई उत्खनन् गर्न पुरातात्व विभागलाई बारबार ताकेता गरेपनि वेवास्ता गरिएको स्थानीयले जनाएको छ ।

स्थानीयले नेपाल सँस्कृति पुनजागरण अभियानको सकृयतामा पुरातत्वविद् छत्रबहादुर कायस्थको अगुवाईमा केहीदिन अघि कुदेशमा उत्खनन् गरिएको अभियानका एक सदस्य अशोक महर्जनले बताउनुभयो ।

विभागको अनुमतिमा उत्खनन गरिएको उहाँको भनाई रहेको छ । उत्खनन गर्दा पुराताात्विक वस्तुहरू भेटिएको उहाँको दाबी छ । त्यहाँ स्थानीयले पुरातात्विक क्षेत्र रहेको र त्यस क्षेत्रमा फास्ट ट्रयाक बनाउँदा उक्त क्षेत्र मासिने भन्दै खोकनावासीलेसडक नखन्न माग गर्दैआएका थिए । तर, विभागले यो क्षेत्रमा पुरातात्विक वस्तु नभएको दाबी गर्दै नेपाली सेनालाई सिफारिस पठाएको थियो ।

कुदेशमा रहेको गुरुपौचैत्यको ३५ मिटर दक्षिणतिर खन्दा प्राचिन इनार भेटिएको छ । सानो आकारको इनार मल्लकालभन्दा अगाडिको भएको दाबी पुरातत्वविद् कायस्थको दाबी छ ।

उत्खनन्को क्रममा चैत्यको उत्तरतिर मूर्तिहरु, इँटा छापेको बाटो, घरका जगहरु, प्राचीन माटाका भाँडाकुडाँ, डलुचा र देवालगायतका प्राचीन बत्ती भेटिएका छन् । हाल ती सम्पूण बस्तुहरु सुरक्षित गरी राखिएको अभियानका सदस्य महर्जनले बताउनुभयो ।

‘खन्दा भेटिएका पुराना वस्तु सुरक्षित राखेका छौं। यी वस्तु कति प्राचीन हुन् भनेर विस्तृत अध्ययन गर्ने व्यवस्था गरिराखेका छौँ ।’, उहाँले बतउानुभयो ।
खोकनाको कुदेशमा करिब डेढ फिट जति उत्खनन गरेको बेला ती सामानहरु भेटिएको स्थानीयले बताएका छन्। फास्ट ट्रयाक लाने तयारी भएको क्षेत्रमा खन्ने क्रममा माटाका, ढुंगाका बिभिन्न सामग्री फेला परेका हुन।

खनिएका स्थानमा उत्खनन गरेर हेर्ने क्रममा पुरानो बस्ति नै भेटिन सक्ने स्थानियको अनुमान छ। पुरातत्वविद् कायस्थले यस ठाँउमा एक हजार वर्ष अघि देखि नै बस्ति हुनु पर्ने अनुमान गर्नुभयो ।

यस स्थानमा पुरातत्व विभागले घाँसे मैदान बाहेक पुरातात्विक सम्पदा कुनै नरहेको भन्दै सेनालाई बाटो खन्न यस अघि नै अनुमति दिईसकेको छ । जसले स्थानीय आक्रोशित समेत बनिरहेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवारले देखिएको पुरातात्विक बस्तुलाई नछुने गरी र खन्दै जाँदा भेट्टिएका पुरातात्विक वस्तुलाई जीर्णाेदार र संरक्षण गर्ने हिसावले फास्ट ट्रयाक खन्न सिफारिस गरिएको बताउनुभयो ।
‘हामीले स्थलगत अवलोकन गरेका हौँ, खासै उत्खनन् गर्नु पर्ने औचित्य देखिएनौँ ।’, उहाँले भन्नुभयो–‘साँस्कृतिक पुरातात्विक सम्पदा जोगाउनु पर्छ त्यसमा शंकै छैन ।’

प्राचिन स्मारक संरक्षण ऐन, २०१३ ले पुरातात्विक वस्तु भन्नाले प्राग ऐतिहासिक कालमा मानिसले निर्माण गरी उपभोग गरेको बस्तु वा कुनै पनि देशको इतिहास बोध गराउने बस्तुहरु ढुंगा, काठ, माटो, हस्तीहँड, धातु लगायतलाई भनिएको छ ।

ऐनको दफा ३ मा यस्ता वस्तुको स्वामित्व, संरक्षण, मर्मत तथा जीर्णोद्वारको जिम्मा पुरातत्व विभागको रहने स्पष्ट खुलाईएको छ ।

सोही ऐनको दफा १२ग मा कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरुप पारेमा, अनधिकृत रुपमा हटाएमा वा कुनै किसिमले हानीनोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान राखिएको छ ।

सैनिक प्रवक्ता गोकुल भण्डारीले आफूहरु अर्डर अनुसार काम गरिरहेको बताउनुभयो । ‘पुरातात्विक बस्तुहरु भेट्टिएको भन्ने छ । हामी निर्देशन पर्खिने हो। जस्तो निर्देशन आउँछ त्यसकै पक्षमा हामी हिँड्ने हो ।’, उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्