पार्टीको विरासत थाम्ने कसरत



-श्रीमन नारायण
नेपाली कांग्रेस र कोइराला परिवारलाई एक–अर्काको पर्याय मानिन्छ । एकलाई अर्काको पूरक पनि भन्न सकिन्छ । नेपाली कांग्रेसको झन्डै सात दशक लामो इतिहासमा ५० वर्ष जति यस पार्टीको नेतृत्व कोइराला परिवारले नै गरेको हो । पूर्वप्रधानमन्त्री एवं सभापति सुशील काइरालाको देहावसानपश्चात् नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । पार्टीका सभापति शेरबहादुर देउवा पार्टीभित्र बलियो स्थितिमा छन् । उनको नेतृत्वलाई विस्थापित गर्नु कठिन काम हो । गत साता कोइराला परिवारका तीन दिग्गज नेताले मिलेर आफूहरुबीच मनोमालिन्यता नरहेको तथा एकजुट कोइराला परिवार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्व लिन सक्षम एवं तत्पर रहेको संकेत दिएका छन् । तर नेपाली कांग्रेसभित्र पनि अब आँखा चिम्लेर काइराला परिवारलाई नै नेतृत्वको साँचो हस्तान्तरण हुन दिने पक्षमा व्यापक सहमति रहेको देखिँदैन ।

आफ्नो जीवनको उत्तरार्धमा पुगिसकेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि एकपटकका लागि भए पनि पार्टीको सभापति बन्ने तथा देशको प्रधानमन्त्री बन्ने आन्तरिक चाहनालाई उपेक्षा गर्नु उचित हुनेछैन । त्यसै गरी नेपाली कांग्रेसको स्थापनादेखि लिएर यस पार्टीलाई शासन सत्ताको महलसम्म पु¥याउनमा अथक संघर्ष एवं त्याग गरेका स्व. गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहको नेतृत्वप्रतिको दाबेदारीलाई पनि स्वाभाविक र सहज नै मान्नुपर्दछ । नेपाली कांग्रेसको नेतृत्व लिने सवालमा काइराला परिवारबीच आन्तरिक एकता हुनु राम्रो कुरा हो तर पार्टी सभापत्ति शेरबहादुर देउवा हाल पार्टीभित्र बलियो छन् । कोइराला परिवार नेपाली कांग्रेसको निम्ति तागत पनि हो र कमजोरी पनि । तागत यस अर्थमा कि स्व. बी.पी. काइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको त्याग, समर्पण र परिश्रमका कारण नै देशभरि यसको बलियो संगठन बन्न सकेको हो । कमजोरी यस अर्थमा कि कोइराला परिवारभित्रको अन्तरकलहले अथवा कुनै एउटा नेताको अलोकप्रिय कामले पनि पूरै पार्टी बदनाम हुन पुग्दछ ।

कोइराला परिवारभित्रको अन्तरकलह पनि कम घातक हुँदैन । वि.सं. २००८–०९ तिर मातृकाप्रसाद कोइराला जनकपुर महाधिवेशनबाट पार्टी सभापतिको पदमा निर्वाचित भएका थिए । उनी प्रधानमन्त्रीको पदमा नियुक्त भएपछि कोइराला दाजु–भाइबीचको विवाद उत्कर्षमा पुगेको थियो । दाजु–भाइबीचको विवादलाई समाधान गर्न कोलकातामा भारतका लोकप्रिय नेता जयप्रकाश नारायणले मध्यस्थता गर्नुपरेको थियो । जयप्रकाश नारायणको समुपस्थितिमा मातृकाप्रसाद कोइरालाले पार्टी सभापतिको पद परित्याग गर्नुपर्ने तथा पार्टीको गतिविधिमा कुनै पनि किसिमको हस्तक्षेप नगर्ने कुरा उल्लेख थियो । त्यसै गरी बी.पी. कोइराला पनि सरकारको सञ्चालनमा कुनै पनि किसिमको हस्तक्षेप नगर्ने र प्रधानमन्त्रीलाई पूर्णरुपेण सघाउने सहमति भएको थियो तर उपरोक्त सहमति भएको दुई–चार महिनामा नै बी.पी. कोइरालाले मन्त्रिमण्डलमा सहभागी आफ्ना पक्षका गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, सुवर्ण शमशेर र भद्रकाली मिश्रहरुलाई मन्त्रिमण्डलबाट राजीनामा दिन लगाएका थिए । फलस्वरुप तत्कालीन राजा त्रिभुवनले नेपाली कांग्रेसको एकमना सरकारलाई विघटित गरेका थिए । यसरी सत्ता र कुर्सीको लडाइँको इतिहास पनि कोइराला परिवारमा पुरानो नै छ । हाल नेपाली कांग्रेसभित्र नेतृत्वमा देखिएका डा. सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला कोइराला परिवारका तीनै नेता क्रमशः स्व. बी.पी. कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका नै राजनीतिक उत्तराधिकारीहरु हुन् ।

नेपाली कांग्रेसले आफूलाई सत्ताको स्वाभाविक हकदार ठानेर नै अहिलेसम्म राजनीति गरेको छ । अहिले पनि उसको मानसपटलमा यही प्रवृत्ति कायम छ । वर्तमान अवस्थामा यो पार्टीले न त संघीय सरकारको नेतृत्व गरिरहेको छ, न त कुनै पनि प्रादेशिक सरकारको नै नेतृत्व गरिरहेको छ । विगत एक वर्षमा पार्टीले सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न सकेन ।

वर्तमान अवस्थामा मोरङ र सुनसरीमा पनि कोइराला परिवारको लोकप्रियतामा ठूलो ह्रास आएको छ । नेकपा एमालेको बलियो संगठन र नेकपा माओवादीको सशस्त्र संघर्षका कारण समाजको तल्लो वर्गमा आएको राजनीतिक चेतना तथा मधेस आन्दोलनका कारण आममधेसी जनतामा आएको अधिकार प्राप्तिको भोक एवं विकसित इष्र्या–द्वेषका कारण कोइराला परिवारप्रति मोरङ र सुनसरीका जनता पनि अब त्यो आदर, सम्मान एवं निष्ठाको भाव रहेको देखिँदैन । गिरिजाप्रसाद कोइरालाकै जीवनकालमा सुनसरीबाट सुजाता कोइरालाको पराजय हुनुले धेरै कुराको संकेत दिइसकेको छ । आमोद उपाध्याय र शेखर कोइरालाको लोकप्रियता तिनको व्यक्तित्व व्यवहार एवं निरन्तरको जनसम्पर्क अनि सामाजिक कार्यहरुको कारणले सफल नेता साबित भएका छन् । यसमा पारिवारिक विरासतको योगदान छैन । अब कोइराला परिवारको नाममा मात्रै नेपाली कांग्रेसलाई चुनावी सफलता दिलाउन सकिँदैन । राजतन्त्रको लामो पृष्ठभूमि बोकेको नेपालमा गणतन्त्रको स्थापना भइसकेपछि अब कुनै एउटा परिवारका अथवा कुनै खास परिवारको नाममा मत प्राप्त गरेर चुनाव जित्न सकिँदैन । जब कोइराला परिवारका व्यक्ति स्वयं पनि मोरङ, सुनसरी र सिन्धुलीमा चुनाव जित्न सक्ने अवस्थामा छैनन् भने कोइराला परिवारको नाममा मात्रै अन्य प्रत्यासीले कसरी चुनावी सफलता पाउन सक्छ ?

गतवर्ष सम्पन्न प्रतिनिधिसभा र प्रादेशिक सभाको निर्वाचनमा नेपाली कांग्रेसले ठूलो पराजय भोग्नुप¥यो । चुनावी इतिहासमा पार्टीले यति ठूलो पराजय भोग्नुपरेको थिएन । तर पनि पार्टीले आजसम्म पराजयको सूक्ष्म विश्लेषण एवं समीक्षा गर्नु आवश्यक ठानेन । नेपाली कांग्रेसका नेताहरुमा रहेको यस अहंकारको अन्त्य हुनु पनि आवश्यक छ कि देशको सबैभन्दा ठूलो पार्टी यो नै हो र पहिलो स्थानमा रहिरहनु उसको मात्रै अधिकार हो । यस अति विश्वासकै कारण पार्टीले अप्रत्याशित पराजय पनि भोग्नुप¥यो । नेपाली कांग्रेसले आफूलाई सत्ताको स्वाभाविक हकदार ठानेर नै अहिलेसम्म राजनीति गरेको छ । अहिले पनि उसको मानसपटलमा यही प्रवृत्ति कायम छ । वर्तमान अवस्थामा यो पार्टीले न त संघीय सरकारको नेतृत्व गरिरहेको छ, न त कुनै पनि प्रादेशिक सरकारको नै नेतृत्व गरिरहेको छ । विगत एक वर्षमा पार्टीले सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न सकेन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपश्चात् बनेको नेपाल कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न यस पार्टीले चार गुणा बढी परिश्रम गर्नुपर्नेछ, तर अहिलेसम्मको अवस्थालाई हेर्दा पार्टी टेबुल र कोठे राजनीतिमा सीमित देखिन्छ ।

जनआन्दोलन २ को सफलतापश्चात् देशका प्रमुख तीनवटै राजनीतिक दलको सिद्धान्त, व्यवहार एवं कार्यक्रममा कुनै तात्विक भिन्नता नै देखिएन । तीनवटै दलले आपसी सहमतिमा शासन सत्ताको सञ्चालन गर्दै आएका हुन् । संविधानको निर्माण पनि तीनवटै दलले मिलेर नै जारी गरेका थिए । गतवर्षको निर्वाचनमा सिटको बाँडफाँडमा सहमति भइदिएको भए नेपाली कांग्रेस र माओवादी मिलेर पनि चुनाव लड्न सक्थ्यो । तसर्थ देशका प्रमुख राजनीतिक दलहरुको राजनीतिक सिद्धान्तमा अब कुनै तात्विक भिन्नता रहेन । आफैंले जारी गरेको संविधानको कार्यान्वयनमा अब पार्टी एकजुट भएर लाग्नुको विकल्प छैन । पार्टीका केही जिम्मेवार नेताहरुले कहिले धर्मसापेक्षताको कुरा गर्नु त कहिले देशमा राजतन्त्र फर्किने टिप्पणी गर्नु दुर्भाग्यपूर्ण हो । अहिले पार्टीले समाजका गरिब, कमजोर एवं उपेक्षित वर्गहरुको उत्थानको निम्ति ठोस कार्यक्रमसहित जनतामा अगाडि आउनु आवश्यक छ । बढ्दो बेरोजगारी एवं महँगीलाई रोक्न तथा देशको अर्थतन्त्रलाई अग्रगति प्रदान गर्न प्रस्ट नीति एवं योजनासहित पार्टी नेपाली जनतामाझ आए मात्रै यसले पुनर्जीवन पाउन सक्छ ।

समयको माग र चाहनाअनुसार पार्टीको घोषणापत्रमा प्रस्ट दृष्टिकोण, राष्ट्र विकासप्रति ठोस प्रतिबद्धताका साथै जनताको सुख–दुःखमा निरन्तर साथ दिने काम नभएसम्म जनताको समर्थन एवं विश्वास जित्न सकिँदैन । पार्टीका दिवंगत नेताहरुको नाम, योगदान एवं त्यागको भरमा मात्रै चुनावी सफलता अब पाउन सकिँदैन । नेपाली कांग्रेस देशको एउटा पुरानो एवं जिम्मेवार राजनीतिक दल हो तथा देश र जनताप्रति यसको जवाफदेही पनि छ । कोइराला परिवारको आन्तरिक एकताले नेपाली कांग्रेसलाई खासै बलियो बनाउने त छैन तर यस एकजुटताले आगामी महाधिवेशनमा पार्टीका वर्तमान सभापतिलाई कडा चुनौती अवश्य पनि दिन सक्नेछ तर अब नेपाली कांग्रेसभित्र नयाँ–नयाँ गुट बन्ने सम्भावनालाई सोझै खारेज गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्