कहिलेसम्म यात्रा काल बन्ने ?



दैनिक सडक दुर्घटना बढ्दो छ । सरकारले नियम बनाउँछ, लागू गर्दैन । फलस्वरूप एउटै प्रकृतिका घटना दोहोरिइरहेका छन् । जस्तासुकै घटना भए पनि र त्यस्ता घटना दोहोरिए पनि राज्य कानमा तेल हालेर बसेको छ । सरकार आफैँले बनाएको नियम कार्यान्वयन गर्दैन । नियम पालना गर्न सरकारले दण्डको व्यवस्था गरेको छ तर सरकारका निकाय पङ्गु छन् । कारण, दुर्घटनाको संख्या घटेको छैन । गाँठो यही छ । सडकको अवस्था र सवारीको किसिमअनुसार नियम फरक–फरक छन् ।

यात्रुवाहक सवारीको जिम्मेवारी अन्यभन्दा विशेष छ । किनकि, धेरै व्यक्तिको जिन्दगी एउटै चालकको हातमा हुन्छ । एउटा चालकको लापरबाहीले कैयौँ नागरिकले अनाहकमा जिन्दगी गुमाउन पुग्छन् । सरकार यस्तो विषयमा गम्भीर बनेको पाइँदैन । चालकको सनकको भरमा कसैले ज्यान गुमाउनुपर्ने विडम्बना अहिले गम्भीर विषय हो ।

सरकारले सार्वजनिक सवारीको नियमनमा कडाइ गर्नुपर्छ । सरकारको दायित्व सबै प्रकारका सवारीलाई नियममा बाँध्नु हो । अन्य सवारीभन्दा सार्वजनिक यातायातमा राज्य बढी गम्भीर बन्नुपर्छ । किनकि सार्वजनिक सवारीमा धेरैको जीवन जोडिएको हुन्छ । चाडपर्वको समयमा समस्या झनै जटिल छ । घर जान मानिसहरू सार्वजनिक सवारीमा तँछाड–मछाड गर्छन् । यही बेला व्यवसायी धेरैभन्दा धेरै यात्रु ओसार्न खोज्छन् । यात्रु पनि ठाउँ मिलेसम्म कोचिएर यात्रा गर्छन् । चालकले यही बेला लापरबाही गर्न खोज्छ । गन्तव्यमा छिटो पुग्ने, धेरैभन्दा धेरै यात्रु ओसार्ने मात्र चालकले उद्देश्य राखेका हुन्छन् । अधिकांश सार्वजनिक यातायातका चालक जिम्मेवार देखिँदैनन् । उनीहरूमा कर्तव्यबोध पाइँदैन । अहिले नेपालका सडकमा देखिएको मुख्य समस्या यही हो ।

सरकारले हर्न बजाउन निषेध ग¥यो तर सडकभरि हर्नको आवाजले दिक्क लाग्दो छ । झुन्डिएर यात्रा गर्न नपाउने नियम बनायो । सवै सार्वजनिक सवारीमा यात्रु झुन्डिएर यात्रा गरिरहेका छन् । जथाभावी पार्किङ गर्न नपाइने भन्यो तर सडकमा असरल्ल सवारीले भद्रगोल ट्राफिक अवस्था छ । सरकारले आफूले लागू गरेका नियमको कार्यान्वयन गर्ने हो भने एकातिर राजस्व उठतीमा वृद्धि हुन्छ । अर्कोतिर, सवारी दुर्घटना कम र ट्राफिक व्यवस्थापन चुस्त हुँदै जान्छ । निषेध गरेको हर्न बजाउने प्रवृत्ति मात्र रोक्न सक्ने हो भने दैनिक लाखौँ राजस्व उठ्छ । यसले हाम्रा सडक अलि सभ्य देखिनेछन् । अहिले हर्नको आवाजले छाडा र निम्न दर्जाको समाजजस्तो चित्रण भइरहेछ ।

ठूला शहरमा ट्राफिक व्यवस्थापन निकै भद्रगोल छ । सार्वजनिक सवारीमा खलासी प्रणाली तुरुन्त बन्द गर्नुपर्छ । यात्रुलाई झम्टेर ‘यता आऊ’ भन्ने यस्तो खलासी पवृत्ति असभ्य समाजको सूचक हो । कुनै पनि यात्रुले आफू कहाँ जाने हो, उसलाई गन्तव्य थाहा हुन्छ । कुन सवारीमा जाने हो, त्यो पनि थाहा हुन्छ । थाहा नहुने यात्रुका लागि हरेक सवारी स्टेसनमा सोधपुछ कक्ष राखिदिए पुग्छ । तर सवारीका खलासीको दिक्दार लाग्दो व्यवहार अहिले नेपालको सार्वजनिक सवारीको अर्को समस्या देखिएको छ ।

उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बढीमा ५ मिनेट मात्र रोक्ने व्यवस्था हुनुपर्छ । यसले यात्रु समयमै गन्तव्यमा पुग्छन् भने हरेक सवारीले कोचेर यात्रु बोक्ने झन्झट पनि हुँदैन । लामो दूरीका सवारीको अनुगमन सरकारले गम्भीर भएर गर्नुपर्ने अर्को दायित्व छ । राजमार्गमा सार्वजनिक सवारीका आफ्नै मनपरि चल्ने गर्छ । यसले यात्रुलाई ठूलो मर्कामा पारेको छ ।

कानुनको पालना हुन नसक्दा दुर्घटना बढेको बढ्यै छ । यात्रु पट्यार लाग्दो यात्रा गर्न बाध्य छन् । हरेक सार्वजनिक सवारी यात्रुमैत्री हुनुपर्छ भनेर राज्यले चालकलाई खबरदारी गर्नुपर्छ । अटेर गर्ने चालकलाई तत्काल कारबाही गर्नुपर्छ । कानुन नमान्ने सवारीका कर्मचारीलाई कारबाही हुने हो भने अर्को सार्वजनिक सवारी स्वतः सतर्क हुन थाल्छ । यसको प्रभावले सबैलाई सचेत पार्छ । सरकारले अहिलेसम्म सडकमा कानुन पालना गराउने होइन, प्रहरीको पहुँच मात्र विस्तार गर्न खोजेको देखिन्छ । ट्राफिक प्रहरीले आफ्नो पहुँच होइन, कानुन पालना गर्न लगाउन सक्नुपर्छ । अनि मात्र दुर्घटनामा कमी आउनेछ । कानुन मात्र पालना गर्न लगाउने हो भने सार्वजनिक सवारी साँच्चिकै यात्रुमैत्री हुनेछन् । यस विषयमा ट्राफिक प्रहरी सचेत बनोस् ।
– पुरन कालाखेती, काठमाडौं ।

भरतपुरको फोहोरले नदी प्रदूषण
भरतपुर महानगरपालिका देशको केन्द्रमा रहेको शहर हो । देशमा रहेका ६ वटा महानगरपालिकामध्येको एउटा महानगर हो भरतपुर । देशको केन्द्रमा रहेको भएर मात्रै नभई केन्द्रीय राजनीतिमा प्रभाव पार्ने व्यक्तिको निर्वाचन क्षेत्र भएका कारणसमेत भरतपुरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सबैको ध्यान खिच्ने गरेको छ ।

चितवनको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको क्षेत्र मात्रै होइन, सिंगो महानगरको प्रमुख उनकै पुत्री रेनु दाहाल रहेकी छिन् । यसकारण पनि भरतपुरको ध्यान सबैले खिच्ने गरेको छ ।
भरतपुरको सानो घटनाले पनि ठूलो प्रभाव पार्न सक्छ । यो तीन लाख जनसंख्या रहेको शहर हो । यहाँबाट उत्पन्न हुने फोहोरलाई सीधै नारायणी नदीको किनारमा लगेर फाल्ने गरिएको छ । कुहिने फोहोर, नकुहिने फोहोर, अस्पतालबाट निस्कने सबै प्रकारका फोहोर लगेर नदीको किनारमा मिल्काउने गरिएको छ । यसरी नदीकिनारमा फोहोर मिल्काउँदा यसले जल प्रदूषण त निम्त्याउँछ नै, यसका साथै पर्यावरणमा समेत प्रभाव पार्न सक्छ । हिउँदको समयमा नारायणी नदीले निर्माण गरेको टापुमा लगेर फोहोर फालिँदै आएको छ । नगर वनक्षेत्रमा फोहोर फाल्दा त्यहाँ जंगली जनावरहरु पुगेर त्यस्ता फोहोरहरु खाएमा उनीहरु बिरामीसमेत हुने गर्दछन् ।

नदीको किनारमा फोहोर फाल्दा नदीमा बाढी आएपछि त्यहाँ भएका प्लास्टिकहरु नदीले बगाएर विभिन्न ठाउँमा थुपार्दै आएको छ । जसका कारण माटोमा अम्लीयपना बढ्छ भने माटोको उर्वराशक्तिमा समेत ह्रास आउँछ । त्यस्तै, नदीको पानीसँग बग्दै गएका प्लास्टिकहरु नदीमा रहेको ढुंगाहरुमा बेरिएर बस्छ । जसका कारण ढुंगामा बस्ने सूक्ष्म जीवहरुको जीवनचक्रसमेत समाप्त हुन सक्छ ।

नदीको पानी गैंडा, हरिण, मृगलगायतका जनावरले पिउने हुनाले जल प्रदूषण भएको पानी पिउँदा उनीहरुको स्वास्थ्यसमेत बिग्रन गई जंगली जानावर बिरामी पर्न सक्छन् । जल प्रदूषणका कारण घडियाल गोही, डल्फिनजस्ता जलचर प्राणीको जीवन नै खतरामा पर्दै गएको छ । जलचर र विभिन्न खालका दुर्लभ वन्यजन्तुको संरक्षणका लागि महानगरपालिकाले बेलैमा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । नदी किनारमा फोहोर फाल्न बन्द गरेर यसको विकल्प चाँडै खोज्न सकिएन भने नदी प्रदूषणलाई रोक्न गाह्रो पर्छ र यसमा आश्रित जीवजन्तुको अस्तित्वसमेत संकटमा पर्न सक्छ ।
– सुरज पौडेल, चितवन ।

प्रतिक्रिया दिनुहोस्