चिनिया बाणिज्य दुतावास हमलामा भारत जिम्मेवार: पाकिस्तान



इस्लामाबाद (एजेन्सी)
बलुचिस्तानका गृहमन्त्री सलिम खोसाले पाकिस्तान स्थित चिनियाँ दुतावासमा भएका आक्रमणका लागि भारत जिम्मेवार भएको आरोप लगाएको छ ।
चिनियाँ वाणिज्य दुतावासमाथि भएको हमलाका सुत्रधार असलम अच्छु भारतमा भएको गृहमन्त्री सलिम खोसाले पत्रकारहरुलाई बताए । यसअघि असलम अच्छुको मृत्यु भएको समाचार आएको थियो तर त्यो गलत भएको खोसाले बताए । असलम अच्छु भारतको एक अस्पतालमा आफनो उपचार गराइरहेको सम्पुर्ण जानकारी आफुलाई भएको उनले बताए ।

यसबाट भारत बलुचिस्तानमा स्थिति खराब पार्नमा पुर्ण रुपमा संलग्न रहेको प्रष्ट भएको मन्त्रीले बताएको जंग अखबारले जनाएको छ । आतंकवाद नियन्त्रण निकाय (सीटीडी)का प्रमुख राजा उमर खत्ताबका अनुसार दुतावास हमलामा सी–४ प्लास्टिक विस्फोटक प्रयोग भएको र त्यो पाकिस्तानमा उपलब्ध छैन ।
आक्रमणकारीले ती विस्फोटक पदार्थ उक्त हमला गराउने शक्तिहरुबाट हासिल गरेको उमर खत्ताबले अखबार जंगलाई बताए । यो पाकिस्तानका शत्रु देशका गुप्तचर एजेन्सीको काम भएको उनले बताए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हमलाका विषयमा दिएको प्रतिक्रियामा यस मामिलामा सरकार, विपक्ष, सेना र चीन सरकार सबै एकजुट रहेका बताएका थिए ।


चीनसँग जुन सम्झौतामा हस्ताक्षर भएको थियो त्यसका विरोधीहरुले चिनियाँ वाणिज्य दुतावासमा हमला गरेको प्रधानमन्त्री खानले बताए । चिनियाँ सरकारले आफनो वाणिज्य दुतावासमा भएको कट्रपन्थी हमला असफल पारेकोमा पाकिस्तानी सुरक्षाकर्मीको प्रसंसा गरेको जंगले जनाएको छ ।
चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपैक)मा दुबै देशको सहयोग जारी रहेने चीनले आश्वासन दिएको इमरानले जानकारी दिए ।

उक्त आक्रमण असफल गर्नमा सुरक्षाकर्मीहरुको नेतृत्व गरिरहेका महिला प्रहरी प्रमुख सुहाई अजजिल तलपुरको ब्यापक चर्चा भइरहेको छ ।
यसैबीच संयुक्त राष्ट्रले पाकिस्तानमा भएको दुई कट्टरपन्थी हमलाको निन्दा गर्दै उक्त आक्रमणमा संलग्न ब्यक्तीहरुलाई सकेसम्म चाँदो न्यायको कठघरामा उभ्याइने अपेक्षा गरेको छ ।

गत शुक्रबार कराचीमा चीनको वाणिज्य दुतावासमा भएको आत्मघाती हमलामा दुई प्रहरी लयायत ४ जनाको मृत्यु भएको थियो जसको जिम्मेवारी लिबरेसन आर्मीले लिएको थियो । त्यही दिन खैबर पख्तुनख्वा प्रान्तको ओरकजई जिलामा एक ब्यस्त बजारमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३२ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटरेजले प्रवक्ताका तर्फबाट जारी गरेको बयानमा मृतकका परिवार सदस्यहरु प्रति गहिरो संवेदना ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्