ठेकेदारको लापरवाहीले बर्षौ देखि पुल अलपत्र, चालु आर्थिक बर्षमा सक्ने सहमति



दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल एक चालु आर्थिक बर्ष भित्र सम्पन्न गर्ने सहमति भएको छ ।

पर्वतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पदम गिरीको उपस्थितिमा बिहीबार भएको छलफलमा तीन बर्ष देखि अलपत्र अबस्थामा रहेको पुल निर्माण कार्य अघि बढाउने र चालु आर्थिक बर्षभित्र पुरा गर्ने सहमति भएको हो ।

२०७२÷०७२३मा निर्माण शुरु भएको पुलको अहिले सम्म १० प्रतिशत मात्रै पुरा भएको छ । आर्थिक बर्ष २०७४÷०७५ भित्र सम्पन्न गरिसक्नु पर्ने भएपनि जम्मा १० प्रतिशत भन्दा बढी काम नभएपछि स्थानियबासीले निरन्तर दबाब दिदै आएका थिए । एकातर्फको पिल्लर केही माथि उठाइएको छ, अर्कोतर्फ सुरु नै भएको छैन ।

कुल ६ करोड १३ लाखमा निर्माण गरिने ३० मिटर लामो पुल को अहिले सम्म प्रतिनिधीसभा सदस्य गिरी सहित मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, सडक डिभीजन कार्यालयका प्रतिनिधी र निर्माण ब्यबसायी राजेन्द्र भण्डारी सहितको छलफलका क्रममा निर्माण कम्पनीले तत्काल काम शुरु गर्ने र एक महिनाको प्रगतिका आधारमा म्याद थप गर्ने सहमति भएको छ । पुल निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने समय ६ महिना बढी भएको छ भने कम्पनीले राखेको ५७ लाख धरौटी समेत सडक बिभागले रद्द गरेको छ ।

पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेबासीले पक्की पुलको माग गर्दै आएका थिए । अब पनि समयमा पुल नबन्ने हो भने जनताको आक्रोश थाप्न नसकिने भएकाले यसलाई समयमा पुरा गर्न सडक डिभीजन र निर्माण ब्यबसायीले ध्यान दिनुपर्ने प्रतिनिधीसभा सदस्य पदम गिरीले भने । ’योजना परेर मात्रै हुँदैन, समयमा सम्पन्न गर्न सकिएन भने त्यसले ठुलो निराशा पैदा गर्ने र राज्यको स्रोत साधन दुरुपयोग हुने भएकाले पुल निर्माण कार्य अघि बढाउन जरुरी छ’ गिरीले भने ।

अलपत्र पुल सम्पन्न गर्न जनप्रतिनिधीले चाँसो देखाएपछि निर्माण ब्यबसायी मृत सञ्जीवनीका प्रतिनिधीले एक कामको प्रगति देखाएपछि ठेक्काको म्याद थप गर्ने सहमति भएको सडक डिभीजन कार्यालय बागलुङ्गका इन्जिनियर सरोज ढकालले बताए । ‘कामको प्रगति हेरेर मात्रै म्याद थप गर्ने वा नगर्ने भन्ने बिषयमा सहमति भएको छ’ उनले भने ‘बढीमा ६ महिना म्याद थप्न सकिने भएपनि सो समय समेत टरेको छ ।’

बिभिन्न कारणले पुल निर्माण गर्न कठिन भएपनि यो बर्षायाम अघि सम्पन्न गरिसक्ने निर्माण ब्यबसायी राजेन्द्र भण्डारी बताउँछन । ‘धेरै कारणले निर्माण कार्य अघि बढाउन सकिएन’ उनले भने ‘अब जसरी पनि पुरा गर्छु’ । पुल निर्माणकार्यको प्रगति सन्तोषजनक नभएपछि डिभीजन सडक कार्यालयले पटक पटक निर्माण ब्यबसायीलाई ताकेता गरेको थियो भने गएको भदौमा मोदी गाउँपालिका संग एक बर्ष भित्र निर्माण कार्य सक्ने सहमति समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्