सरुको भावनामा बगेको ‘फूलहरूको आँधी’



अरूणबहादुर नदी खत्री

कवयित्री सरस्वती श्रेष्ठ ‘सरु’को फूलहरूको आँधी नामक कवितासङ्ग्रह तेस्रो कृतिको रुपमा प्रकाशित भएको हो। उक्त कवितासङ्ग्रहभित्र उनले लेखेका विभिन्न शीर्षकका ४१ वटा कविता राखिएका छन्। यस सङ्ग्रहभित्र रहेको अघोषित जीवन युद्ध शीर्षकको पहिलो कवितामा छोरी तिमी मेरै मुटुको एक अंश हौ भनिएको छ। कवयित्री सरस्वतीको कवितालेखनमा विविध विषयहरू समेटिएका छन्। देश, प्रकृति, आमा, नारी, जीवन र जगत्, घर, माटोजस्ता उच्च संवेदनशील विषयका साथै समाजमा भइरहेका घटना तथा परिवर्तनहरू पनि उनका कविताका प्रमुख विषयवस्तु हुन्। उनी कथा, नाटक, गीत, गजल र बालसाहित्यमा पनि कलम चलाउने स्रष्टा हुन्।

देशको आर्थिक जर्जरता, अभाव, गरिबी, विपन्नता आदि आर्थिक विषमताले कवयित्री सरस्वतीका कविता संवेदित बनेका छन्। गरिबी र विपन्नताको विम्ब उतार्ने यस्ता कवितांशहरू पनि कविताभरि धेरै छन्। यस्तै भावलाई अभिव्यक्त गर्ने एउटा कवितांश यस प्रकार छ–

आउँछन् हावामा
फरफराउँदै र लहराउँदै
सम्झनाका मीठा तरङ्गहरू
र मलाई तरङ्गित पारेर जान्छन्
म फूलहरूसँगै बगैँचामा फुलिरहँदा।

किन लाग्दैन चिचिलो समयको ? शीर्षकको कविताभित्र ‘विनाफल झरिरहेछ फूल, किन लाग्दैन चिचिलो समयको ?’ भनी प्रश्न गरिएको छ। गाउँको व्यथा शीर्षकको कवितामा ‘तिहार भित्र्याइएको छ, धुमधाम छ सहरमा, गाउँ सुनसान छ’ भनिएको छ। पुस्तकका अधिकांश कविताहरू विचारप्रधान छन्। भावनात्मक उत्तिकै छन्। त्यसभन्दा बढी संवेदनशील छन्। यिनका अलावा पाठकले प्रायः सबै कवितामा युगबोध रहेको महसुस गर्न सक्छन्। विशेषतः कविता, गीत, गजल, मुक्तकजस्ता विधामा कलम चलाइरहेकी सरस्वती ग्रामीण भेगका मौलिक शब्दहरूसँग बढी खेल्न रुचाउँछिन् आफ्नो सिर्जनामा। शैलीगतरुपले उनका कविता सरल छन् भने भावगतरुपले गहकिला, ओजिला र रसिला छन्। यस सङ्ग्रहभित्र केही फरक धारका कविता पनि रहेका छन्–

मेरो बाल मस्तिष्कमा
हल्लिरहेको यो प्रश्नको झोलुङ्गो
अहिलेसम्म यथावतै छ।

बन्द राजमार्ग शीर्षकको कवितामा ‘राजमार्ग बन्द छ, बटुवाहरू पर्खेर बसिरहेका छन् राजमार्ग खुल्ने दिन’ भनिएको छ। सरस्वती खोला–खहरेले, भावनाका वेगहरूले भिजाएकी कवयित्री हुन्। उनी माटो मन पराउँछिन्। ‘जीवनको यही ढुङ््ग्यानीमा कुदाएँ पाइतलाहरू खियाएँ पाइतालाहरू, खियाएँ कतिजोर पाइतालाका चप्पलहरू’ भनेर जीवनको लय शीर्षकको कवितामा लेखिएको छ। ‘नानीहरूको सपनालाई सिरानी हालेर निदाउन कहाँ सक्छु र म’, नानीहरूको सपना शीर्षकको कवितामा पोखेकी छिन्। फूलका लासहरू शीर्षकको कविताले ‘ईश्वर छैनन् मन्दिरहरूमा, निर्जीव ढुङ्गाहरू छन्, ढुङ्गाहरू निःशब्द छन्’ भनेको छ।

‘कविता मेरो हृदयको सङ्गीतमय झन्कार हो। पीडानुभूतिको सङ्गीन हो। कति त भावनाको अतुल गहिराइ हो। कति त जीवनजगत्को भोगाइ हो’, कवयित्री भन्छिन्। उनका कविता मार्मिक छन्।

प्रतिक्रिया दिनुहोस्