गरिमा विकास बैंकको १२औं वार्षिकोत्सवमा ४५ जनाद्वारा रक्तदान



प्रताप बानियाँ, म्याग्दी,

गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १२औं वार्षिकोत्सवको अवसर पारेर म्याग्दीको बेनीसहित विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारणसहित ४५ जनाले रक्तदान गरेको र ४५ पिन्ट रगत सङ्कलन भएको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गरेको म्याग्दी शाखाका प्रवन्धक कमलप्रसाद ढुङ्गानाले बताए ।

अस्पतालमा उपचार सेवाका लागि आउने सर्वसाधारणलाई आवश्यकता परेमा रगत सहयोग गर्नका लागि बैंकमार्फत रचनात्मक कार्यक्रम रक्तदान सञ्चालन गरिएको शाखा प्रवन्धक ढुङ्गानाको भनाइ छ । प्रवन्धक ढुङ्गानाको सञ्चालन र बैंकका सञ्चालक डाक्टर भूपेन्द्रबहादुर खड्काले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र म्याग्दीका संयोजक सुरत केसी, जिल्ला अस्पतालका ल्याब टेक्निसियन अधिकृत यामबहादुर थापा, युवा प्रकाश पौडेल लगायतले प्राविधिक सहयोग गरेका थिए ।

सङ्कलन गरिएको रगत ३५ दिनभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ । म्याग्दी जिल्लामा सङ्कलन गरिएको अधिकांश रगत पोखरा पठाउने गरिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको हाल देशभर ६७ ओटा शाखा सञ्चालनमा रहेका छन् । दुई अर्ब ७८ करोड चुक्ता पुँजी रहेकोमा बैंकले गत असोज मसान्तसम्म २३ अर्ब निक्षेप सङ्कलन गरी २१ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्