सचिनले १२ वर्षपछि ल्याए ए मान्छे



पुराना गायक सचिन रौनियारले झन्डै १२ वर्षपछि ए मान्छे बोलको गीतका साथ कमब्याक गरेका छन्। डेढ दशकअगाडिको गीत–संगीतमा सुनिने र गुञ्जिने नाम भए पनि झन्डै १२ वर्ष उनी नयाँ गीत–संगीतका साथ प्रस्तुत भएका थिएनन्।

सचिनले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन्। मनोरञ्जनसँगै अनेकतामा एकताको सन्देशसमेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका छन् भने जितेन लेप्चाको संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा सचिनसँगै सञ्जय श्रेष्ठ, बबिन प्रधान, भीम तुलाधरलगायत पनि देखिएका छन्। सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा विभिन्न भाषाभाषीको एकता प्रस्ट्याइएको छ।

भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका छन् भने उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन्। सम्पादन भरत रेग्मीको रहेको छ। सचिनले गायनमा झन्डै अढाइ दशक बिताइसकेका छन्। २०४३ सालमा पहिलो एल्बम सर्च बजारमा ल्याएका उनले यसअघि एक दर्जन एल्बम सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्