विडम्बना ! १२ वर्षमै गर्भवती



कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बन्नुपर्ने अवस्थाले नेपाली समाजको अहिलेको अवस्थाको चरितार्थ गरेको छ । आठ महिनाको गर्भ बोकेर उनी काठमाडौंको अस्पतालमा छिन् । उनलार्ई हेटौँडास्थित हेटौँडा अस्पतालबाट थप उपचारार्थ मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो ।

बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । तर मुलुकको राजधानीनजिकै यस्तो अवस्था छ । दुर्गममा झन् के होला ? सचेतनाका कार्यक्रम चलाइयोस् ।
– विष्णु अर्याल, गुल्मी । हाल ः काठमाडौं ।

अर्थतन्त्र नै अस्तव्यस्त
नेपालमा संघीयता शुरु भएपछि अर्थतन्त्र भद्रगोल भएको छ । मूल्यवृद्धिको आक्रान्तबाट बच्न सकेको अवस्था छैन । ठूला चाडपर्व दशैँ, तिहार तथा छठ पर्वको बेलामा भएको मूल्यवृद्धि न त त्यति बेला नियन्त्रण गरियो, न आजको दिनसम्म नियन्त्रण भएको छ । मूल्यवृद्धि त चर्को भएकै छ ।

उपभोग्य वस्तुको गुणस्तरमा कहाली लाग्दो समस्या देखिएको छ । तरकारीको मूल्यवृद्धिका विषयमा त केही दिनअघि कालीमाटीको थोक बजारमा ठूलै गाईजात्रा भएको थियो । किसानले १० रुपियाँ प्रतिकेजीमा बेच्ने तरकारी कालिमाटीका थोक व्यापारीहरूले प्रतिकेजी ६० रुपियाँमा बिक्री गर्ने गरेको र उपभोक्तासम्म आइपुग्दा प्रतिकेजी ९० रुपियाँ पर्ने गरेको तथ्य फेला परेको थियो ।

सार्वजनिक सवारीसाधनको सिन्डिकेट तथा भाडावृद्धिका क्रममा पनि सरकारले घुँडा टेकिसकेको अवस्था छ । स्वास्थ्य उपचार तथा शिक्षा आर्जनका लागि तिर्नुपर्ने महँगो मूल्यको त उल्लेख गरिसाध्य नै छैन । स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यापारीका अघि सरकारले घुँडा टेकिसकेको अवस्था छ । ‘यो मुलुकमा सरकार छ, सरकारले हाम्रा लागि केही गर्छ’ भन्ने विश्वास जनताले गर्न छाडिसकेका छन् ।

यो कहाली लाग्दो अवस्था सहेर बस्ने कि ? अब जुर्मुराएर उठ्ने ? भन्ने प्रश्न जनताको अघि खडा भएको छ । जब सरकार नै विकृति र विसंगतिको वाहक भइरहेको अवस्थामा जनता नजाग्ने हो भने सीमित व्याक्तिहरूको ब्रह्मलुट अझै बढ्ने देखिन्छ । सरकार विकृति विसंगतिको वाहक बनेको अवस्थामा जनताको आवाज मुखरित गर्ने दायित्व प्रतिपक्षमा रहेका दलहरूको हो । तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसद्मा मात्रै होइन सडकमा पनि कमजोर देखिएको छ ।

धेरैजसो विकृतिहरू कांग्रेस सरकारमा छँदादेखिकै निरन्तरता हुन् । त्यसैले कांग्रेसले पनि प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने अवस्था रहेन । अरू प्रतिपक्षी पार्टीको त अस्तित्व छैन भन्दा पनि फरक नपर्ला । यस्तो अवस्थामा पीडित जनताको आवाज मुखरित गर्ने भनेको नागरिक समाज तथा उपभोक्ता हितसँग सम्बन्धित संघ–संगठनहरूको हो । हाम्रो मुलुकमा उपभोक्ता हितसँग सम्बन्धित संगठनहरूले जनताको आवाज मुखरित गरेर सरकारलाई घुँडा टेकाएको इतिहास छ । अब हामी सबै जुर्मुराउन जरुरी देखिएको छ ।
– मनोज कार्की, भक्तपुर ।

हिन्दूको गलत संस्कार सुधारौं
नेपालमा हिन्दूको नाममा भएका गलत संस्कार अन्त्य गर्न जरुरी देखिएको छ । छुवाछूतदेखि बलि प्रथासम्मका गलत परम्परा अन्त्य गरी धर्मको सही सम्मान गर्न जरुरी छ । नेपालमा हिन्दू परम्पराअनुसार १३ दिनमा सम्पन्न हुने मृत्यु संस्कार छोट्याउने बहस अहिले तीव्ररुपमा चलिरहेको छ । अग्रजहरुले मृत्यु संस्कारलाई पाँच वा सात दिनमा छोट्याउन उपयुक्त हुने धारणा राख्दै आएका छन् । हाम्रा परम्परा र संस्कारहरु जीवनका अंग बनिसकेको सन्दर्भमा कतिपय सामाजिक मान्यताहरु फेरिहाल्न सम्भव हुँदैनन् ।

नेपाली समाजमा पश्चिमा संस्कृतिको सिको गर्ने क्रम तीव्ररुपमा अघि बढिरहेको छ । तर, आफूलाई आधुनिक समाजको अगुवा भन्नेहरुले नै कतिपय संस्कारहरु छोड्न सकेका छैनन् । आधुनिकीकरण र प्रगतिका नाममा आफ्ना रीतिरिवाज, परम्परा र संस्कारहरु छोड्दै जानुपर्छ भन्ने पनि होइन । तर, जुन संस्कारले गर्दा नेपाली समाजको विकास हुन सक्दैन, त्यस्ता संस्कारहरु परिमार्जन गर्नुपर्ने हुन्छ । हामीले मान्दै आएका प्रथा र परम्पराहरु अन्धविश्वास र कुसंस्कारले जकडिएका पनि हुन सक्छन् । त्यसलाई पनि संस्कार नै मानेर हिँड्दा हामी कहिल्यै अघि बढ्न सक्दैनौँ । इटहरीका प्राध्यापक डा. बद्री विशाल पोखरेलले आफ्नी आमाको मृत्यु संस्कार सात दिनमा छोट्याउन लागेको खबरले नेपाली समाजमा मृत्यु संस्कारबारे तीव्र बहस चल्न थालेको छ ।

उसो त मृत्यु संस्कार छोट्याउनुपर्ने आवाज केही वर्षअघिदेखि निरन्तररुपमा उठिरहेको छ । विद्वानहरुले आफ्नो सुविधाको लागि भन्दा पनि नेपाली समाजको अध्ययन गरेरै मृत्यु संस्कार छोट्याउनुपर्ने धारणा राख्दै आएका छन् । हामीले मान्दै आएका संस्कार र परम्परा अगुवाहरुको अनुसरणबाटै बनेका हुन् । परिवर्तनको लागि शुरुवात आफैँबाट गर्नुपर्छ भन्ने महान् सोचका साथ प्रा.डा. पोखरेलले जुन सामाजिक विद्रोह गरेका छन्, यो समाजका लागि अनुकरणीय छ । हुन त यसमा धर्मगुरु र पण्डितहरुको आ–आफ्नै धारणा हुन सक्लान् । तर, हिन्दू संस्कार झन्झटिलो, जटिल र खर्चिलो बनेकै कारण धर्म परिवर्तन हुन थालेको प्रा.डा. पोखरेलको अनुभवलाई पनि नजरअन्दाज गरिनुहुँदैन ।

हाम्रा संस्कारहरु समयअनुसार सरल बनाउनै पर्छ । किनभने, सामान्य मानिसलाई यही संस्कार सम्पन्न गर्न निकै ठूलो मूल्य चुकाउनुपर्छ । वर्गीय समाजमा विपन्नका लागि १३ दिने मृत्यु संस्कार निकै खर्चिलो बन्न जान्छ । जसका कारण धर्म परिवर्तनले प्रश्रय पाउँछ, पाइरहेकै छ । नेपालमा जुद्धशमशेरको पालामा ४५ दिनबाट घटाएर १३ दिन कायम गरिएको मृत्यु संस्कार निर्विकल्प मानिनु युक्तिसंगत छैन । यसलाई पाँच या सात दिनमा छोट्याउनु संस्कारको अवमूल्यन गर्नु होइन ।

कुन संस्कार र रीतिरिवाज समाजका लागि उपयुक्त छन् ? त्यसको शुरुवात अगुवा र विद्वत् वर्गले नै गर्नुपर्छ । समाजले अगुवाबाटै अनुसरण गर्दै जाने विषय हो । कतिपय प्रथा परम्पराहरु राज्यको न्यायिक क्षेत्रले नै नियन्त्रण गर्नुपर्ने हुन्छ । जस्तो कि छुवाछूत, बोक्सी, छाउपडी, सार्वजनिक स्थलमा पशुबलिजस्ता परम्पराहरु राज्यले नियन्त्रण गर्न सक्छ । यी सामाजिक अन्धविश्वास र कुप्रथाहरुका अवशेषहरु अझै पनि नेपाली समाजमा विद्यमान छन् ।

हाम्रा मौलिक रीतिरिवाज र संस्कारबाटै नेपाल र नेपालीको पहिचान कायम रहन्छ । तर, ती संस्कारका अनावश्यक पक्षहरु सुधार गर्दै जानु गतिशील समाजका लागि अपरिहार्य छ । बाबुआमाको मृत्यु संस्कार नै नगर्ने पनि छन्, होलान् । अग्रगमनका नाममा सामाजिक मनोविज्ञानसँग जोडिएका यस्ता संस्कारहरु छाड्दैमा पनि आधुनिक भइँदैन । छोराछोरीले निभाउनुपर्ने जिम्मेवारी र कर्म आमाबाबु जीवित छँदैमा हो । आमाबाबुको मृत्युपश्चात् कष्ट भोगेर होइन । यसको मतलब मृत्यु संस्कार पूर्णरुपमा परिवर्तन गर्नुपर्छ भन्ने पनि होइन, समयसापेक्ष परिमार्जन गर्नेतर्फ भने सचेत वर्ग जागरुक हुनु आवश्यक देखिन्छ ।
– विनय पोख्रेल, डोटी ।

 

प्रतिक्रिया दिनुहोस्