‘सामूहिक प्रयासको अभावमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुँदैन ’



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर महानगरपालिका वडा –१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले समुदाय–प्रहरी साझेदारीको अवधारणा नेपाल प्रहरीले ल्याएको निकै महत्वाकांक्षी योजना रहेकोले यसलाई व्यवहारमा प्रभावकारी बनाउन सबैको सक्रिय सहभागिताको खाँचो औल्याउनुभएको छ ।
प्रहरीले स्थानीय तहसंग सहकार्य गर्ने गरी ल्याइएको सो अवधारणाको कार्यान्वयनका लागि १६ वडास्तरीय समुदाय–प्रहरी वडा समिति गठन गर्न विहीबार आयोजित भेलामा उहाँले सो खाँचो औल्याउनुभयो ।

वडाअध्यक्ष शाक्य

समुदाय प्रहरी साझेदारी अवधारणामा वडाअध्यक्ष, वडा सदस्य, प्रहरी, सामुदायिक संघसंस्था लगायत धेरै साझेदारहरु रहने व्यवस्था गरिएको छ ।सबैको सामूहिक सक्रियता बेगर यसबाट राम्रो नतिजा निकाल्न सक्दैन ।स्रोत व्यवस्थापनको पनि निकै महत्वपूर्ण रहन्छ ।’वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ स्रोत व्यवस्थापन र वडाअध्यक्षको अधिकारबारे अवधारणामा स्पष्टसंग भनिएको छैन । कार्यान्वयनबाट अवधारणालाई अझ स्पष्ट पार्दै लैजानुपर्दछ ।

महानगरीय प्रहरी प्रभाग मंङ्गलबजारका प्रमुख एवं प्रहरी निरीक्षक केशर न्यौपानेले प्रहरी र स्थानीय तह मिलेर समुदायस्तरमा विवाद, झैझगडा र द्वन्द्व व्यवस्थापन, अपराध न्यूनीकरण र शान्ति सुरक्षाको व्यवस्थापनमा समुदायको सक्रियता नै अवधारणाको मुख्य मर्म रहेको बताउनुभयो । सो मर्म व्यवहारमा लागू गर्न वडा, प्रहरी र समुदायको सक्रियताको खाँचो औल्याउनुभयो ।

सहभागी पट्को टोल सुधार समितिका अध्यक्ष बदन शर्मा, मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानुराज श्रेष्ठ, नकबहील टोल सुधार समितिका अध्यक्ष किरण शाक्य, महिलाको तर्फबाट हसिना शाक्य, राष्ट्रिय युवा महासंघका कार्यकारिणी सदस्य राजन महर्जन लगायतले कार्यक्रमलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनको व्यवहारले जनताको मन जित्नुपर्नेमा जोड दिदैँ आआफ्नो धारणा राख्नुभयो ।

त्यसैगरी भेलाले वडाअध्यक्ष निर्मलरत्न शाक्यको संयोजक, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी सुनील देउजा सह संयोजक, वडा सदस्यहरु पञ्चबज्र शाक्य, विजय महर्जन, सुप्रभा शाक्य सदस्य र प्रभागका छविलाल अछाम सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ । समितिमा सामुदायिक संघसंस्था,महिला, स्थानीय क्लब र नागरिक समाजको प्रतिनिधित्व हुने गरी प्रवीण शाक्य, दिलीप शाक्य, अरुणमान जोशी, हसिना शाक्य, नागरिक रविन्द्र शाक्य, अशोक श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्