रुकुमपूर्व पर्यटन तथा साँस्कृतिक महोत्सव तीन दिन पछि सर्यो



धनवीर दाहाल, रुकुमपूर्व ।
प्रथम रुकुमपूर्व पर्यटन साँस्कृतिक महोत्सव तिन दिन पछि सरेको छ । मंसिर २० गते देखी सुरु हुने भनिएको महोत्सव मंसिर २३ देखी पौष ३ सम्म हुने भएको हो । महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्रीले गर्नुहुने भएको छ ।

सिस्ने गाउँपालिका रुकुमकोटमा हुने महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षा मन्त्रीले इश्वर पोखरेलले गर्ने पक्का भएको हो । महोत्सव मुल आयोजक समिति रुकुमपूर्व चेम्बर अफ कमर्शका अनुसार महोत्सव उद्घाटनको प्रमुख अतिथि पक्का भएको हो ।

आयोजकका अनुसार महोत्सवको उद्घाटन पनि केही दिन सरेको छ । महोत्सव उद्घाटनका प्रमुख अतिथि पक्का भएसँगै प्राविधिक र तयारीका कारण महोत्सव उद्घाटन तीन दिन पछि सरेको महोत्सव मुल आयोजक समिति संयोजक तथा रुकुमपूर्व चेम्बर अफ कमर्शका अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार यस अघि मंसिर आगामी २० गते उद्घाटन हुने भनिएको महोत्सवको उद्घाटन अब मंसिर २३ गते हुने छ ।

मंसिर २३ गते उद्घाटन हुने महोत्सव पुस ३ गते सम्म चल्ने छ । पर्यटन, सस्कृति, जडिबुटी, उद्योग र व्यापारःरुकुमपूर्वको समृद्धिका मुल आधार भन्ने नारा सहित महोत्सव आयोजना गरिएको हो । महोत्सव उद्घाटनको लागि प्रमुख अतिथि र मिति पक्का भएपछि तयारीका अन्य कामहरु धमाधम गरिने आयोजकले जनाएको छ । महोत्सव भव्य बनाउन सबैसँग समन्वय सहकार्य भैरहेको तथा महोत्सव तयारीका कामले तीब्रता पाउने अध्यक्ष थापाको भनाई छ ।

देशको ७७ औं तथा कान्छो जिल्ला बनेपछि पहिलो पटक महोत्सव हुन लागेको हो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र साँस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव गर्ने निर्णय भएको बताइएको छ । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउन लक्ष राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष थापाले बताए ।

महोत्सवमा जिल्ला भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव स्थलमा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिइने छ भने स्टलहरुमा पनि जिल्लाको पहिचान खुल्ने वस्तु राख्ने तयारी गरिएको छ । स्थानीय तयार गरेको कम्बलदेखि, स्थानीय खानाको समेत प्रवद्र्धन गर्ने गरी स्टल निर्माण गर्ने योजना आयोजक समितिले बनाएको छ । जिल्लाको पूर्वी क्षेत्रको मुख्य खाना ढिडो, टिमुरको अचार, आलु, गुन्द्रुक, सिन्की, हस्त निर्मित सामग्रहरु महोत्सवका स्टलमा राखिनेछ ।

मध्यपहाडी लोकमार्गको कारण जिल्ला आउन जान सजिलो भएकाले सकेसम्म धेरै जिल्ला बाहीरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ । छिमेकी जिल्लाहरु रुकुम पश्चिम, रोल्पा, बाग्लुङ, पोखरा, सल्यान, दाङ, जाजरकोट, काठमाण्डौं समेतबाट पर्यटकहरु आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्