उपमहानगरमै विकासको दुर्दशाः गाईवस्तु र मानिसका लागि एउटै पोखरी



नरेन्द्र केसी, घोराही ।

पश्चिम नेपालका धेरै जिल्लामध्ये सुगम मानिन्छ दाङ । दाङको पनि घोराही उपमहानगरपािलका केन्द्रमाप पर्दछ, जहाँ जिल्ला सदरमुकाम पनि रहेको छ । तर, यही घोराही उपमहानगरपालिकाकै एउटा वडामा भने अहिलेसम्म विकासले छुन सकेको छैन ।

साविकको पहाडी गाविस सैघा अहिले घोराही उपमहानगरपालिका १९ वडा बनेको छ । प्रशासनिक संरचनामा यो उपमहानगरमा परे पनि विकास निर्माणका हिसाबले भने कुनै परिवर्तन आएको छैन ।

यही वडाको एउटा गाउँ हो– लिथान । गाउँको बीचमा भेटिन्छ एउटा सानो पोखरी । जंगल चराउन लैजाने गाइवस्तुका लागि पानी खुवाउन प्रयोग गरिने यही पोखरीको पानी यहाँका बासिन्दाले पनि पिउँछन् भन्ने सुन्दा धेरैको आङ सिरिङ गर्नसक्छ तर यो यहाँको नियति हो । माघ फागुनसम्म रहने यो पोखरीबाट स्थानीय र गाइवस्तुले तीर्खा मेटाउँछन् । त्यसपछि उनीहरु झण्डै एक घण्टा तल पुगेर पानी लिनुपर्छ ।स–साना वस्ती, पातला घर, सुविधाको अभाव यहाँको मूल बिशेषता नै बनेको छ ।

 स्थानीय राम थापा भन्नुहुन्छ– बेलाबेलामा आउने स–साना टुक्रे योजनाले पाइप जोड्ने र धारा बनाउने काम पनि नभएको कहाँ हो र ? वस्तीभन्दा पानीको मुहान निकै तल भएपछि कुनै पनि जोडबल काम लाग्न सकेका छैनन् ।

त्यसो त वडा सदस्य जंग रोकाको विचारमा खानेपानीको समस्या यहीरुपमा रहने हो भने या ठूलै योजनाबाट पानी लिफ्ट गर्ने या वस्ती नै अन्यत्र सार्नुको विकल्प देखिदैन यहाँ । यहाँको शिक्षा र स्वास्थ्यको अवस्था पनि उस्तै दयनीय छ । कृषि उत्पादन परम्परागतढंगले नै चलिरहेको छ ।

जडीबुटी खेतीको प्रचुर संभावना रहे पनि यहाँ निर्वाहमुखी खेतीमै किसानहरु केन्द्रित छन् । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि उत्पादनलाई जोडेर लैजाने हो भने राम्रो विकासको संभावना रहे पनि हर संभावनालाई चुनौतिले जबरजस्ती थिचेर राखको छ यहाँ । हुँदाहुँदा राज्यलाई तिर्नुपर्ने कर बुझाउन पनि घोराही नै झर्नुपर्छ यहाँका बासिन्दा ।

यो वडाको पाँँचपोखरीको डाँडासम्म बल्लतल्ल गाडी पुगेको छ । घोराही बजारबाट सडक दूरी १५ किलोमिटर मात्रै टाढा छ । तर, घोराहीमा सडक सञ्चालनमा आएको मिति हेर्दा झण्डै चार दशकपछि मात्रै यो डाँडाले गाडीको साइरन सुन्न पाएको छ । त्यसैमा पनि गदगद छ यो डाँडा ।

घोराही बजारबाट छुटेको बस खाल्डाखुल्डीमा धङधङ गर्दै मुश्किलले यहाँसम्म पुग्न थालेको छ । ‘१५ किलोमिटरको दूरीमा १ सय ४० रुपैयाँ भाडा तिर्दा पनि खुशी छन् यहाँका बासिन्दा’– स्थानीयवासी समेत रहेका वडा सदस्य रोका भन्नुहुन्छ– ‘किनकि कम्तीमा गाडी त चढ्न पाइएको छ ।

भारतीय तीर्थयात्रु हिड्ने घोराही–स्वर्गद्वारी रुटको महत्वपूर्ण ट्राञ्जिट हो पाँचपोखरी । बर्षमा दुइपटक तीन चार दिनका लागि आउने भारतीय पाहुनालाई छोला समोसा बेचेरै जीविका धान्ने आशामा दर्जन बढी पसल र होटलहरु खुलेका छन् ।

त्यसमा पनि झण्डै एक घन्टाको दूरीमा पानी बोकेर ब्यवसाय चलाउँदा हैरान भइसकेका छन् ब्यवसायी । साँझ पर्दा नपर्दै घोराही झिलिमिलि देखिन थाल्छ । बत्ती बलेको र निभेको पनि चिन्ता हुन्छ यी वस्तीलाई ।

प्रतिक्रिया दिनुहोस्