बैतडीमा २०७ एचआइभी सङ्क्रमित



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा २०७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको आव २०७४÷७५ सम्मको तथ्यांक अनुसार उक्त संख्यामा सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये नियमित रुपमा एआरटी सेवा लिने ११० जना बिरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी भुवन जोशीले जानकारी दिए ।

जिल्ला अस्पताल , पाटन र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् ।

विभिन्न लाञ्छनाका कारणले समाजमा सङ्क्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइएको छ ।

असुरक्षित यौनसम्पर्क र सुइ, सिरिञ्जबाट लागूऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा छन् । कामका लागि विदेश गएकाहरुबाट पनि एचआइभी सरेको भेटिएको छ । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कतिपय सङ्क्रमित एआरटी सेवाबाट वञ्चित भएका छन् ।

एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही सङ्क्रमितले सेवा लिन नमान्ने गरेको बताईएको छ ।

विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी/एड्सको सङ्क्रमण देखिएकाले सिमानामा सचेतना फैलाउने अभियान सञ्चालन गर्नुपने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्