लक्ष्मी कहिले काली



रिलिजको लागि तयार हुँदै गरेको फिल्म गोपीको पहिलो गीत लक्ष्मी कहिले काली बुधबार रिलिज गरिएको छ। साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आप्mना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका छन्। भजन शैलीको गीत भएकाले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपीन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटालगायतले नृत्य गरेका छन्। नृत्यनिर्देशक गोविन्द राईले यही गीतमार्फत लामो समयपछि औपचारिकरूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन्। गीतमा राईले तीनवटा भजनटोली, सय जनाभन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन्।
बजारमा चलिरहेका भन्दा फरक गीत बनेकाले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा संगीतकार पोखरेल आशावादी छन्। ‘लोकगीतको लहर चलेको छ, यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन।

तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ।’ –पोखरेलले भने। गीत ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ। आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा घाम पानी निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित गोपी आगामी माघ १८ गते अल नेपाल रिलिज हुँदै छ।

फिल्मको कथाकै मागअनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन्। ‘फिल्मका मुख्य पात्र हिन्दू र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं।’ –लामाले भने। सामीप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँवाला गौतमलगायतले पनि अभिनय गरेका छन्।

विपिन दुर्घटनामा घाइते
निर्माणाधीन फिल्म जात्रैजात्राको छायांकन जाने क्रममा मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा परेका नायक विपिन कार्कीको खुट्टाको अपरेसन गरिएको छ।

बल्खुस्थित बयोधा अस्पतालमा उनको खुट्टाको अपरेसन गरिएको हो। उनी सवार मोटरसाइकललाई कालिमाटीमा अर्को मोटरसाइकलले ठक्कर दिँदा लडेका विपिनको खुट्टा भाँचिएको थियो। उनी घाइते भएपछि फिल्म जात्रै जात्राको छायांकन प्रभावित भएको छ। जात्रै जात्रा फिल्म जात्रा र शत्रु गतेका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्