काठमाडौं र मकवानपुरबीच एकीकृत पर्यटन विकास



हेटौंडा,(नेस)÷उत्तरी मकवानपुरको थाहानगरमा काठमाडौं र मकवानपुरका नजिक स्थानीय तहका प्रमुख एवम् प्रतिनिधिले दुई जिल्लाको एकीकृत पर्यटन विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका छन् ।

छलफलपछिको साझा धारणामा काठमाडौं र मकवानपुर नजिकका छिमेकी स्थानीय तह चन्द्रागिरि, छलफल आयोजक कीर्तिपुर नगरपालिका, दक्षिणकाली, थाहानगर र इन्द्रसरोवर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र विकास गरी सामँहिकरुपमा पर्यटन विकास गर्न अवधारणा बनाइने र पर्यटन कार्यदल बनाउने निर्णय भएको हो । छलफलले कीर्तिपुुर नगर मेयर रमेश महर्जनलाई संयोजक तोकेको छ ।

छलफलबाट निस्किएको साझा निर्णयमा थाहानगर मेयर लवशेर बिष्ट, उपमेयर खड्ग गोपाली, कीर्तिपुर नगर मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, दक्षिणकाली नगर उपमेयर वसन्ती डंगोल, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, कीर्तिपुर नगरपालिका पर्यटन विकास समिति संयोजक रमेशमान डंगोल र थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले हस्ताक्षर गर्नुभएको छ ।

छलफलमा थाहानगरका प्रमुख प्रशासकीय अधिकृत पुरी, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष लामाले पर्यटन विकासको सम्भावना र हालको अबस्थाका विषयमा जानकारी गराउनुभएको थियो । अध्यक्ष लामाले इन्द्रसरोवर गाउँपालिका दक्षिणकाली, चन्द्रागिरि, कीर्तिपुर र थाहानगरसँग जोडिएकाले गाउँपालिकाले पर्यटन विकासका लागि योजना बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–तनाव व्यबस्थापनका लागि इन्द्रसरोवर आउनुस् ।

मकवानपुरको इन्द्रसरोवर प्रदेश–३ को पर्यटकीय गन्तव्य घोषित गाउँपालिका हो । थाहानगर मेयर बिष्टले थाहानगरको दामन संघीय सरकारबाट प्रदेशको पर्यटकीय गन्तव्य र प्रदेश सरकारबाट ‘दामन घुमफिर वर्ष २०७५’ घोषणा भएको जनाउनुभयो ।

दक्षिणकाली नगर उपमेयर डंगोलले नगरपालिकाको पर्यटन विकासका विषयमा जानकारी गराउँदै स्थानीय तहहरुबीच सहकार्य भएमात्र पर्यटन प्रवद्र्धन र नागरिकलाई आयआर्जनसँग जोड्ने बाटो सहज बनाउन सकिने धारणा राख्नुभयो ।

कीर्तिपुर नगर मेयर रमेश महर्जनले आफ्नो स्थानीय तहमा पर्यटन गुरुयोजना निर्माण भइरहेको सन्दर्भमा थाहानगरबाट उल्लेख्य सिकाइ भएको बताउनुभयो । कीर्तिपुर नगर उपमेयर खड्का, पर्यटन विकास समिति संयोजक डंगोल, पर्यटनविज्ञ तारालाल श्रेष्ठलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्