‘दरबारमार्गमा आपराधिक योजना कार्यान्वयन असंम्भब’



दानवहादुर मल्ल
प्रमुख, महानगरीय प्रहरी प्रभाग दरबारमार्ग

उपत्यकामा सुरक्षाको दृष्टिकोणले अत्यन्तै संबेदनशील मानिने क्षेत्र मध्येको एक हो दरबारमार्ग । सो क्षेत्रमा सामान्यदेखि अन्तर्राष्ट्रिय प्रकृतिका अपराधिक गतिविधि हुने गर्दछ । पछिल्लो समय रात्रीकालिन व्यवसायलाई मर्यादित बनाउन प्रहरीले काठमाडौँ लक्षित ‘अपरेशन रेस्क्यू अन्डर एज’ अभियान चलाईरहेको छ ।

ठूला सुन तस्करदेखि हातहतियार र गुन्डागर्दीको हब बनेको दरबारमार्ग अहिले भने केही शान्त बन्न बनेको बताउँछन् महानगरीय प्रहरी प्रभाग दरबारमार्गका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी दानवहादुर मल्ल ।

नेपाल प्रहरीमा कमान्डो तथा भीआईपी सुरक्षामा दख्खल राख्ने उनी धेरैपटक शान्ति मिसनमा समेत सहभागी भैसकेका अनुभवि प्रहरी अधिकृत मानिन्छन् । मल्लसँग दरवारमार्गको रात्रीकालिन व्यवसाय र सुरक्षा अवस्थाबारे नेपाल समाचारपत्रका लागि प्रशान्त वलीले गरेको कुराकानी ।

अहिले दरवारमार्गको सुरक्षा व्यवस्था कस्तो छ ?
बिगतमा मुख्य समस्या प्रहरी भित्रकै थियो । प्रहरीनै व्यक्तिगत स्वार्थमा अल्झिएर कमाउ धन्धामा लाग्ने गरेको यसअघिको आरोपलाई बदल्न लागिपरेको छु । प्रहरीका कारण ‘मुख्य जिम्मेवारी गौण र गौण हुनुपर्ने बिषय मुख्य’ बनेर आएको अवस्था थियो । अव त्यस्तो अवस्था छैन । दरबारमार्ग प्रहरीले सिंगो संगठनको परिभाषालाई बदल्ने प्रयास गरिरहेको छ ।

यसअघि व्यावसायिक काम कसरि र कुन गुणस्तरमा भयो भन्दा पनि यो क्षेत्रमा आएर कति कमायो भन्नेलाई हेर्ने अवस्था र प्रतिस्पर्धा थियो । जनतासँग जोडिएर कसरी काम भन्दा पनि अपराधिक पृष्ठभूमि भएकाहरुलाई संरक्षण गर्ने र प्रहरीसँग मिलेमतो नगरी व्यवसाय समेत सञ्चालन गर्न सकिन्न भन्ने अवस्था थियो । तर अहिले त्यो अवस्थाको अन्त्य भइसकेको छ ।

त्यस्तो अवस्था सुधार्न के कस्ता काम गर्नु भएको छ ?

मैले यस वृतको नेतृत्व सम्हाले आन्तरिक अनुसाशनलाई प्राथमिकतामा राखेको थिए । प्रहरी कर्मचारी स्यवं अनुशासित नभएसम्म सुरक्षाको क्षेत्रमा सुधार ल्याउन सकिने स्थिति थिएन। प्रहरीमा मध्य र निम्न वर्गबाट आफ्नो भविष्य बनाउन चाहने प्रहरी कर्मचारीलाई नेतृत्व दिन र सहि नेतृत्व बन्न उसलाई कारवाही मात्र गरेर भन्दा पनि सुध्रने मौका दिनुपर्दछ ।

यसमा मैले फरक भएर काम गरिरहेको छु र सुध्रिएर जाने मौकाका साथै प्रहरीको व्यावसायिक सिप, क्षमता वृद्धि गर्ने गरि काम गरिरहेको छु । प्रहरी भित्र नै एक अर्कालाई सजग बनाउन एक एर्काको निगरानी समेत राख्ने गरिएको छ । जसको नतिजा अहिले सामान्य कर्मचारीदेखि कार्यालय प्रमुखसम्म एक भएर काम गर्न सक्ने अवस्था बनेको छ।

बिगतमा के कस्ता चुनौती थिए ? अहिले कस्तो छ ?
बिशेषगरि दरबारमार्गमा पर्यटकीय क्षेत्रमा पर्यटकलाई ठग्ने प्रवृत्ति समेत यस वृत मातहतका क्षेत्रमा थियो । यस क्षेत्रमा धेरैजसो दक्षिण एसियाली मुलकका पर्यटकलाई दुख दिने तथा लुटिने गरेका घटना बढी थियो । त्यस समयमा प्रहरीसँग मिलेमतो रहेको भन्दै पर्यटक तथा ग्राहक धम्काउने स्थिति रहेको थियो । जुन यहा एकदमै सामान्य मानिने गरिन्थ्यो ।

त्यस्तो व्यवहार सामान्य नागरिकदेखि प्रहरीसम्मलाई चुनौती बनिरहेको थियो । यस्ता बिषयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबिलाई धुमिल बनाईरहेको थियो । त्यही समस्यालाई समाधान गर्दै त्यससँगै जोडिएका अपराधिक गतिविधिलाई बिस्तारै नियन्त्रण गर्दै गईरहेको छु । म दावाका साथ भन्छु अहिले यस क्षेत्रमा आफन्त, परिवारको साथ र एक्लै ढुक्कसँग घुम्न सकिन्छ । जुनसुकै डान्सबार रेष्टुरेन्ट तथा रात्री क्लवमा आफ्नो समय सुरक्षित ढंगले बिताउन सक्ने अवस्था बनेको छ ।

यसअघि सानमानका साथ आएर व्यवसायी धम्काउने र गुण्डागर्दी गर्नेहरु योजना बनाउने तथा कार्यान्वयन गर्नेदेखि सुन कारोवारी र अन्तर्राष्ट्रिय अपराध सम्मका योजना बन्ने गथ्यो । यो क्षेत्रमा अब लुकिछिपी योजना त बन्न सक्लान् तर आपराधिक योजना कार्यान्वयन गर्न सम्भब भने छैन । प्रहरी एकदमै चनाखो अवस्थामा छ र क्षणभरमै सूचना प्राप्त गर्न सकिने संयन्त्र र जनशक्ति हामीसँग हरबखत तयारी अवस्थामा छ । यस्ता नयाँ शंकास्पद अपराधि देखि पुराना टोले गुण्डा र गुण्डा नाईके सम्मको पहिचान गरि सोहि अनुरुपको छड्के जाँच नियमित चेकजाँच भईराखेको छ । हामी हाम्रो मिसनमा सफल बनिरहेका छौँ ।

स्थानीय र व्यवसायीसँगको समन्वय कस्तो छ ?
यहाँ दरवामार्ग विकास बोर्ड तथा स्थानीय आफै जागरुक भएका छन् । ‘प्रहरी मेरो साथी’ भन्ने प्रहरीको मूल मर्म कार्यान्वयन भएको छ । प्रहरीसँग विश्वास गरेर स्थानियले सूचना दिने र आवश्यक सुरक्षाको माग गर्ने गरेका छन् । प्रहरी आफै मात्र सुरक्षामा खटिएर हुँदैन, स्थानीयको साथ र सहयोग चाहिन्छ ।

आपराधिक घटना र उजुरीको अवस्था के कस्तो छ ?
रात्रीकालिन व्यावसायलाई प्रशासनको निर्णय अनुसार बिभिन्न समुहमा राखेर सोहि अनुरुपको सुरक्षा र निगरानी गर्ने गरिएको छ । चाडपर्वका समयमा धेरै हुने चोरी र अपराधिक घटनाको उजुरी हामीसँग धेरै नै कम भईसकेको छ । अझ यस क्षेत्रबाट अन्यत्र लगेर पर्यटक ठग्ने प्रवृति बढेको सुचनाका आधारमा समेत यस्ता गतिबिधि नियन्त्रण गर्नका लागि हामि लागिपरेका छौं । सुरक्षा अवस्था पूर्ण रुपमा प्रहरीको नियन्त्रणमा छ । हामीले यो क्षेत्रमा हरसमय खटिएका छौ, ढिलोमा २ देखि ५ मिनेटभित्र घटनास्थलमा पुग्ने गरि अलर्ट अवस्थामा छौं ।

प्रहरीले काठमाडौँ लक्षित ‘अपरेशन रेस्क्यू अन्डर एज’ अभियान कस्तो चलिरहेको छ ?
पछिल्लो समय रात्रीकालिन व्यवसायमा काममा लगाउने र त्यस्ता गतिविधिमा बालबालिका संलग्न गराउनेलाई बालबालिका ऐन अनुसार १८ बर्ष उमेर नपुगेकालाई काममा लगाएर श्रम शोषण गर्नेहरु विरुद्ध अभियान लक्षित छ ।

सञ्चालनमा रहेका क्लव र डिस्को जस्ता व्यवसायमा संलग्न गराउँदा हुन सक्ने संभावित विकृति नियन्त्रण गर्न दशैँ लगत्तै काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्दार गर्न यस्तो अभियान शुरु भएको हो । यस्तो कार्यमा संलग्न हुने वालवालिकालाई उद्दार गरेर चेतावनी दिने तथा परिवार तथा सामाजिक संस्थालाई जिम्मा लगाउने गरिएको छ । साथै त्यस्तो कार्यमा संलग्न गराउनेहरु माथि कारवाही गरिएको छ ।

दरवारमार्ग जस्ता क्षेत्रमा प्रहरीको नेतृत्व कमाउन कै लागि आउँछ भन्ने आरोप छ । प्रहरीकै कारण पटक–पटक दोहोरिने आलोचनाबारे के भन्नुहुन्छ ?
केहि व्यक्ति र प्रवृत्तिले गर्दा सिंगो नेपाल प्रहरी संगठनको विश्वासमा आँच पु¥याउने गतिविधि भए जसले गर्दा संगठनले कमाएको जनविश्वासमा कमी आएको छ । तर सिंगो संगठनमा त्यस्तो छैन, हामि हाम्रो तर्फवाट जिम्मेवारी र कर्तव्यमा कटिबद्ध छौँ । ‘प्रहरी मेरो साथी’ भन्ने परिभाषालाई यथार्थमा बदल्ने र सकारात्मक सन्देश दिनेगरी काम गर्नेछौ ।

अर्को आरोप जुन प्रहरी दरबारमार्ग प्रहरि वृत्तको सन्दर्भमा प्रहरी नै कमाउ धन्दामा लाग्ने गरेको आरोप छ यसअघि थियो होला अब छैन । मेरो चुनौती भयो प्रमाण सहित आउनुस जुनसुकै कारवाही भोग्न तयार छु । अबको प्रहरी पहिलेको जस्तो छैन । सर्वसाधारण, सरोकारवाला, व्यवसायी, सञ्चारमाध्ययम सबैको खबरदारी र हातेमालो हामीलाई आवश्यक छ र हामीले सबैबाट पाएको त्यो विश्वासलाई बचाउने गरि काम गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्