इवान्काले निजि अकाउन्टबाट इमेल पठाएको खुलासा



वासिङटन (एजेन्सी)
राष्टपति डोनाल्ड ट्रम्पकी छोरी तथा ह्वाइट हाउसकी वरिष्ठ सलाहकार इवान्का ट्रम्पले गत बर्ष सरकारी कामकाजसँग सम्बन्धित सयौं इमेल आफनो निजी अकाउन्टबाट पठाउने गरेको खुलासा भएको छ ।

ती इमेलहरु ह्वाइट हाउसका सहयोगीहरु, क्याबिनेटका सदस्य र इवान्का ट्रम्पका सहायकहरुलाई पठाइएको वासिङटन पोस्टले जनाएको छ । ती मध्य कयौं इमेल सरकारी नियम उलंघन गर्दै पठाइएका छन् ।

सन् २०१६ मा राष्टपति पदका लागि भएको चुनावमा आफना प्रतिद्वन्द्वी रहेकी हिलारी क्लिन्टनको यसतै घटनालाई लिएर ट्रम्पले नराम्रो आलोचना गरेका थिए । उनले विदेशमन्त्री रहँदा आफना निजी इमेल सर्वरको प्रयोग गरेकी थिइन् । यस अपराधका लागि हिलारीलाई जेल पठाउनु पर्ने ट्रम्पले बताएका थिए ।

इवान्काका वकिल अबे लोवेलका प्रवक्ता पिटर मिरजानियनले यस घटनालाई लिएर सरकार परिवर्तनका क्रममा उनले कहिलेकाहीँ निजी अकाउन्टको प्रयोग गरेको जानकारी दिए ।

ती संदेशहरुमा कुनै प्रकारको गोप्य जानकारी नपाइएको मिरजानियनले जोड दिए । ती मध्य कुनै पनि इमेल डिलिट नगरिएको र रिकर्ड कानुन अनुरुप त्यसलाई सुरक्षित राखिएको पनि उनले बताए । उनले भने– यस विषयमा १४ महिना पहिला प्रेसमा आएको थियो, त्यतिबेला इवान्का ट्रम्पले ह्वाइट हाउसका वकिलसँग आफनो इमेल प्रयोगको समिक्षा गरेकी थिइन र त्यसलाई अवलम्बन गरिन् । उनले यस विषयमा कांग्रेसका नेताहरुलाई पनि बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्