दक्षिण एसियाली शारीरिक सुगठन यही सातामा



काठमाडौं, (नेस)
प्रथम दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिपको आयोजना नेपालले गर्ने भएको छ ।

मंगलबार भएको पत्रकार सम्मेलनमा आयोजक नेपलीज फेडेरेसन अफ बडी बिल्डिङ तथा फिटनेस (एनएफबीएफ) ले सोको जानकारी गराएको हो । मंसीर ७ देखि ९ गतेसम्म राष्ट्रिय सभा हलमा संचालन हुने प्रतियोगितामा दक्षिण एसियाका आठ राष्ट्रका करिब १ सय प्रतिस्पर्धीले सहभागिता जनाउने अनुमान लगाइएको छ ।

प्रतियोगितामा पुरुष बडी बिल्डिङतर्फ ६०, ६५, ७०, ७५, ८०, ८५ केजी तथा ८५ केजी भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुष फिजिक स्पर्धामा १६८ सेमी माथि र १७१ सेमीमाथि प्रतिस्पर्धा हुनेछ । यसैगरी महिला फिजिकमा १६२ सेमी तथा त्योभन्दा माथि प्रतिस्पर्धा हुनेछ ।

एसियन फेडेरेसन अफ बडी बिल्डिङ तथा फिटनेस (एएफबीएफ) ले आयोजना गर्ने प्रतियोगिताको अनुमानित बजेट ४२ लाख रुपियाँ रहेको छ । प्रतियोगितामा सहभागि हुन अहिलेसम्म ५० जना अन्तर्राष्ट्रिय खेलाडीले नाम दर्ता गराएको पनि एनएफबीएफका सदस्यसचिव लोकेन्द्र परियारले बताए । परियारले राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले पनि सहयोग गर्ने वचन दिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्