महिला साफ च्याम्पियनसिप नेपालमा हुने



नेपाल समाचारपत्र, काठमाडौं
महिला फुटबलले एकपछि अर्को उपलब्धि हासिल गरेकोमा थप एक उपलब्धि थपिएको छ ।

आगामी वर्ष २०१९ मा आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसिपको आयोजक नेपाल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनायो ।

मंगलबार दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले नेपाललाई आयोजनाको जिम्मेबारी दिएको पत्र एन्फालाई आएको हो । विराटनगरमा मार्च ११ देखि २१ तारिखसम संचालन हुने प्रतियोगिता यसअघि श्रीलंकाले आयोजना गर्नु पर्ने तय भएको थियो । तर श्रीलंकाले डिसेम्बरमा आयोजना गर्न असमर्थ भएको भनेपछि नेपाललाई आयोजक चुनेको हो ।

नेपालले विराटनगरमा आयोजना गर्ने प्रस्ताव राखेपछि साफले आयोजना स्थलको अनुगमन गरेको थियो । साफले नेपालको प्रस्ताव स्विकार गरेपछि विराटनगरले फुटबलको ठूलो प्रतियोगिता आयोजना गर्न पाएको छ ।

नेपालमै आयोजना हुने भएपछि नेपाली महिला रािष्ट्रय फुटबल टोलीको लागि पहिलो उपाधि जित्ने सुवर्ण अवसर समेत आएको छ ।

नेपालले यसअघि तीन संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न सकेको थिएन । पछिल्लो संस्करणमा भने नेपाल सेमिफाइनलमै रोकिएको थियो । सिलगुडीमा भएको सो प्रतियोगिताको सेमिफाइनलमा नेपाल भारतसँग २–१ गोलअन्तरले हारेको थियो । यसअघि पनि नेपाल भारतसँगै हारेर उपाधि जित्नबाट वंचित भएको थियो ।

तर हालको प्रदर्शनमा भने नेपाली महिला खेलाडीहरुले सानदार खेल देखाइरहेका छन् । केही साता अगाडि म्यानमारमा भएको ओलम्पिक छनोटको एसियाली क्षेत्रअन्तर्गत पहिलो चरणमा नेपालले भारतलाई १–१ बराबरीमा रोकेको थियो ।

यसअघि भुटानमा सम्पन्न साफ यु १८ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराउन सफल भयो । यसैगरी एएफसी यु १९ एसियन महिला च्याम्पियनसिपको छनोटमा पनि नेपालले भारतलाई २–० गोलअन्तरले पाखा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्