अब विराटनगरबाटै माउन्टेन फ्लाइट



नेपाल समाचारपत्र, विराटनगर
अब विराटनगरबाटै माउन्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ले शनिबारदेखि नियमित माउन्टेन फ्लाइट गराउन भएको हो ।
काठमाडौंभन्दा सस्तो दरमा माउन्टेन फ्लाइट गराउन सकिने सम्भावना देखेका पँर्वका व्यवसायीले यती एयरलाइन्ससँगको सहकार्यमा पर्यटन तथा होटल व्यवसायीको पहलमा माउन्टेन फ्लाइट उडाउन लागेका हुन् ।

उनीहरूले यसअघि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिदिन आग्रह गरेका थिए । तर, दुवै सरकारले त्यसलाई अघि बढाउन समय लगाउने संकेत पाएपछि आफ्नै पहलमा माउन्टेन फ्लाइटको तयारी थालिएको विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी उडानलाई पहिलो चरणमा पर्यटन व्यवसायीहरुको पहलमा माउन्टेन फ्लाइटको उडानको तयारीको बारेमा जानकारी दिनुभयो । विराटनगरमा २०७३ फागुनमा भएको विराट एक्स्पोको बेला माउन्टेन फ्लाइट गराइएको थियो । तर, अब भने नियमित हरेक हप्ता माउन्टेन फ्लाइट गराउन लागिएको हो । शनिबारदेखि यती एयरलाइन्सबाट हरेक शनिबार हप्तामा एउटा फ्लाइट गर्ने तयारी भएको श्रेष्ठले जानकारी दिनुभयो । विराट हालिडेजको नाममा १० जना व्यवसायीले विराटनगरबाट माउन्टेन फ्लाइटको तयारी थालेका हुन् ।

पहिलो चरणमा एक नम्बर प्रदेशका नागरिकलाई लक्षित गरिएको छ । त्यस्तै बोर्डर आसपास भारतको बिहार, बंगाल र सिक्किमका पर्यटक लक्षित गरी उडान गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रदेश सरकार, मुख्यमन्त्रीको नारा नै माउन्टेन फ्लाइट थियो, त्यही नारालाई हामीले होस्टेमा हंैसे गरेका हौं,’ श्रेष्ठले भन्नुभयो ।

यसले भारतीय पर्यटकको बसाई लम्ब्याउन सकिने व्यवसायीको भनाइ छ । अहिले चार्टरको रुपमा हप्तामा एउटा गर्ने तयारी छ भने बिस्तारै नियमित गराउने तयारी हो । माउण्टेन फ्लाइट सञ्चालनको लागि विराटनगरमा रहेका सबै ट्राभल एजेन्सीको भँमिका रहेको छ । प्रतिव्यक्ति ९ हजार ९ सयमा ५५ मिनेटको माउन्टेनको आनन्द लिन सकिने गरी तयारी थालिएको हो ।

एउटा माउन्टेन फ्लाइटमा १९ जनालाई उडाइने र कञ्चनजंघा, मकालु र सगरमाथाको दृश्य हेर्न सकिने छ । प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन् । जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाइट हुन सक्ने व्यवसायीको अनुमान छ । काठमाडौं–लुक्काका लागि अहिले दैनिक ५० उडान हुने गरे पनि अझै अभाव देखिँदै आएको व्यवसायीहरु बताउँछन् । विराटनगरका अगुवा पर्यटन व्यवसायी तथा नेपाल उद्योग बाणिज्य संघ महासंघ प्रदेश १ का पर्यटन तथा हवाई यातायात समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा ‘विराट होलिडेज’ बनाइएको थियो ।

व्यवसायीहरूले लहान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगायतका आन्तरिक प्रमुख बजार र सीमावर्ती भारतीय बजारलाई लक्षित गरी माउन्टेन फ्लाइटको तयारी गरेका हुन् । माउन्टेन फ्लाइटसँगै धनकुटाको भेडेटार–हिले हुँदै बसन्तपुरसम्मको प्याकेज बनाउने तयारी पनि भारतीय पर्यटकलाई लक्षित गरि थालिएको छ । नागरिक उड्डयन प्राधिकरणको विराटनगर कार्यालयका प्रमुख टेकनाथ सिटौलाले माउन्टेन फ्लाइटका लागि विमानस्थलमा कुनै समस्या नभएको जानकारी दिनुभयो । तर, उड्ने रूट र उडानको समय तालिकाका लागि अनुमति लिनुपर्ने प्राविधिक तथा कानुनी प्रक्रिया रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्