अनुसन्धानका कर्मचारी घूससहित पक्राउ



विष्णु तिमिल्सिना, बर्दिया
राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियामा कार्यरत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाको टोलीले गोप्य सुचनाका आधारमा सहायक सूचक दिपेन्द्र पनेरुलाई सोमवार वेलुकी पक्राउ गरेको हो ।

पक्राउ परेका पनेरुले गुलरिया नगरपालिका वडा नम्वर ६ स्थित भन्सार रोडमा रहेको मिन्सु सेवा क्लिनिकबाट २० हजार रुपैया घुस लिएको आरोपमा निजलाई पक्राउ गरिएको कुरा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी गराउनु भयो । पक्राउ गरिएका अनुसन्धानका सहायक सूचकलाई तत्काल जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको र मंगलबार अख्तियार अनुसन्धान आयोगको कार्यालय नेपालगंजमा बुझाएको कुरा उहाँले बताउनु भयो ।

अनुसन्धानका कर्मचारीले भारतीय ब्राण्डका औषधि बेच्न पाउने लाईन (सेटिङ्ग) मिलाई दिए बापत पटक पटक पैसा मागेर सताउने गरेको मिन्सु सेवा क्लिनिकका शैलेन्द्रकुमार गुप्ता (मिन्सु) ले बताउनु भयो । उनले भने ८० हजार रुपैया मागेकोमा मैले बल्लतल्ल २० हजार रुपैया उपलब्ध गराएको हुँ भन्नु भयो । यस प्रकार घुस लिँदै राष्ट्रिय अनुुसन्धानका कर्मचारी पक्राउ परेको पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्