जसको घर नै वृद्धाश्रम



नरेन्द्र केसी, घोराही, दाङ
उमेर शताब्दीमा पुग्न अब मात्र दश बर्ष बाँकी छ । कुनै जीवनका रहर बाँकी छैनन् उहाँसँग अब । बस्यो भने उठ्न मात्रै पाँच मिनेट लाग्छ, उठ्यो भने बस्न पनि त्यति नै समय । लट्ठीको सहारामा लतारिदै थोरै ठाउँमा हिड्दा पनि निकै सकस हुन्छ उहाँलाई तर पनि जेनतेन दुःखका दिन धेकेलिरहनुभएको छ । उहाँको नाम हो– पशुपति चौधरी, उमेर ठ्याक्कै ९० पुगेको छ । हापुर बरुवागाउँ घर हो तर आफन्त भन्नु यही बृद्धाश्रम मात्रै ।

हापुरकै बिष्णु बिश्वकर्मा पनि ८४ बर्ष हुनुभयो । उहाँ घरपरिवारबाट सहाराविहीन भएर मात्रै होइन, उहाँले घर छाड्नुको कारण समाज पनि हो । जुन समाजलाई उहाँले आफ्नै घर ठानेर आडभरोसका साथ बस्नुभएको थियो, त्यही समाजले बोक्सी आरोप लगाएपछि उहाँको फेरि पुरानो समाजमा फर्कने आशा पलाएन । बरु उहाँ धेरै ठाउँबाट बटुलिएका बृद्धाश्रमका बृद्धबृद्धाकै समाजलाई प्यारो मानेर यही बसिरहनुभएको छ ।

रोल्पा गजुलकी ७० बर्षीया लालकुमारी पुरी बृद्धाश्रमकै नयाँ सदस्य हुनुहुन्छ, जो यहाँ आएको तेह्र महिना मात्रै भयो । लामो समयदेखि छोरा भारतमा काम गर्न गएकाले छोरा आउला र केही सहज होला भन्ने आशामा रहेकी लालकुमारीको छोरा भारतबाट आउन ढिला गरेको र बुहारीले सहनै नसक्ने गरी अपमान गरेपछि उहाँ बृद्धाश्रमको शरणमा आउनुभएको हो । अहिले पनि नातिको मायाँ लाग्छ उहाँलाई तर बुहारीको वचन सम्झँदा नातिको मायाँ आँसुसँग साटेर उहाँ यहाँ बस्नुभएको छ ।

यस्तै यस्तै फरक फरक कथासहित भित्रिएका १७ जना बृद्धाबृद्धा अहिले ज्येष्ठ नागरिक सरोकार केन्द्रले सञ्चालन गरेको द्रोपताकुमारी लोहनी लक्ष्मी नारायण बृद्धाश्रम घोराही १६ तेरौटेमा आश्रम लिइरहेका छन् । स्वर्गीय खगराज लोहनीले उपलब्ध गराएको चार बिघा जमीनमा बनाइएका आवासमा बृद्धाबृद्धाले जीवनको अन्तिम क्षण गुजारिरहेका छन् ।

अहिलेसम्म यो बृद्धाश्रमको सहारामा आएका २९ जनामध्ये ९ जनाको यही आश्रममै निधन भइसकेको छ । जसको उनीहरुकै संस्कारअनुसार अन्त्येष्टि गर्ने गरिएको केन्द्रका अध्यक्ष भुपाल गिरीले जानकारी दिनुभयो । दुइ जना घरमै पुनस्र्थापित भएका छन् भने बाँकी १७ जना अहिले पनि यही छन् ।

केन्द्रले विभिन्न स्रोतको खोजी गरेर उनीहरुको भोजनको ब्यवस्था गर्ने गरेको छ । त्यसो त उनीहरुलाई धर्मकर्म र भजनकीर्तनका लागि आकर्षक मन्दिरको समेत ब्यवस्था गरिएको छ । घोराही बजार नजिकै र घोराही–तुलसीपुर सडकको थोरै उत्तरतर्फ यो बृद्धाश्रम रहेकाले धेरैले सामाजिक सेवा वा धार्मिक पुण्य कामका लागि यही बृद्धाश्रममा दान गर्ने गरेकाले पनि केन्द्रलाई केही सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्