सडकविहीन बैतडीका दुई स्थानीय सरकार



विनोद सिंह विष्ट, बैतडी
विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातवाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन्् ।

जिल्लाका २ वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको हो । स्थानीय तहका केन्द्रमा सडक नपुग्दा सेवाप्रवाहमा असहजता भएको सम्वन्धित स्थानीय तहहरुले जनाएका छन् ।

अझै सम्म पनि गाउँमा सडक नपुग्दा त्यहाँका नागरिकहरु पैदल हिडेर दैनिकी चलाउन बाध्य छन् । सडक नपुगेका स्थानीय तहका बासीन्दाहरु कष्टकर जिवन बिताईरहेका छन् ।गाउँमा सडक नपुगेकाले बिरामी पर्दा त्यहाँका नागरिक बिरामीलाई घण्टौ बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेका छन् ।

सिगास गाउापालिकामा अहिलेसम्म सडक पुग्न नसकेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । गाउँपालिकाका १ , २ र ३ नम्बर वडालाई मात्र सडकले छोएको धामीको भनाई छ । गाउँपालिकाका बाकी ६ वडामा सडक पुग्न बाकी छ । धामीका अनुसार अबको १ वर्ष भित्र गाउँपालिका भरि सडक पुर्याउने लक्ष्य गाउँपालिकाले राखेको छ । गाउँमा सडक नपुग्दा आफुहरुलाई धेरै समस्या हुने गरेको सिगास गाउँपालिका वडा नम्बर ७ का शिक्षक चक्र बहादुर साउँदले बताए । गाउँमा कोही बिरामी हुँदा समेत घण्टौं बोकेर लैजानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

डिलाशैनी गाउँपालिकामा पनि सकड नपुग्दा धेरै समस्या भएको वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए । रानाका अनुसार गाउँपालिकाको वडा नम्बर २ , ३ र ६ को केहि भागमा सडकले छोए पनि अन्य ठाउँमा सडक पुग्न सकेको छैन । अहिले स्थानीय सरकार सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले केही समयमै डिलाशैनीका सबै ठाउँमा सडक पुग्ने रानाले बताए ।

प्रदेश र संघीय सरकारले वडा–वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि बैतडीका २ वटा स्थानीय तहमा सडक सन्जालसंग जोडिन बाँकी छन् ।

जनताका समस्या समाधान गर्ने उद्देश्यले गाउँघरमै गठन भएको स्थानीय सरकारले जनताका यस्ता समस्या समाधानको लागी खासै चासो नदिएको नागरिकको गुनासो रहेको छ । जनताको माग र आवश्यकताभन्दा पनि आफ्नै सेवासुविधामा निर्वाचित जनप्रतिनिधीले आरोप लागेको छ ।

सडक सञ्जालमा जोडिदै दुर्गम सिगास गाउँपालिका
बैतडीको दुर्गम सिगास गाउँपालिका सडक सञ्जालसंग जोडिने भएको छ । सिगास गाउँपालिकाका विभिन्न ग्रामीण सडकहरुको डिपिआर तयार पार्ने काम शुरु भएको छ । गाउँपालिकाको केन्द्रसम्म समेत सडकको पहुँच नभएकाले गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

गाउँपालिकाले सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणका लागि गाउँपालिकाका कर्मचारी खटाईसकेको छ ।
५ ओटा सडकको डिपीआर बनाएर निर्माण कार्य थालनि गर्ने अध्यक्ष धामीले बताए । विफ्याकटाल–सौनखेत–गर्जे, विन्द्रावन–सिगास, गाँजरी–कुर्चीनेटा–थालाकाँडा, श्रीभावर–गन्सुर–दोगाड र देउलेक–दोगाड हुँदै मौरेबगर सडकको डीपीआर तयार पार्ने कार्य भईरहेको छ ।

सडक निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा चार करोड बजेट विनियोजन गरेको छ । सडकको पहुँचबाट टाढा रहेका नागरिकको सडक पहुँच पुर्याई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष धामीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्