गोकुलेका महिलामा गम्भीर समस्या, ‘पाठेघर खसेर घाउ भइसकेछ’



मोतीराम तिमल्सिना, काभ्रे
‘पाठेघर खसेर घाउ समेत भईसकेको रहेछ, पेटमा पानीका फोका फोका देखियो’–डा. अनु कुशवाहले भनिन्–‘नेपालको राजधानीसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकमा रहेका महिलाहरुको यस्तो समस्याले म भावकु भएँ ।’

सदरमुकाम धुलिखेलदेखि सिन्धुलीको रामपुर हुँदै ८ घण्टाको सवारी यात्रा पछि पुगिने महाभारत गाउँपालिकाको वडा नम्वर १ गोकुलेमा आयोजना गरिएको स्वास्थ्य शिविरमा जचाँउन आएका महिलाहरुले समस्या बताउँदै गएपछि अल्ट्रा साउण्ड गर्दा महिलाहरुको पाठेघर खसेर घाउ भएको, पाठेघर भित्र पानीका फोका फोका देखिएको र अधिकांश महिलाहरुको आङ्ग खसेको देखिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रे र महाभारत गाउँपालिकाले एकिकृत घुम्ती सेवा कार्यक्रमको आयोजना गरि स्थानीयस्तरमा नै सेवा दिएका हुन् । नोबेल अस्पताल सिनामङ्गलको प्राविधिक सहयोगमा आयोजना गरिएको एक दिन स्वास्थ्य शिविरमा ४ सय ७३ जनाले सेवा लिए ।

‘७६ बर्षिया फुलमाया तामाङको आङ्ग खसेर पेटमा पानीको फोका फोका भईसकेको रहेछ’–डा अनु कुशवाहले भनिन–‘समयमै उपचार नहुँदा त्यहि कारण उहाँलाई समस्या पर्नेछ ।’ फुलमाया जस्तै ७२ महिलाहरुले शिविरमा पाठेघरको परिक्षण गराए । ति मध्ये ६० प्रतिशत अथार्त ४० जना महिलाहरुमा पाठेघर सम्वन्धी समस्या देखिएको डा. मिलन पौड्यालले बताईन् । ‘महिलाहरुमा गम्भिर प्रकारको समस्या पाठेघरमै देखियो’–डा. नमिता अधिकारीले भनिन । प्रसुती तथा स्त्रि रोग विशेषज्ञ डाक्टरहरुबाट गाउँमै पहिलो पटक सेवा पाएका महिलाहरुले समय समयमा यस्तो शिविर आयोजना हुँदा सेवाबाट लाभान्वित हुने बताए ।

महाभारत गाउँपालिकाको गोकुलेमा पहिलो पटक १८ जना स्वास्थ्य शिविरका लागि चिकित्सकहरुको टोली पुगेको थियो । महिलाहरुमा गम्भिर समस्या देखिएपछि नोबेल अस्पतालको टिमले निशुल्क सेवाको घोषणा गरेको छ । अध्यक्ष नवराज पाण्डेले महिलाहरुको पाठेघर सम्वन्धी समस्याको निशुल्क उपचार गर्ने घोषणा गरे भने शिविरमा देखिएका २ सय १५ मध्ये १२ आँखा रोगीहरुको निशुल्क मोतिया विन्दुको शल्यक्रिया गर्ने जानकारी गराए । कम समयमै विवाह गरी बच्चा जन्माउनु, बच्चा जन्माउनु अघि र बच्चा जन्माएपछि महिलाहरुले गर्नु पर्ने हेरचाह र खानपानमा ध्यान नदिनु, नियमित स्वास्थ्य परिक्षण नगर्नु जस्ता समस्या रहेको विशेषज्ञहरुको टोलीले जानकारी गरायो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नागरिकहरुको स्वास्थ्य पहिलो धन र सम्पति भएकाले शिविर आयोजना गरिएको बताए । गाउँपालिकामा रहेका सबै स्वास्थ्य चौकीहरुलाई स्तरउन्नती गरी अस्पताल बनाउन र अस्पताल मार्फत नियमित शिविर परिक्षणको कार्यक्रम गर्न विशेषज्ञहरुलाई पहिलो पटक गोकुलेमा पु¥याईएको जिम्बाले बताए ।

शिविरबाट स्थानीयहरु खुशी मात्रै नभई सेवाबाट लाभान्वित पनि भएको उनले बताए । गाउँपालिकाका सबै वडामा यस्ता कार्यक्रम गर्न नोबेल अस्पताललाई सहयोगका लागि अध्यक्ष जिम्बाले आग्रह गरे । नोबेलका अध्यक्ष पाण्डेले महाभारत गाउँपालिकाका अधिकाशं ब्यक्तिहरु उपचारका लागि नोबेल पुगेको अवस्थामा उपचारमा ५० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरे भने एसईई उर्तिण विद्यार्थीहरु मध्ये गाउँपालिकाले सिफारिरस गरेका २ विद्यार्थीलाई निशुल्क छात्रवृत्ति सहित शिक्षा प्रदान गर्ने जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रशासनले आयोजना गरेको घुम्ती शिविरमा गाउँपालिका र नोबेल अस्पतालको टिमले विकट क्षेत्रमा पुगेर सेवा प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्