‘सरकारले दम्भ देखायो’



काठमाडौं, (नेस)
डेमोक्रेटिक लयर्स एशोसियशन (डीएलए) का अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले सरकारले २ तिहाइको दम्भ देखाएर जनताको हकअधिकार कुण्ठित गरेको आरोप लगाउनुभएको छ ।

डिएल्एको वार्षिकोत्सवको अवसरमा मंगलबार कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रियामा उहाँले सरकार नीति, नियम पालना गर्न र कानुनी न्यायको प्रत्याभूति दिन असक्षम भएको बताउनुभयो । ‘हत्या, हिंसा, बलात्कार र अपाराधिक घटना बढिरेहका छन्, त्यस्ता व्यक्तिलाई कारवाही गर्न छोडेर सरकार उल्टै बचाउमा लागेको छ’ अधिकारीले भन्नुभयो ‘ प्रधानमन्त्री, मन्त्री र सरोकारवाला व्यक्ति र निकायले नै आफ्नो दायित्व बिर्सेका छन् ।’ डिएल्एले मन्त्रीपरिषद्ले गरेका निर्णय लुकाएर सरकारले जनताको सूचनाको पाउने हकमाथि बन्देज लगाएको समेत टिप्पणी गर्नुभयो ।

भागबण्डाका आधारमा गरिने न्यायाधीशले निश्पक्ष न्याय दिन सक्नेमा शंका भएको भन्दै अधिकारीले यस किसिमको व्यवस्थाले जनतामा गलत सन्देश जाने बताउनुभयो । डिएल्एले आफ्नो संस्था प्रजातान्त्रिक बिचारधारामा विश्वास गर्ने जनाउँदै नेपाली कांग्रेसको शुभेच्छुक संस्था रहे पनि डिएल्एको बिधानमा भने त्यस्तो उल्लेख नभएको जनाएको छ । अध्यक्ष अधिकारीले सबै व्यवसायीको साझा संस्थाका रुपमा लाने विषयमा छलफल भइरहेको जनाउनुभयो ।

गत साउनमा भएको महाधिवेशनले अधिकारीको नेतृत्वमा संघीय सञ्रचनासहितको नयाँ कार्यसमिति निर्बाचित भएको हो । लक्ष्मण अर्यालको नेतृत्वमा २०४७ साल मंसीर ५ गते संस्था औपचारिक दर्ता भएको थियो । स्थापना दिवसको उपलक्ष्यमा संस्थाले ३ दिनसम्म विविध कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्