राष्ट्रिय परिचयपत्रको महत्व पनि दर्शाऊ



निकै ठूलो चर्चापछि राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमबारदेखि पाँचथर सदरमुकाम फिदिमबाट ‘सेक्युरिटी चिप्स’ सहितको राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवती भण्डारी राष्ट्रिय परिचयपत्र लिने नेपालकै पहिलो व्यक्ति बन्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापा पनि सोही अवसरमा भण्डारीबाट परिचयपत्र लिँदै राष्ट्रिय परिचयपत्र लिने दोस्रो व्यक्ति बन्नुभएको छ ।

यस्तो परिचयपत्र वितरणका लागि गत असार ९ गतेदेखि पाँचथरबाट विवरण संकलन शुरु गरिएको थियो । पहिलो चरणमा १ लाख १७ हजार थान परिचयपत्र वितरण गरिने बताइएको छ । त्यसमध्ये ७ हजार सिंहदरबारका कर्मचारीलाई र बाँकी पाँचथरवासीलाई प्रदान गरिने पञ्जीकरण विभागले जनाएको छ । पाँचथरबाट शुरु भएको अभियान दोस्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनपुर र अछाममा पनि सञ्चालन गर्ने विभागको तयारी छ ।

अत्याधुनिक भनिएको ‘सेक्युरिटी चिप्स’ कार्ड फ्रान्सेली कम्पनीले तयार गर्ने जिम्मेवारी पाएको छ । परिचयपत्र वितरणका लागि गृह मन्त्रालय मातहत विभाग स्थापना गरिएको छ । सिंहदरबारमा रहेको विभागको काम कार्वाहीलाई चुस्त र परिचयपत्रमा समेटिने सूचना सुरक्षितसँगै विश्वसनीय बनाइएको गृह मन्त्रालयको दाबी छ । मन्त्रालयले यस्तो दाबी गरे पनि आमसर्वसाधारणबाट संकलन गरिने व्यक्तिगत सूचना कहाँ–कहाँ राखिन्छ र कुन–कुन प्रयोजनमा प्रयोग हुन्छ भन्ने शंका गर्ने अवस्था पनि उत्तिकै छ । संविधानले व्यक्तिको गोपनीयताको हक सुनिश्चित गरे पनि परिचयपत्रका लागि संकलन गरिएको सूचना केही गरी दुरुपयोग भएमा व्यक्तिको मानहानि, सम्पत्तिको दुरुपयोग, ब्लाकमेलिङ गर्ने अवस्था नआउला भन्न सकिन्न ।

गोपनीयता सुरक्षामा उच्च सतर्कता अपनाउन सरकार र मातहतका निकायको बफादारीको खाँचो रहेको विज्ञहरु औल्याउँछन् । राष्ट्रिय परिचयपत्र आगामी पाँच वर्षमा सबै नेपालीले प्राप्त गरिसक्ने सरकारी दाबी छ । बहुउपयोगी भनिएको यस्तो परिचयपत्र प्रयोगमा आएपछि नागरिकता, मतदाता परिचयजस्ता परिचयपत्र आवश्यक नहुने भएकाले सरकारी र अन्य सार्वजनिक सेवाप्रदायक निकायको सेवा–सुविधा लिन कुनै झन्झट नहुने पञ्जीकरण विभागका अधिकारी बताउँछन् । परिचयपत्र लिने सेवाग्राहीका १० वटै औँलाको छाप र व्यक्तिगत विवरणसहित विभिन्न १६ प्रकारका सूचना समेटिने बताइएको छ ।

सरकारले परिचयपत्र वितरण शुरु गरेकाले आमनागरिकले परिचयपत्र किन र केका लागि भन्ने प्रश्न स्वाभाविक रुपमा उठाउँछन् । नागरिकताको महत्व नबुझेका नेपालीहरुको संख्या धेरै रहेको प्रस्ट हुँदाहुँदै कार्ड वितरण गर्नु मात्रै सरकारको उपलब्धि होइन । त्यसैले कार्ड वितरणअघि र पछि पनि आमनागरिकलाई त्यसबारे बताउन÷बुझाउन सक्नुचाहिँ उपलब्धि हो ।

प्रतिक्रिया दिनुहोस्