अहा कोटेश्वर–कलंकी सडक !



सुरेश तामाङ, काठमाडौं ।
कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्न तोकिएको पछिल्लो म्याद सकिन अब केही दिन मात्रै बाँकी छ । १५ डिसेम्बर २०१८ भित्र परियोजनाको सबै काम सम्पन्न गर्न समय सीमा तोकिएको छ ।

काठमाडौं चक्रपथ सडक सुधार योजनाले योजनाको काम करिब सम्पन्न भईसकेको बताएको छ । योजनाका ईन्जिनियर निरन्जन शर्माले सडकको काम सम्पन्न गर्न अन्तिम चरणमा पुगेको बताउनुभयो ।
‘चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको खण्डमा लगभग सबै काम सकिसकेको छ योजनाको काम अन्तिम चरणमै पुगेको छ’,इन्जिनियर शर्माले भन्नुभयो–‘केही दिनमै काम सकिनेछ ।’ योजनाको मुख्य–मुख्य कामहरु छिट्टै सम्पन्न भएकोले बाँकी काम पनि निर्धारित समयमै सम्पन्न हुने उहाँले दाी गर्नुभयो ।

उहाँका अनुसार सडक सुधारको सुरुवाती चरणमा काममा ढिलाई भएपनि पछिल्लो चरणमा काम तीब्र गतिमा भैैरहेको बताउनुभयो ।
‘सुरुवाती चरणमा मात्रैै केही समस्याका कारण काममा ढिलाई भएको हो ।,’ योजनाका इन्जिनियर शर्माले भन्नुभयो–‘पछिल्लो चरणमा सुधारको कामले तीब्रता लिईरहेको छ ।’

कामको सुरुवातमा देशमा घटेको प्रमुख घटनाहरु भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको योजनाले जनायो । तर समयमै काम सम्पन्न गर्नका लािग विशेष परिस्थितिको बीचपनि काम भईरहेको योजनाको दाबी छ ।

अहिले सडकमा रोड मार्किङ, ट्राफिक लाईट, ट्राफिक चिन्हहरुको काम गरिरहेको छ । रोड मार्किङ गर्दै गर्दा कोटेश्वरदेखि कलंकीसम्मको सडक कुनै विदेशको सडक भन्दा कम नदेखेको सर्वसाधरणको बुझाई रहेको छ ।
योजनाले ५ डिसेम्बर सम्म सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको जनायो । यस सडक १० सेन्टीमिटर (सिएम) को कालो पत्रे रहने भएकोले पहिलो पटक ६ सिएम र दोस्रो पटक ४ सिएम गरी कालो पत्रे गरेको थियो ।

अन्तराष्ट्र्रिय मापदण्ड अनुसारको एक्सप्रेस वे को रुपमा सुरुमा डिजाइन भएकोले यस विचमा यस सडकको पुरै डिजाईन नमिलेको आवाजहरुपनि उठ्न थाल्यो । विभिन्न कारण यस योजनाको काममा ढिलाई भएर सर्वसाधरणले अनाहकमा कष्ट भोगेकोमा पनि आवजहरु उठेको थियो ।
सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु गरेको यस सडक सुधारको काममा चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको छ । यस सडकमा चिनियाँ ठेकेदार कम्पनी साङघाई ग्रुपले गरिरहेको छ ।

१०.३९ किलोमीटर दुरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनिँया सरकार र नेपाल सरकारबीच द्धिपक्षिय सम्झौता भएको हो ।
४ बर्षमा निर्माण पक्षले बल्खु र बालकुमारीमा पुल निर्माण, कोटेश्वर, बिएण्डबि र बागडोलमा गरी ३ आकाशे पुल निर्माण गरिसकेको छ ।

यस योजनाको आकर्षकको रुपमा कलंकीमा संचालनमा आएको अन्डरपासलाइ लिईएको छ । अहिले अन्डर पासमा पेन्टिङको काम भईरहेको छ । भने सवारी साधन पनि निर्वाध आवत जावत गरिरहेको छ ।
८ सय मिटर लामो यो अन्डरपासमा चक्रपथ जाने सवारी भूमिगत हुँदै गईरहेको छ भने नागढुंगादेखि कालिमाटि जाने सवारी भने अण्डरपास माथिबाटै गुडिरहेको छ ।

६२ मिटरको चौडाईमा निर्माण सम्पन्न हुन लागेको उक्त सडकको मेनलेन १५ मिटर, ६÷६ मिटर पहुँचमार्ग (एक्सेस रोड), साढे सात मिटर दायावायाँ ट्रयाक सर्भिस, अन्य स्थान पर्खाल र हरितले ओगटेको छ ।
यसरी पहिलो चरणको काम अन्तिम चरणमा पुग्दा चीन सरकारले नै कलंकीदेखि महाराजगंजसम्मको सडक पनि विस्तार गर्ने भएको छ ।

दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको कलंकी–महाराजगंज ८ दशमलब २ किलोमिटर सडक खण्ड यसअघि नै चीन सरकारले बनाईदिने समझदारी पत्रमा चीन र नेपाल सरकारबीच हस्ताक्षर गरिसकेको छ ।
त्यस्तै चिनियाँ प्राविधिकको टोलीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि अध्ययन सम्पन्न गरिसकेको सडक विभागले जनाएको छ । अहिले चिनियाँ टोलीले डिपिआर तयार पारिरहेको सडक विभागका इन्जिनियर छविलाल पौडेलले बताउनुभयो ।

‘डिपिआर तयार पार्न चिनियाँ टोलीले काम गरिरहेको छ ।,’ उहाँले भन्नुभयो–‘कहिले सम्म रिपोर्ट तयार हुन्छ भन्ने उताबाट जवाफ आएको छैन । आएपछि बाँकी कुरा हुन्छ ।’

डिपिआर चाइनाबाट सडक विभागमा पेस भएपछि यस परियोजनाको लागत, सम्पन्न हुने समय लगायतका कुराहरु थाहा पाइने र कसरी अघि बढ्ने विषयमा टुंगो लाग्ने उहाँले बताउनुभयो ।

नेपाल सरकारले त्यस क्षेत्रको बिजुलीको पोल सार्ने, रुख काट्ने, घर टहरा हटाउने, पानी, ढल सार्ने लगायतका कामका लागि प्रक्रिया अगाडि बढिसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्