डेढ वर्षमा चार कार्यकारी अधिकृत



बाँके ।
२०७४ असार १४ गते स्थानीय निकायको निर्वाचन भयो । यो निर्वाचनको बेला नेपालगञ्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृत थिए, भीमबहादुर कुँवर । करिव २० वर्षपछि स्थानीय निकायमा जनप्रतिनिधि आएकाले त्यतिबेला कार्यकारी अधिकृत कुँवरले तामझाम नै गरेर मेयर र उपमेयरको स्वागत गरे ।

असार २२ गते जनप्रतिनिधिले शपथ खाएर पदभार ग्रहण गरे । कार्यकारी अधिकृत भएर सबै काम गर्दै आएका कुँवरका अधिकार खुम्चिए । सबै आफ्नै निर्णयको हालीमुहालीबाट चल्ने उनी जनप्रतिनिधि आएपछि ‘आदेश’ अनुसार चल्नु पर्नेभयो ।

चुनाव जितेर उन्मत्त भएर आएका मेयर र उपमेयरसँग २० वर्षदेखि हालीमुहाली गरेका कर्मचारीको सम्बन्ध घुममिल हुन समय लाग्ने धेरैले आशंका गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकामा पनि त्यस्तै भयो । २०७४ कात्तिक ६ गते कुँवरको सरुवा भयो । सात महिना चार दिनमा कुँवर नेपालगञ्जबाट रमाना भए ।

त्यसपछि आए हरि प्याकुरेल । बाँके जिल्लामा प्रशासकीय अधिकृतदेखि स्थानीय विकास अधिकारीसम्म भइसकेका प्याकुरेल नेपालगञ्ज उपमहानगरपालिकामा आइपुगे । उनलाई पनि धेरै बस्न दिइएन । उपसचिव प्याकुरेललाई जाने इच्छा नहुँदा नहुँदै सहसचिव तोयनारायण सुवेदीले बिस्थापित गरे । २०७५ असार ३ गते सुवेदी नेपालगञ्ज आइपुगे । उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव स्तरको हुने भनिएपछि प्याकुरेल लुरुक्क जिल्ला समन्वय समिति, बाँकेतिर लागे ।

नेपालगञ्जमा बाहिरबाट आएका माथिल्लोस्तरका कर्मचारी कहिले पो टिकेका थिए र ? सहसचिव सुवेदी बसुन् । पाँच महिना नपुग्दै सुवेदीले नेपालगञ्ज छाडे । नेपालगञ्जका नेतादेखि कर्मचारीसम्मले ‘राम्रो’ मानेका सुवेदी किन पाँच महिना नपुग्दै नेपालगञ्जबाट बाहिरिए ? खुल्न बाँकी नै रहेको छ ।

नेपालगञ्जको विकासमा ठूलो भूमिका खेलेको एशियाली विकास बैंक (एडीबी) को दुई दिने बैठकमा काठमाडौं गएका सुवेदीको सरुवा भएको हल्ला फिजियो । सुवेदी नेपालगञ्ज आइनपुग्दै उनको सरुवा भएको हल्ला नेपालगञ्जभरी फैलियो । अन्ततः सुवेदी ६ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवा भएर सुर्खेत गए ।

सहसचिव सुवेदी ‘बस्न नमानेको’ ठाउँमा फेरि आज सोमबारदेखि उपसचिव हरि प्याकुरेल नेपालगञ्ज उपमहानगरपालिकामा आएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाबाट जिल्ला समन्वय समिति, बाँकेमा गएका प्याकुरेल पुनः उपमहानगरपालिका आइपुगेका हुन् । प्याकुरेललाई सोमबार कर्मचारीहरुले फूलगुुच्छाले स्वागत गरेका छन् ।

बाँकेको ‘सबै कुरा बुझेका’ प्याकुरेल ५ महिनापछि पुनः नेपालगञ्ज उपमहानगरपालिकामा फर्किएका हुन् । दैलेख घर भएका प्याकुरेल कर्मचारीमा नेपालगञ्जको रैथानेजस्तै भइसकेका छन् । सहसचिव बस्न नमानेपछि फेरि उपसचिव ल्याएर काम चलाउनु पर्ने अवस्था आएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा कार्यकारी अधिकृत लामो नटिक्ने या टिक्न नदिने खेल अहिलेको नयाँ भने होइन । कर्मचारी, नेता, जनप्रतिनिधिको तानातानको शिकार कार्यकारी अधिकृत हुँदै आएका छन् ।

यसअघि नेपालगञ्ज निवासी लोकबहादुर सुनारले लामो समयपछि दुई वर्ष बिताएका थिए । उनी पनि अन्तिममा ‘बेइज्जती’ सहेर बाहिरिएका थिए । २०६८ चैत्र ३ गते नेपालगञ्ज आएका सुनार दुई वर्षपछि गए ।

त्यसपछि मालपोत कार्यालय, बाँकेबाट विष्णुप्रसाद भूसाल नेपालगञ्ज उपमहानगरपालिकामा आए । उनी पनि एक वर्ष टिकेनन् । २०७२ माघ ६ गते हेमराज भूसाल आए । उनी २०७३ भदौ २० गते नेपालगञ्ज उपमहानगरपालिकाबाट बाहिरिए । हेमराज गएपछि दशैंको बेलामा कर्मचारीले तलवसम्म खाना नपाउने अवस्था आएपछि रातारात नेपालगञ्जमा आइपुगे, गिरिराज ज्ञवाली । २०७३ असोज १९ गते नेपालगञ्ज आइपुगेका ज्ञवाली फाल्गुन २८ गते सरुवा भए । उनी गएपछि कृष्णप्रसाद चापागाई नेपालगञ्ज आए । उनी एक महिना पनि बसेनन् । २०७३ फाल्गुन १७ गते आएका चापागाई चैत्र ६ गते सरुवा भएर गए । चापागाई पछि भीमबहादुर कुँवर आएका थिए ।

कार्यकारी अधिकृतको छिटो छिटो सरुवा भइरहदा नेपालगञ्जको हुनुपर्ने जति विकास हुन नसकेको गुनासो रहदै आएको थियो । जनप्रतिनिधि आएपछि अब कर्मचारीहरु पनि स्थिर हुन्छन् र विकासमा फड्को मार्ने आशा गरिएको भएपनि कर्मचारीको चाला उस्तै रहेको छ । छिटो छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा काममा केही असर पर्छ कि नाई भनेर सूचना अधिकृृत शरद पौडेललाई सोध्दा उनले भने, ‘ठूलो असर पर्छ ।’

उनले विकास निर्माणलगायत समग्र काममा हाकिम परिवर्तन हुँदा प्रभाव पार्ने बताए । ‘हिजो भावुक भएर सुवेदीको बिदाई गरियो । आज हर्षोउल्लासका साथ प्याकुरेलको स्वागत गरियो, सूचना अधिकारी पौडेलले भने, छिटो छिटो हाकिम सरुवा हुँदा नयाँ आउनेलाई बुझ्नै समय लाग्थ्यो । प्याकुरेल सर यहि बसेर गएकाले उनी आउदा समस्या रहदैन ।’

प्रतिक्रिया दिनुहोस्