१२ वर्षीया गर्भवती, राज्यले लियो उपचारको जिम्मा



हेटौंडा ।
मकवानपुरकी १२ वर्षीया गर्भवती गंगामाया चेपाङको माइती मकवानपुरकै राक्सिराङ गाउँपालिकामा हो । उनको घर कैलाश गाउँपालिका–७ मा पर्छ । २०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको थियो ।

आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चञ्चल अनि साथीभाइसँग यताउती पुगेर रमाइलो गर्नुपर्ने र पढ्नुपर्ने उमेर ।

कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका पतिको बिहेपछि पढाइ छुट्यो । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे । गंगाकी जुम्ल्याहा बहिनी जमुना स्थानीय सूर्याेदय माविको ६ कक्षामा अध्ययनरत् छिन् । उनले दिदीले भागेर बिहे गरेकोमा अचम्मित भएको बताइन् । उनलाई दिदीको पढाइ बिग्रेकोमा चिन्ता छ ।
मकवानपुरको अतिबिकट राक्सिराङ–३, औलेमा उनको माइती छ । उनले आफू १५ वर्ष पुगेको भन्दै ढाँट्न खोजे पनि उनी पक्रिइन् । उनकी आमा राममायाले भनिन्–२०६३ सालमा जन्मेकी हो यो ।

उनी १२ वर्षकै उमेरमा गर्भवती बनिन् । सानै उमेरमा गर्भवती भएको र उनको परिवारको आर्थिक अबस्था कमजोर रहेकोले उनी समस्यामा परेको विषयमा नेपाल समाचारपत्र दैनिकले समाचार लेखेपछि प्रधानमन्त्री कार्यालयबाट उनको उपचारका लागि मद्धत गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुर र राक्सिराङ गाउँपालिकालाई निर्देशन जारी भएको थियो ।

उनको उपचार तथा उद्धारका लागि नेपाल सरकारले सम्पूर्ण खर्च व्यहोर्ने गरी काठमाडौं लगिएको छ । राक्सिराङ गाउँपालिका र मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको पहलमा उनलाई उपचारका लागि सोमबार हेटौंडा अस्पतालमा ल्याइएको थियो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङको समन्वयमा सोमबार साँझ उनलाई हेटौंडा अस्पताल ल्याइएको थियो ।

हेटौंडा अस्पतालमा उनको स्वास्थ्यको प्रारम्भिक जाँच गरिएको थियो । उनको पेटमा रहेको बच्चा ३४ हप्ताको पुगिसकेको छ । बाल अबस्थामा उनी गर्भवती भएकोले उनको निगरानी गर्नुपर्ने र स्वास्थ्य थप परीक्षण गर्नुपर्ने जानकारी हेटौंडा अस्पतालले दिएपछि उनलाई मंगलबार आफ्नो पहिलमा काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

हेटौंडामा प्रसुति हुने बेलामा केही समस्या आउँदा काठमाडौं वा भरतपुर लैजानु भन्दा अगाडि नै ल्याएर अस्पतालमा राख्दा सहज हुने भएकोले काठमाडौं लगिएको राक्सिराङ स्वास्थ्य चौकीका अहेव प्रकाश कार्कीले बताउनुभयो । उहाँका अनुसार भिडियो एक्सरेको रिपोर्ट हेर्दा हालसम्म समस्या छैन ।

अझ एक महिना प्रसुति हुने समय रहेकाले बच्चा बढ्ने हुनाले समस्या आउन सक्छ भनेर सुविधासम्पन्न अस्पतालका लागि काठमाडौं लगिएको उहाँले बताउनुभयो । गंगामायाका साथमा उनका पति, आमा र अहेव कार्की पनि छन् ।

अस्पतालको जानकारी अनुसार उनले पेटको बच्चा शल्यक्रियामार्फत् मात्र जम्माउन सक्छिन् । प्रमुख जिल्ला अधिकारी तामाङले गंगामायाको उपचारको जिम्मा अब राज्यले लिएको बताउनुभयो । प्रजिअ तामाङले दिएको जानकारीअनुसार गंगामायालाई उपचार खर्चस्वरुप जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० हजार उपलब्ध गराएको छ र उनलाई एम्बुलेन्स भाडादेखि उपचार खर्चसम्मको सम्पूर्ण व्यबस्था नेपाल सरकारले गर्नेछ ।

गंगामायाका पति सम्पर्कमा आएका छन् । उनका पति रञ्जित चेपाङ घरको आर्थिक अबस्था कमजोर भएकाले अधिकांश समय दैनिक ज्यालादारीका लागि गाउँभन्दा बाहिर जानुपर्ने बाध्यतामा छन् ।

अशिक्षा, गरिबी, अन्धविश्वास र कतिपय जातीय मान्यताले १३ वर्षदेखि नै बिहे गर्ने प्रचलन छ । सानै उमेरमा बिहे गर्ने चलन र परिवार नियोजनका साधन प्रयोग नगर्नाले गर्भवती किशोरीको संख्या बढेको हो ।

कम उमेरमा बिहे गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा त पर्छ नै, त्यसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य हुन्छन् । जिल्लामा बालविवाह गर्नेको संख्या ठूलो रहेको देखिन्छ । बालविवाह अन्त्यका लागि लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायबाट बालविवाहविरुद्ध अभियान सञ्चालन भइरहेका छन् । बालविवाहविरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अबस्था उस्तै रहेको हेटौंडा अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ ।

जिल्लामा वर्सेनी बालअधिकारका लागि राष्ट्रिय बाल दिवस, अन्तर्राष्ट्रिय बाल दिवस र बालिका दिवसलगायत बालअधिकारका लागि दिवस मनाइन्छ । थुप्रै कार्यक्रम गरिन्छ । तर, जिल्लामा तथ्यांक हेर्दा बालविवाह चुनौतीपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्