अज्ञात समूहको आगजनीमा २ गाडी नष्ट



महेश न्यौपाने, रोल्पा ।
रोल्पा सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर वजारमा गएराती अज्ञात समूहले गरेको आगजनीवाट २ वटा सवारी साधन जलेर नष्ट भएका छन ।

यसरी आगजनी हुने सवारी साधनहरुमा बा ५ ख ८११ को मिनिट्रक र लु ३ त ८७६ को ट्याक्टर रहेको वताइएको छ । चन्द्र ईलेक्ट्रोनिक्स दाङका प्रोपाईटर चन्द्र देव वुढामगरको उक्त मिनि ट्रकले ईलेक्ट्रोनिक्स सामान ढुवानी गरि दाङवाट सुलिचौर आएको थियो । उक्त गाडीको ईन्जिन जलेर नष्ट भएको तथा पछिल्लो भाग भने सुरक्षित रहेको वताइएको छ । यसैगरि प्यूठानको स्वर्गद्धारी नगरपालिका सारीवाट रोल्पाको सुनिल स्मृती गाउँपालिका ७ तेवाङ तर्फ पराल वोकेर जाँदै गरेको ट्याक्टर समेत सोही स्थानमा आगजनी गरिएको छ ।

सुलिचौरका स्थानीय व्यापारी कुलवीर पुनको उक्त ट्याक्टर आफ्नै घर अगाडी रोकि राखेको अवस्थामा आगजनी भएको वताइएको छ । टेक्टरमा परालका साथै ३ वटा ड्रममा डिजेल र वच्चाले चढ्ने साईकल समेत रहेको वताइएको छ ।

गाडी कसले कुन उद्धेश्यले आगजनी ग¥यो भन्ने वारे अहिले सम्म खुल्न नसकेको वताइएको छ । आगजनी गर्नेको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।

यसैवीच सुनिल स्मृती गाउँपालिकाले एक विज्ञप्ती प्रकाशित गरि घटना प्रति दुःख व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ गाउँपालिका देखी करिव ५० मिटर दुरीमा मिनिट्रक र १०० मिटर दुरीमा ट्याक्टर रोकी राखेको अवस्थामा अज्ञात व्यक्तिवाट भएको आगजनीवाट गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।

केही महिना अघि गाउँपालिका कार्यालय अगाडी एक व्यक्तिको गोलि हानि हत्या भएको हुनु र गएराती सोही स्थानमा सवारी साधन माथि आगजनी हुनुले सुरक्षा संवेदनशिलता वढेको ठहर गर्दै सुरक्षाको भरपर्दो व्यवस्था गर्न सुरक्षा निकायको ध्यानकार्षण समेत गराइएको छ । घटना नियोजित भएकाले यथासिघ्र खोजी गरि कानूनी दायरामा ल्याउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्