प्रसिद्ध साहित्यकारहरु रुकुममा



धनवीर दाहाल, रुकुम ।
देशका साहित्यकारहरुको टिम रुकुम पुगेको छ । रुकुम पश्चिमको मुसिकोटमा देशका प्रसिद्ध साहित्यकारहरुको जमघट भएको हो । यहाँ स्थित राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमले मंगलबार आयोजना गरेको साहित्यिक भ्रमण तथा सिर्जनसिल लेखन कार्यक्रमको उद्घाटनमा प्रसिद्ध साहित्यकारको जमघट भएको हो ।

रुकुम पश्चिम र पूर्वका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण संगै सिर्जनसिल लेखन तथा प्रशिक्षण दिने उदेश्यले उक्त कार्यक्रमको आयोजन गरिएको जिल्ला शाखा अध्यक्ष मनलाल ओलीले बताउनुभयो । उहाँका अनुसार यो जमघट ४ दिनसम्म रहने बताइएको छ । मंगलबार पहिलो दिन बिहान ७ बजे यमुना नन्द नमुना माध्यमिक विद्यालयको सेरीगाउँमा रहेको पारिजातको मूर्तिमा माल्यार्पण गरि कार्यक्रमको शुरुवात गरिएको छ ।

 

त्यसलगत्तै मुसिकोट बहुमुखी क्याम्पसमा पुगेर सिर्जनसिल लेखन कक्षा उद्घाटन र लक्ष्मीप्रसाद देवकोटाको मूर्तिमा समेत माल्र्यापण गरिएको छ । ४ दिने सिर्जनशिल लेखन तथा भ्रमण कार्यक्रममा घोष्टराइटिङ नेपालको संयोजन रहेको छ । अभियानमा सहभागी साहित्यकारको टोलीले यहाँको डिग्रेमन्दिर, जन्ती बस्ने लेक, बहुमुखी क्याम्पस, साँखको ठूलीदह लगायत स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै जिल्लाको त्रिबेणी, बाँफीकोट र चौरजहारी र रुकुम पूर्बको रुकुमकोटमा पनि कार्यक्रम सञ्चालन गरिने बताईएको छ । अभियानले रुकुम पूर्व र पश्चिमको विभिन्न पर्यटकिय स्थलमा पुगेर साहित्यिक लेख–रचना बाचन, अवलोकन, तथा साहित्यिक कविहरुका मूर्तिमा माल्यार्पण पनि गर्ने भएको छ ।

यस साहित्यिक अभियानमा नेपाली साहित्यका प्रसिद्ध निबन्धकार युबराज नयाँघरे, पटकथाकार नयनराज पाण्डे, उपन्यासकार अश्विनी कोइराला सहभागी हुनुभएको छ । त्यस्तै साहित्यकार कमल ढकाल, कवि भूपिन लगायत जिल्लाका प्रसिद्ध लेखक तथा साहित्यकार, राप्ती साहित्य परिषद जिल्ला शाखाका पदाधिकारीको पनि सहभागिता रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्