जोकोभिचलाई हराएर ज्वेरेभ च्याम्पियन



लन्डन, (एजेन्सी)
जर्मनीका युवा स्टार एलेक्जेन्डर ज्वेरेभले सनसनीपूर्ण प्रदर्शन गर्दै विश्व वरीयताको शीर्ष स्थानका नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै एटीपी फाइनल्सको उपाधि जितेका छन् ।

२१ वर्षीय ज्वेरेभले १४ वटा ग्रान्डस्लामका विजेता जोकोभिचलाई सजिलै ६–४, ६–२ को सोझो सेटमा हराउँदै उपाधिमा आफ्नो नाम लेखाएका हुन् । यो उनको पहिलो ठूलो उपाधि समेत हो । उनले पहिलो सेटमा जोरदार र आक्रामक खेल प्रस्तुत गरेका थिए । उनले गतिलो सर्भिसका साथै नेट नजिकै पुगेर थुप्रै पटक आक्रमण गरेका थिए ।

स्कोर ४–४ को बराबरीको अवस्थामा ज्वेरेभको दबावले काम गरेपछि उनले जोकोभिचको सर्विस ५–४ ले भंग गरे । उक्त टूर्नामेन्टमा पहिलो पटक जोकोभिचको सर्भिस भंग भएको हो । उनले दशौ खेलमा तीन पटक यस्तोखाले सर्भिस गर्दै पहिलो सेट ६–४ ले जिते ।

ज्वेरेभले दोस्रो सेटको शुरूवातदेखि नै दवाब बनाएर दुई पटक जोकोभिचको सर्भिस भंग गरेका थिए । यसक्रममा उनको पनि एक पटक आफ्नो सर्भिस भंग भएको थियो । जोकोभिचले खेलमा फर्कने प्रयास गरेता पनि जर्मन खेलाडीले उनलाई कुनै मौका नै दिएन ।

ज्वेरेभले भने,– यो मेरो सबैभन्दा ठूलो जित हो । म यो उपाधि जितेर धेरै खुसी छु । म नोभाकलाई बधाई दिन चाहन्छु , उनले यस वर्षको दोस्रो हाफमा शानदार खेल देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्