अमेरिकी विशेषदुत र तालिबानबीच कतारमा वार्ता



इस्लामाबाद (एजेन्सी)
तालिबानले अफगानिस्तान मेलमिलापका लागि अमेरिकी विशेषदुत जल्मे खलिलजादसँग कतारमा तीन दिनसम्म वार्ता गरेको बताइएको छ । कतारमा अफगानिस्तानको उक्त कट्टरपन्थी संगठनको राजनितिक कार्यालय खोलेको छ ।

उक्त वार्तालाई लिएर अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका पुर्व प्रमुख अम्रुल्लाह सालेहले खलिलजादलाई अफगान जनताका तर्फबाट तालिबानसँग वार्ता गर्ने अधिकार नभएको बताएका छन् ।
कापिसा प्रान्तमा भएको एक भेलामा सालेहले खलिलजाद र तालिबानबीच गत सप्ताहन्त कतारमा भएको वार्ता अनुपयुक्त भएको बताएका थिए । उनले उक्त वार्ताको हैसियत अफगान सरकारसँग मात्र भएको बताए ।

तालिबानका एक अधिकारी र उक्त संगठनका निकट अर्को ब्यक्तीले आइतबार उक्त वार्ताको जानकारी दिएको हो । वार्ताको उद्देस्य अफगान शान्ति वार्ता पुन शुरु गर्नु र अमेरिकाको सबैभन्दा ठुलो युद्धलाई अन्त्य गर्नु हो ।

अमेरिकी नेतृत्वमा भैको आक्रमणबाटै अफगानिस्तानमा तालिबान शासनको अन्त भएको थियो । त्यसको १७ बर्ष पछि पनि तालिबान कट्टरपन्थी लडाकुको अफगानिस्तानका करिब आधा हिस्सामा नियन्त्रण छ ।तालिबानले दैनिक सुरक्षाबल र सरकारी अधिकारीहरुमाथि आक्रमण गर्दै आइरहेको छ ।

हेरातका पुर्व तालिबान गभर्नर खैरुल्ला खैरख्वाह तथा पुर्व तालिबान सैन्य प्रमुख मोहम्मद फजल खलिलजादसँग उक्त लामो वार्तामा भाग लिएको ती दुईले बताए । पहिचान नखुलाउने सर्तमा ती दुईले उक्त जानकारी दिएको हो । उनीहरु दुबै उक्त संवेदनशिल वार्तामा चर्चा गर्नका लागि अधिकृत होइनन् ।

अमेरिकी अधिकारीहरुले उक्त समाचारमा तत्काल प्रतिक्रिया दिएको छैन । अमेरिकाका विदेश विभागले तालिबानसँगको कथित वार्तामा टिप्पणी गर्न अस्विकार गरे । वार्ताको जानकारी राख्ने तेस्रो ब्यक्तीले तालिबानले आगामी बर्षको राष्ट्रपति चुनाव स्थगित गर्न र तटस्थ नेतृत्व अन्तर्गत अन्तरिम सरकार स्थापित गर्न माग गरेको जानकारी दिएका छन् ।

ताजिक मुलका इस्लामिक बुद्धिजिवी अब्दुल सत्तारको नाम अन्तरिम प्रशासनको नेतृत्वका लागि अगाडी सारेको बताइएको छ । खलिलजाद ६ महिनामा सहमतिमा पुग्न चाहेको तर तालिबानले यसलाई छोटो अवधि बताएको ती मध्य एक ब्यक्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्